अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

मैले श्रीमती नबेचेको भए हुन्थ्यो (कथा)

डा. गोबिन्दसिंह रावत २०७३ मंसिर २६ गते २३:०७ मा प्रकाशित

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शून्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिएँ । काभ्रेपलाञ्चोकको मान्छे काठमाडौँ हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाइल्याण्ड, चीन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिएँ । अमेरिका आउन नचाहने मानिस विरलै होलान् । अमेरिकामा पनि म एउटा ट्रेनिङ्गको लागि कार्यालयबाटै खटिएर आएको थिएँ अनि अहिलेसम्म खटेको खटैछु । यहाँ आएपछि जबरजस्ती पत्रकार बनेर नेपालबाट कागजपत्र जोगडजागड गरेर असायलम लिएको थिएँ।

दुई वर्षपछि श्रीमती पनि यही नै भेटियो । उनी पनि कुनै सामाजिक कार्यकर्ताका रूपमा पाताल प्रवेश गरेकी रहिछन् र यहाँ स्थाई बस्ने उपाय खोज्दै रहिछन् । मैले उनलाई पनि म जस्तै असायलम दिलाउन उपायसहित सहयोग गरेर कागज हात पारी दिएँ । यसरी हामीबिच भेटघाट बढ्दै गएपछि मन, वचन र कर्मले एकअर्काको साथ दिँदै जाने किरियानै खाएपछि बिस्तारै बिस्तारै हामी एक भयौँ । कानुनी रूपमा भने हाम्रो बिहे भएको छैन । अमेरिकन स्टाइलमा लिभिङ्ग टुगेदर भएकोले नेपाली समुदायहरुले कुरा काट्ने गरेको बारे मैले पनि सुनेको छु । तर ‘छु मतलब’ भन्दै हामी सँगै बस्दै आएका छौँ र बसी रहने छौँ । हामी आफ्नो परिचय श्रीमान्–श्रीमती भनेर दिन्छौं ।

असायलम लिएकोले नेपाल जानबाट एक प्रकारले हामी वञ्चित जस्तै छौँ । तर, नजानुको कारण हामी स्थापित हुन नसकेर हो । स्थापित भएर भारतको बाटो नेपाल गएर झ्याइँकुटी झ्याइँ गरेर बिहे गर्ने अभिलाषामात्र नभएर हामी दुवैको योजना पनि छ । त्यसैका लागि हामी मिहिनत गर्दैछौं । त्यसैले सन्तान पनि नजन्माएको भन्दा अत्युक्ती नहोला । ग्यास स्टेसनमा काम गरेर होला, आफ्नै एउटा ग्यास स्टेसनको चाहनामा बाँची रहेको थिएँ । मेरी श्रीमतीको पनि त्यही नै चाहना थियो । अनि त सबै ठिक हुने विश्वास लिएर हामी अगाडि बढिरहेका थियौँ ।

म आएको पनि चार वर्ष भइसकेको छ । यहाँ आएर अरूहरू जति रमाए पनि हामी भने रमाउनै सकिरहेका छैनौँ । प्रवेशिका उत्तीर्ण गर्नासाथ सरकारी जागिर खान थालेकोले निवृतिभरण पाक्ने पाक्ने बेलामा अमेरिका आउनु परेको थियो । हाकिमहरुलाई मिलाएर फकाएर बेतलबी बिदा र अध्ययन बिदा थप्दै सेवा काल पुर्याएर कमसेकम निवृतिभरण त खान पाइएला भनेको पनि नयाँ मन्त्री आएपछि संविधान बनाउन छोडेर विदेशमा डलर खानेहरुको फेहरिस्त बनाउनमा नै व्यस्त भएर मेरो योजनामा पनि तगारो लगाई दिए पछि नेपाल फर्केर जान पनि सकिएन । रातभर ग्यास स्टेसनमा काम गरेर थाकेको मान्छेलाई दिनभरि कसैले बोलेको पनि झर्को लाग्ने गर्दथ्यो। श्रीमतीको फेरी आफ्नै रामकथा छ । छरछिमेकका बच्चाहरुलाई जम्मा गरेर बेबी सिटर बनेकी छिन् । यसरी चलिरहेको हाम्रो जिन्दगानीमा अचानक भाग्यले ढोका ढकढकाउन थाल्यो । ढोका खोल्दा गरगहनाले सजिएकी साक्षात लक्ष्मी दैलोमा देखेपछि अरू के चाहियो त !

