मार्था (कथा) – पेशल आचार्य

पेशल आचार्य

पुलिस इन्सपेक्टरले मलाई बयान लिँदा कुनै प्रकारको बल प्रयोग नगरी लियो ।

म छक्क परेँ । मेरा साथीहरू मलाई मोबाइलमा एस्एमएस् गरेर उनीहरूलाईचाहिँ निकै शारीरिक यातनासाथ बयान लिएको म्यासेज पठाउँथे । कुरा के हो ? हामी दुवै पक्षलाई थाहा थिएन किनकि उनीहरू चार जनालाई एउटा र मलाई अर्कै कोठामा थुनिएको थियो ।

उनीहरू म्यासेजमा लेख्थे –‘पुलिसले राति पाँच लात हान्छ, एक गन्छ, यार !’

म पुलिसको अपराध अनुसन्धानमा सामान्य जानकार राख्ने भैसकेको थिएँ । नेपालको आपराधिक अनुसन्धानमा अझै वैज्ञानिक प्रविधिको प्रयोग भैसकेको थिएन क्यारे ! मलाई हाम्रो मुद्दाले त्यति सजिलोसँग छोड्ला भन्ने लागेकै थिएन । त्यसैले मैले आफूले गरेको र गराएको सबै कुरा साफसाफ भनिदिएको थिएँ ।  मलाई भने साथीहरूको कुरामा विश्वासै हुँदैनथ्यो किनकि मलाई उपलब्ध भएको सुविधा किन त्यसरी लोयल भएको ? म पनि त उनीहरूझैँ लागूऔषधको अपराधी थिएँ । मैले निकै कोशिस गरे पनि त्यो कुरा बुझ्न सकेको थिइनँ ।

मलाई निकै लामो बयान लिइयो ।

मैले साफसाफ भनिदिएँ ।

यसरी –

‘मैले मार्थालाई नै मित्रताको हात बढाएको थिएँ ।’ ‘त्यसपछि ?’ – पुलिस अफिसरले सोध्यो ।

मैले बिस्तारै भनेँ –‘अलि अगाडिको जीवनमा जाऊँ सर, त्यहाँ मैले केके मात्र गरिनँ । मेरो जीवनमा ‘डक्युमेन्ट्री’ बनाउँने हो भने त्यो निकै कारूणिक र निकै शिक्षाप्रद पनि हुनसक्छ ।’

पुलिस अफिसरले सुस्तरी भन्यो –‘सुनाऊ । सबै सुनाऊ । म तिम्रो सबै कुरा आज मन लगाएर सुन्छु ।’ ‘हुन त यो मेरो ड्युटी पनि हो तर मलाई तिम्रो जीवन निकै रोचक कथाजस्तो लागेको छ । आज तिमीले मेरो टेन्सन अलि किल गर्ने भयौ । ल बताऊ । पहिले सबै सुन्छु अनि लेखौंला हुन्न ?’ मैले केही नबताइकन फेरि उसले अर्को प्रश्न ग¥यो ।

मैले उदासीका साथ कोठाको भेन्टिलेसनतिर हेर्दै भनेको थिएँ –‘तीनतीन चोटीमा मार्था बल्लतल्ल गलेकी थिई । मैले उसलाई गलाउँन मेरो नानीदेखिको बल लगाउँनुपरेको थियो । मैले मेरा साथीहरू करुण, आदेश, हरिश र विष्णुलाई अनेक प्रकारले ‘युज’ गर्नुपरेको थियो । त्यसलाई मेरी बनाउँन ।’

‘अनि ?’ –उसले भन्यो ।

अब मेरो पालो थियो । उसलाई कुरा सुनाउँने । सुनाएँ –‘जवानीमा म असाध्यै बिग्रेको केटो थिएँ । मेरा बाले जति घुस खाएर पैसा कमाएका थिए । त्यसलाई मैले मकैको खोसेलाझैँ उडाएँ । मलाई पैसाको मतलबसतलब केही थिएन । म बोडर्स गरिएको स्कुलबाट घरजाने बहानामा पोखरा, चितवन र लुम्बिनी फेरो मारेर आइसक्दा पनि मेरा स्कुलका साथी र टिचरलाई पत्तोफाँट हुँदैनथ्यो । म अति चञ्चल स्वभावको केटो हूँ । म परिवारको एक्लो छोरा । मलाई सातसात वटी दिदीबहिनीहरूपछि अनेक कोशिसका साथ मेरा बाआमाले प्राप्त गरेकाले मैले जति पारिवारिक माया पाएँ मेरा ती दिदीहरूले बरा कहिल्यै पाउँन सकेनन् । म परिवारमा एकप्रकारको ‘दादा’ नै थिएँ । मलाई त्यहाँ कसैले छुन त के चुँसम्म पनि बोल्नखान सक्दैनथ्यो । मैले भनेको नभए घरमा म आगै सल्काउँथे । बाढीपैरो चलाउँथे । हुने कुरालाई नहुने र नहुने कुरालाई पनि हुने बनाउँनु मेरो विशेषता नै थियो । यसरी मेरो बाल्यकाल बित्यो ।’

‘युवावस्था मैले राजधानीको होस्टलमा बसेर बिताएँ । सुरूसुरूमा मलाई मेरा साथीभाइहरूले निकै ¥याक गरे । जब म उनीहरूको सङ्गत र संसर्गमा घुलमिल हुँदै गएँ अनि मैले नै उनीहरूलाई खेलाउँन र चराउँन थालेँ । मेरा अधिकांश साथीहरू पुलिस अफिसरका छोराहरू, न्यायाधीशका छोराहरू, आर्मी अफिसरका छोराहरू र सहरका ठूल्ठूला व्यापारी घरानाका छोराभतिजा हुन्थे । मैले होस्टलमा पनि बाउको अकूत धनलाई पानीझैँ बगाएँ । हावासरि उडाएँ । म आफूले मात्र खर्च गरेर मेरो बाउको सम्पत्ति सकिदैँनथ्यो । त्यसैले मैले मेरा साथीहरू पनि अधिकांश त्यस्ता बनाएको थिएँ जो पैसा उडाउन माहिर थिए ।’

‘हामी पाँचजना करुण, आदेश, हरिश, विष्णु र म बिग्रेका साथीहरू एकै ड्याङ्का मूलामा गनिन्थ्यौँ । सुरूमा मैले चुरोट मात्रै आफ्नो अम्मल बनाएको थिएँ । जब मैले लोअर सेकेन्डरीको पढाइ सकेँ अनि मैले लागू औषधका सबै थोक एकएक गरी खाएँ । मैले सिरिन्ज लिएँ । भित्तीको पुच्छर डढाएर खाएँ । बुटपोलिस पाउरोटीमा चाटेँ । फोहोर ट्वाइलेटमा पसेर गन्ध लिएँ । मोजाको दुर्गन्ध पनि भ्याएँ । ह्यासिस लिएँ । गाँजा ताने । भाङ्ले त मलाई छुँदै नछुने ।’

‘मलाई घरबाट महिनामा एकपटक मात्र भेट्न मेरा ममड्याडहरू आउँनुहुन्थ्यो । मैले भनेजतिका रुपैयाँपैसाहरू त्यहाँ पनि कमि भयो भने म होस्टलै उचाल्ने गरेर ह्वाँह्वाँ रोइदिन्थे ।’

‘ममचाहिँ मेरी निकै बाठी हो तर ड्याड भने सारै सोझो । एकप्रकारले भन्ने हो भने पैसाको कीरो हो –मेरो ड्याड । ममले ड्याडलाई औंलामा नचाउँनुहुन्थ्यो । म त्यो कुरो बुझ्थेँ । त्यसो हुनु मेरा लागि पनि सजिलो हुन्थ्यो । मैले लिने गरेको लागू औषधका बारेमा वहाँले गाइँगुइँ पत्तो पाएपछि एकपटक वहाँ मेरो स्कुलको प्रिन्सिपल कहाँ पनि आउँनुभएछ । तर प्रिन्सिपललाई हामीले हाम्रो ‘फाइभ स्टार’ ग्रुप अति नै पढ्नमा तेजिलो भन्ने भान पारेका थियौँ । हाम्रो प्रिन्सिपल साब पनि हाम्रो स्कुलमा त्यति धेरै देखिदैँनथे । भाइस प्रिन्सिपललाई हामी मान्छे नगन्ने । ठिटा खालका टिचरहरूलाई हामी पाँचसय हजार रुपैयाँमा किन्ने ग¥थ्यौँ । उनीहरूको पनि बाध्यता हुन्थ्यो होला । भनेको भटाभट मान्थे ।’