म र श्रीमतीको एउटै चाहना, इच्छा, आकाक्षा भनुँ वा अभिलाषा थियो- ग्यास स्टेसन किन्ने ! कमसे कम दुई लाख डलर चाहिएको थियो । नेपालको घरखेत बेचेर केही भनुँ जम्मा गरे पनि चाहिएजति बनाउन सकेका थिएनौं । त्यसैले बिदाको दिन पनि कतै काम गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा हामी दुवै रहेकोले चिनेजानेका मित्रहरूलाई जानकारी गराइरहेका थियौँ । यस्तै परिस्थितिमा सुमन भाइले यो प्रस्ताव लिएर आउनु भएको थियो । प्रस्ताव भन्दा पनि केही नगरेर मात्र कागजमा सही गरिदिएको भरमा विष हजार डलर हातमा पर्ने प्रस्तावलाई यदि हामीले नमानेको भए अरू कसैले आँखा चिम्लेर मान्ने थियो । सुमन भाइले हामी भनेर हाम्रो राम्रोको लागि यो प्रस्ताव लिएर आएका थिए । त्यसैले प्रस्ताव सुन्नासाथ हामी दुवैले हुन्छ भनेका थियौँ । सुमन भाइले अरू सबै कागजी काम गरी दिने भएकोले पनि हामीलाई प्रस्ताव मन भरेको थियो । प्रस्ताव लिएर आउँदा सुमन भाइले जुन प्रकारले हामीलाई बुझाएका थिए हामीले नाई नभनी हुन्छमा सही छाप गरी दिएका थियौँ। प्रस्ताव सुनेर श्रीमतीले मुसुक्क हाँसेर गर्ने हो त बुढामात्र भनेको म सम्झन्छु । अनि त्यसपछि शुरुभयो कागजी खेलहरू ।

प्रस्तावको मञ्जुरी भएको एक हप्तापछि सुमन भाइले पाँच हजार डलर पेश्कीसहित कागजी सही छापका कामहरू सुरु गरे । मैले दुईवटा कागजमा सही गरेको थिएँ । एउटा कुनै दाबी विरोध गर्ने छैनको व्यहोरासहितको नो अब्जेक्सन लेटर र अर्को मैले मेरो श्रीमतीलाई नचिनेको र त्यसपछि हामीबिच कुनै सम्बन्ध र सम्पर्क नरहेकोबारेको पत्र । तर मेरी श्रीमतीले भने धेरै नै कागजपत्रमा सही छाप गर्नु परेको थियो । एक हप्तामा धेरैनै कागजहरुमा सही छाप गराएपछि सुमन भाइले कबोलेको सबै रकम तिर्यो । अनि मेरो बैङ्क र श्रीमतीको बैङ्कमा जम्मा भएका रकमहरु मिलाएर एक लाख नाघेपछि म र श्रीमतीले लिजमा भए पनि ग्यास स्टेसन सुरु गर्ने ठानेर खोजतलासबाट ग्यास स्टेसनको दुई लाख र सामानको पैतिस हजार गरी बाँकी रहेको रकम नबुझाउञ्जेल मासिक तीन हजार तिर्ने गरी लिजमा लिन मञ्जुरी भयो । आफ्नो अंग्रजी परिपक्क नभई सकेकोले सुमन भाइको नि:शुल्क सहयोग पनि लियौं र सुमन भाइकै सल्लाह अनुसार जुन कामको लागि मेरी श्रीमतीले सहिछाप गरेको थियो त्यो काम चाँडै र पक्का हुने भनेकोले ग्यास स्टेसनका सबै कागजपत्रहरु मेरो श्रीमतीकै नाममा बनाइयो ।

सुमन भाइकै सल्लाह अनुसार मैले मेरो ठेगाना परिवर्तन गरेर ग्यास स्टेसनको ठेगाना लेखी दिएँ । सुमन भाइले भने बमोजिम मैले आफ्नो लुगाहरु पनि गेस स्टेसनमा नै लगेर राखी दिएँ । सुमन भाइले भने अनुसार म मेरौ श्रीमतीको ग्यास स्टेसनमा काम गर्ने कामदार भएँ । सुमन भाइका अनुसार कुनै बेला पनि चेकिङ्ग आउन सक्ने भएकोले मेरी श्रीमती अविवाहित हुन र एक्लै बस्छिन् भन्ने देखाउन यी सब गर्नुपरेको थियो । हामी बिहे नगरेरै श्रीमान् श्रीमती भएर बस्दै आएकोमा अब श्रीमान् श्रीमती भएर बसे पनि एक्लो भएर बसेको देखाउन थाल्यौं । यो सब हामी दुवैले आफ्नो उज्वल भविष्यका लागि गरिरहेका थियौँ ।