‘यसरी नै मैले त्यो स्कुलबाट एस्एल्सी गरेँ । मैले डिस्टिङ्सन पोजिसन ल्याएको थिएँ । म पढ्नमा यति तेजिलो थिएँ कि त्यही मेधावी आवरणले मलाई मेरो किशोरवयको अपराध गर्न एक प्रकारले छुट दियो । मैले मेरा साथीहरूलाई पढ्नमा साथ दिएँ जसले गर्दा हामीलाई कसैले पनि शंका गर्ने गरेनन् । हाइस्कुल यति इन्ज्वाइ गरेर पढियो कि हामीलाई हाम्रो ¥याङ्का भ्याली भित्रका सबै जंकीहरूले चिन्दथे । बीचबीचमा हामीलाई लागू औषधको कारोबार गर्ने सहरका ठूल्ठूला समूहले पनि ‘युज’ गर्न थाल्यो । हामीबाट उनीहरू उनीहरूको कारोबार राजधानीका नाम चलेका क्याम्पस र ब्रिजकोर्स पढाइ हुने इन्सिच्यूसनमा सजिलै गर्ने गर्थे । हाम्रो ट्यालेन्सीलाई उनीहरूले सजिलै क्यास गरे । हामी कसैको भाडाका गोटी बन्दैछौ भन्ने पनि थाहा नपाइकन रङ्गीन दुनियाँमा मस्त भैसकेका रहेछौं ।’

‘यस्तैमा मेरो परिचय नेपाली आमा र अङ्ग्रेज बाबुकी एकमात्र छोरी मार्थासँग भएको थियो ।’

‘भन्दै जाऊ’ –अफिसरले भन्यो ।

‘मार्था ब्रिटिस राजदुतावासमा काम गर्ने काउन्सिलरकी छोरी थिई । ऊ ब्रिटेनमा जन्मेकी रहिछे । मार्था सारै राम्री थिई । सुलुत्त परेको स्लिम बडी, लाम्चालाम्चा आँखा, टुसुक्क परेको डोलो नाक, मकैको जुँगाजस्तो कैलो कपाल, दोहोरो आङ् भएको शरीर । मानौं प्रकृतिले पनि फुर्सद्मा मन लगाएर सिर्जना गरेको एउटा मानवाकृति थिई –मार्था ।

उसले ब्रिटेनमै किन्डरगार्डेन स्कुल पढेर नेपालमा आउँदा उसलाई हाइस्कुल तहसम्मको शिक्षा दिने बोर्डिङ् स्कुलमा भर्ना गरिएको थियो । विदेशी कुटनीतिज्ञकी छोरी भएकीले उसलाई स्कुलसम्म ल्याउनेपु¥याउँने उसैको बुवाको अफिसको गाडीले गर्दथ्यो । हामीसँग त्यसबेला बाइक मात्रै थियो । तैपनि हामी आफ्नो ग्रुपमा निकै नाम कहलिएका केटाहरू थियौँ ।’

‘ऊ ड्रेस सर्कलमा पढ्थी भने हामी बोडर्स गरिएका विद्यार्थी थियौं ।’  ‘हामीसँग उसको परिचय त्यही क्लास नाइनमा भएको हो । एट्सम्म हामीले उसँग सम्पर्क गर्ने सूत्र बनाउँदाबनाउँदै बित्यो । हामीलाई उसँगको मित्रतामा अलिअलि सहयोग हाम्रै स्कुलको एकाउन्ट सेक्सनको अफिसरले गराएको हो । ऊ त्यस्तै चौबीसपच्चीसको हेन्डसम केटो थियो । पढाउँने नभए पनि हामी उसलाई सर नै भन्थ्यौं । पछि मात्र थाहा भयो ऊ त एकाउन्ट सेक्सनमा काम गर्दो रहेछ । उसैलाई युज गर्दै हामीले स्कुलमा आफ्नो ह्यासिस र ब्राउन सुगरको नेटवर्क बिस्तार गरेका थियौं । पछि उसले के चलाखी गर्यो भने आफू फसिन्छ भनेर उसले हामीलाई उल्टै फसाएर आफूचाहिँ टोफेलसोफेल सकेर थाहै नदिई अमेरिकातिर भागेछ ।’

‘उसलाई पनि एउटा मुद्दा लागेको छ । नेपालमा पैसा हुनेले के मुद्दा लडिरहनु पर्छ र ? तैपनि उसलाई इन्टरपोलले खोजिरहेको भन्नेसम्म सुनेको छु । के हो डिटेलमा थाहा छैन ।’

‘त्यसपछि मैले दक्षिण भारतको बैङ्लोरमा कम्प्युटर इन्जिनियरिङ् पढेँ । प्लस टुमा म राम्रो विद्यार्थी नै थिएँ । तर डिप्लोमामा चाहिँ मेरो नशा सेवन यति धेरै भयो कि मैले फस्ट सेमेस्टरको एग्जाम पनि समिट गर्न पाइनँ । नेपालमा हामी विरुद्धको मुद्दा डिस्ट्रिक्ट कोर्टमा चलिरहेको रहेछ । मलाई मेरा ममड्याडले भारतबाट नेपाल ल्याएर सबैभन्दा पहिले पुनस्र्थापना केन्द्रमा राख्नुभयो । सुरूसुरूमा मैले नशाको कारणले आफूलाई डिप्रेसिभ गराउँदा सुसाइट गर्ने खालका अनेक विचारहरू पनि आए । त्यसबीचमा मैले मार्थासँगको सम्बन्धलाई लगभग टुटाइसकेको थिएँ । एक चोटी मैले केन्द्रको ट्वाइलेटमा पसेर ब्लेडले आफ्नै नाडी चिरेर सुसाइट गर्ने विचारले काम थालेँ तर मेरो पछि लागेका प्रशिक्षकहरूले मलाई चियो गरिरहेका रहेछन् । ढोका फोरेर बचाए । त्यसपछि मलाई करिब पाँच महिना त काउन्सिलिङ् नै गरियो । मलाई त्यो काउन्सिलिङले धेरै काम ग¥यो । म अब मान्छे भएँ ।’

‘त्यसपछि मलाई होश आयो । मैले नशाकै बीचमा मार्थालाई प्रेम गरेको रहेछु । मलाई उनले कतिपटक सम्पर्क गर्ने कोशिस पनि गरेकी रहिछन् तर म पुनस्र्थापना केन्द्रमा रहेकाले उनले सोझै सम्पर्क गर्दा त्यहाँ शंका गर्ने हुनाले उनले मलाई सेलफोनमा सम्पर्क गर्ने गरेकी रहिछन् । केही वर्षसम्म नै मैले त्यहाँ केन्द्रमा बस्नु प¥यो । म अलि पुरानो हुँदै गएपछि त्यहाँ मार्था पनि आउँथिन् । हामी दुईमा घन्टौं कुरा हुन्थ्यो । मलाई केन्द्रले अलिअलि गर्दै पूरै विश्वास गर्न थालेको थियो । त्यसैको फाइदा मैले उठाएँ । म मार्थालाई बाइकमा लिएर अब कहिले नगरकोट त कहिले धुलिखेलसम्म जान्थे । उनलाई पनि जब ‘लङ् ड्राइभ’मा जाने इच्छा हुँदा उनका गाडी हामी निशंकोच प्रयोग ग¥थ्यौं । उदासीले भरिएका डिभिडीमा हजार पाँचसय गीतहरू राखेर बजाउँदै हामी कहिले त दार्जिलिङसम्म पनि पुग्थ्यौं । उनको परिवार अन्तर्राष्ट्रिय परिवार भएकाले हाम्रो त्यस्तो सम्बन्धका बारे केही भन्दैनथ्यो । म पनि मेरा घरपरिवारको आजाद पंक्षी थिएँ । त्यसैले हामीले त्यसबेलाको समयको खूब इन्ज्वाय ग¥यौं ।’

‘मेरो नसामा लागू औषधको मात्रात्मक प्रतिशत अझै घटेको रहेनछ । म मार्थालाई अनेक प्रकारका सुख दिन चाहन्थे तर मेरो नशा सेवनका कारण म यौन मामलामा भने कमजोर थिएँ । कतिपटक त उसले हाकाहाकी पनि भनेकी हो –‘तिमी मलाई सेक्सुयल इन्ज्वायमेन्ट दिन सक्दैनौ भने म तिमीसँग सम्बन्ध ब्रेक गर्छु । हामीले अहिलेको समयमा पनि यति रिलिफसँग लाइफ बिताउँन पाएनौ भने हाम्रो ‘ओल्ड लाइफ’ त स्याडो हुन्छ ।’ ‘साँच्ची म उसलाई अनेक प्रकारले सन्तुष्टि दिन चाहन्थे । मैले सहरका नामी सेक्सोलोजिष्टहरूसँग सम्पर्क पनि गरेँ । तिनीहरूले मलाई भने । तपाईंको सेक्सुअल डिजायरलाई नशाले निकै ह्याम्पर गरेको छ । अब उपाय के हुनसक्छ भने तपाईंले आफ्नो बोसोमा भएको नशालाई असीदेखि नब्बे डिग्री सेल्सियससम्मको तापक्रमबाट हुने थेरापी गराएर बोसोमा भएको पाँचदस प्रतिशत नशालाई हटाउँन सक्नुभयो भने तपाईँ सेक्सुअल कार्यमा सक्षम हुनुहुन्छ नत्र केही भन्न सकिदैँन ।’