मेरो श्रीमतीले पच्चिस हजार डलर लिएर एक जना कागज नभएको नेपालीसँग बिहे गरेर कागज बनाई दिने भएकोले सुमन भाइले चाहे बमोजिम र भने बमोजिम हामीले काम गरिरहेका थियौँ । सुरुमा कागजी बिहेमा केही गर्नुपर्दैन भन्ने सुमन भाइले बिस्तारै बिस्तारै मलाई मेरो श्रीमतीबाट टाढा पार्दै गयो भने त्यो अपरिचित बिहे गर्ने मानिसलाई नजिक पार्दै गयो । हुँदा हुँदा अब त्यो अपरिचित मानिसलाई मेरो श्रीमतीले घरमा नै राख्नु पर्ने रे ! उसको ठेगाना पनि अब मेरो श्रीमती बसेको कोठाको ठेगाना भयो भने आफ्नो सेलफोनमा पनि मेरो श्रीमतीले त्यो अपरिचित मानिसको र उसले मेरो श्रीमतीको फोटो राख्नु पर्ने भयो । मेरो श्रीमतीबाट म टाढिदै गएँ भने त्यो अपरिचित मानिस नजिकिदै गयो । यी सबै गर्नै पर्ने रे ! कुनै पनि बेला चेक आउन सक्छ रे ! इमिग्रेसनको चेक फेरी खतरा हुन्छ रे ! सुमन भाइले भनेको ।

न त हामीले लिएको पच्चिस हजार फर्काउन सक्थ्यौं न बिहे गर्दिन नै भन्न सक्थ्यौं । सजिलो काम भनेर हुन्छ भनियो तर पछि पछि त परिबन्धमा नै पर्दै गयौँ । म त झन् लोग्ने भएर पनि आफ्नै स्वास्नीसँग भेट्न पनि साईत हेर्नुपर्ने भएको थियो । बिस्तारै बिस्तारै श्रीमान् र श्रीमतीको सम्बन्ध फोनमा मात्र सीमित हुँदै गयो । म ग्यास स्टेसनमा उनी घरमा अनि उनी ग्यास स्टेसन आउँदा पनि त्यो अपरिचित मानिसलाई लिएर आउन थालिन । सोध्दा सुमन भाइको नाम अगाडि आउँथ्यो । हामीले ग्यास स्टेसन पैसा चुक्ता नभएसम्म लिजमा लिएकोले प्रत्येक महिना तीन हजार डलर तिर्न मालिकको अर्को ग्यास स्टेसनमा जानु पर्दथ्यो । तर श्रीमतीले अब त्यहाँ जानु पर्दैन भनेर रोक लगाएपछि मलाई कता कता शङ्का लाग्न थाल्यो । त्यो अपरिचित मानिसले गाडी पनि किनिसकेछ । त्यसपिछि त मभन्दा त्यो अपरिचित मानिस श्रीमतीको बढी नजिक हुँदै गयो । एउटै कोठामा बस्ने । सँगै हिडडुल गर्ने । अनि म चाहिँ कोठाबाट दुईघण्टा टाढा रहेको ग्यास स्टेसनमा बस्नु पर्ने । मैले कारण बुझ्न खोज्दा सुमन भाइको नाम अगाडि आईहाल्ने ।

एक दिन मेरो श्रीमतीसँग कागजी बिहे गरेको त्यो अपरिचित मानिस ग्यास स्टेसनमा आएर मेरो हिसाब किताब गर्न थाल्यो । स्टेसनमा मसँगै अर्को मेक्सिकन केटो काम गर्दथ्यो । उसलाई चाहिँ केही नभनेर त्यो अपरिचित मानिसले मलाई जुन सत्यताको कथा सुनायो त्यसमा बढी मेरो व्यथा थियो । त्यो अपरिचित मानिसले तपाईँले आफ्नो श्रीमती बेच्नु भएको त मान्नु हुन्छ नि भन्दै कुरा सुरु गर्‍यो । उसले भन्यो मेरो श्रीमती अब मसँग बस्न चाहन्नन् रे । यो ग्यास स्टेसनको तिरोतारो सबै उसले नै गरिदियो । उनीहरू अर्थात् मेरो श्रीमती र त्यो अपरिचित मान्छे जुन अब कानुनी रूपमा मेरो श्रीमतीको श्रीमान् भयो, अब सँगै बस्ने रे ! यो बेचेर अर्को सहर गएर व्यापार गर्ने । त्यसैले अघिसम्म मेरो श्रीमती भन्ने महिला अब उसको कानुनले मान्यता दिएर श्रीमती भईन रे ! त्यसैले मैले आफू खुसी उसलाई छाड्दामा नै मेरो कल्याण हुन्छ भनेर सल्लाहात्मक धम्की दिन थाल्यो ।