‘सुरूमा म ह्यारेस भएँ । तर मैले डक्टरले भनेको गरेँ । किनकि म मार्थालाई चाहन्थे । म मार्थाबाटै बेलायत पसेर आफ्नो भाग्यलाई बनाउँने मेरो सोच थियो । मेरी मार्था बिना म बाँच्न नसक्ने पनि भएको थिएँ । मैले बोसोबाट नशा झिकेँ ।’

‘यसरी म सामान्य जीवनमा फर्कें । मलाई लागूऔषध पुनस्र्थापना केन्द्रले मेरो ट्यालेन्सी हेरेर जागिर दियो । म अहिले काउन्सिलिङ्को जब गर्छु । तर जब एकचोटी मैले मार्थालाई मेरै साथी करणसँग सेक्सुअल कार्यमा रङ्गेहात पक्रेँ । त्यसपछि भने मैले फेरि नशाको पुरानो बानीलाई निरन्तरता दिएँ । सुरूसुरूमा मलाई नशाको लाइफमा फर्कन गाह्रो भएको थियो । मलाई डिफ स्याडोले गर्दा मैले त्यो वास्ता गरिनँ ।’

‘अब मैले मार्थालाई भेटेँकी मार्ने विचार गरेँ । ऊ आफ्ना ड्याडममसँग ब्रिटेन फिरिछे । मलाई एकचोटी मेल गरेकी थिई । मैले रेस्पोन्स नै गरिनँ ।’

निकैबेरपछि पुलिस अफिसरले भन्यो –‘हाउ अन्डरफुल योर लाइफ ! टेल मि योर स्टोरी भेरी फास्ट ।’

मैले भने –‘सर अब मैले मेरो स्टोरीलाई अन्त्य गर्नुपर्छ । एकदिन म केन्द्रमा काउन्सिलिङ्को काम सकेर बाइकमा घर फिर्दै थिएँ । चाबेलमा मैले लागूऔषधको कारोबार गर्ने गिरोहको पुरानो साथीलाई भेटेँ । त्यसबीचमा मलाई पनि घरबाट पैसा दिन कम गरिसकेका थिएँ । त्यसैको झोँकमा मैले उसको सल्लाहमा फेरि आफ्नो नेटवर्क समातेँ । क्रमशः म राजधानीकै निकै ठूलो डिलर भैसकेको थिएँ । पुलिसहरू मेरो पिछा लागे । मैले पक्राउ खाएँ । मसँग मेरा पाँचजना स्कुले साथीहरू जो अहिले विभिन्न भेषमा सोही कारोबारको नेटलाई फिँजाइरहेका थिए । ती सबै पक्राउ परेका छन् ।’

मैले यति साबिती वयान दिइसकेपछि त्यो पुलिस अफिसर निकै गम्भीर बन्यो । उसले मलाई एक्कासी भन्यो –‘केशव अब म तिमीलाई बचाउँछु । तिमीले आफ्नो कुरा सबै नढाँटी मलाई भनिदियौ । म तिम्रो मुद्दालाई विचार गरेर फायल बनाएर अदालतमा पेस गर्छु तर तिमीले मलाई एउटा वाचा गर्नुपर्छ कि तिमी अब ‘प्योर’ त्यो दुनियाँमा जानेछैनौं ।’

मेरो नाम लिएकाले मैले अब उसको मुखमा हेरेँ । ऊ त मेरो स्कुलकै साथी नरेश पो रहेछ । उसैले एकदिन मलाई स्कुलमा पुलिसले घेरा हाल्दा बचाएको थियो । आज पनि ऊ मलाई सजाय कम गराएर बचाउँने सल्लाह गरिरहेछ । मैले एउटा सच्चा साथीको मित्रतालाई त्यहाँ उसको अनुहारमा फेरि पनि देखेँ ।  मेरोलागि उसले जुन शंकाको सुविधा उपलब्ध गरायो त्यसमा म उसको ऋणी रहिरहने छु ।

यति भनेर मैले उसलाई ‘धन्यवाद’ पनि दिन भ्याएको थिइनँ । उसले अब अघिदेखि टेप गरेको मेरो बयानलाई क्यासेटमा रिटेक गरेर नेपाली कागजमा उतार्नका लागि आफूभन्दा मुनिको अफिसरलाई बोलाउँन मोबाइलमा नम्बर डायल गर्न थाल्यो ।

 

Published on September 24, 2017 at 3:43 am

Loading...

यसमा तपाइको मत