मैले बुझे अनुसार उ नेपालको प्रतिष्ठित व्यापारी भीमदास प्रधानको छोरो रहेछ । भारतमा आई.टी. गरेर नेपालमा केही वर्ष व्यापार गरेर अमेरिका पुगेको रहेछ । उसलाई चाँडोभन्दा चाँडो कानुनी रूपमा बस्न पाउने कागज चाहिएको थियो अनि सुमनले बसी बसी पाँच हजार डलर खाएर हामीलाई पच्चिस दिएर मलाई श्रीमती बेच्न लगायो । हामीलाई पनि चाँडोभन्दा चाँडो पैसा जम्मा गरेर ग्यास स्टेसन किनेर सुखमय दाम्पत्य जीवन बिताउन पाउने इच्छा जागेको थियो । दुवैको कल्याण गर्ने र आफ्नो पनि कल्याण हुने देखेर सुमनले सौदा गरेका रहेछन् । अमेरिकाको ईमिग्रसनका कर्मचारी एकदमै कडा हुने भएकोले हामी श्रीमान् श्रीमती छुट्टिएर बस्न बाध्य भयौँ । म टाढिढदै गए कागजी लोग्ने नजिकिदै गयो । मेरी श्रीमती राम्री भएरनै होला त्यो कागजी लोग्नेले मन पराउन थाल्यो । उ पनि अविवाहित र मेरी श्रीमती पनि वास्तवमा नियामानुसार र कानुन अनुसार अविवाहित । हुन त मेरी श्रीमती मेरो नजिक आउनुपर्ने कारण ऊसँग कानुनी रूपमा अमेरिका बस्न पाउने कागज थिएन र मैले बिहे गरेर कागज गराइदिन्छु भनेको थिएँ र मैले नै असायलम हाल्न मद्दत समेत गरेको थिएँ । उनले पनि यसायलम पाए पछि मैले बिहे गर्नै परेर र हामी बिहे बिनाको श्रीमान् श्रीमती भएर बस्न थाल्यो । अब यो कागजी लोग्ने आएपछि उसले ग्यास स्टेसनमा बाँकी बक्यौता रहेको पैसा पनि सबै तिरी दिएर मेरो श्रीमतीको नाममा नामसारी पनि गरी सकेको रहेछ । मलाई त्यो कागजी लोग्नेले दस हजार डलर दिएर चुपचाप अन्त गएर बस्नु नत्र ग्यास स्टेसनमा चोरी चकारी गर्‍यो भनेर उजुरी लाई दिने भनेर धम्की दिन थाल्यो । कानुनी रूपमा त म श्रीमतीको नाममा रहेको ग्यास स्टेसनमा काम गर्ने कारिन्दा मात्र हो । त्यसैले मैले जागिर छोड्न धम्की पाएँ । मेरो श्रीमतीको पनि त्यही भनाई रहेको र कानुनी रूपमा उ मेरो श्रीमतीको लोग्ने भएको प्रमाणसमेत देखाउन थाल्यो ।

म एकैछिन त बोल्नै सकिन । उनलाई अर्थात् मेरी श्रीमतीलाई फोन गर्छु गलत नम्बर भन्छ । उनले त फोन समेत फेरी सकिछिन । विरोध गरुँ भने दावाविरोध गर्दिन भनेर सहीछाप गरेको छु । आँटै गरेर मैले श्रीमती र पसल छोड्न पचास हजार माँगे । कम भने कि बढी थाहा छैन तर धेरै मोलमलाई पछि बल्लबल्ल श्रीमती छोडेबापत विष हजारमा कुरा टुङ्ग्याए । नलिउँ, त्यो पनि जाला भन्ने डर, लिऊँ भने श्रीमती बेचेको मोल लिए जस्तै हुने । हुन त पहिलोपटक त्यो सुमने (भाइ भनेर सम्मान गर्ने मान्छेनै होइन रहेछ दलाल) घरमा आएर यो प्रस्ताव राख्दा त्यो मेरी श्रीमती भाकीले व्यंग्य गर्दै ‘हैन ए बुढा तिमीले आफ्नी स्वास्नी बेच्नेनै भयौ त’ भनेर ठट्टा समेत गरेकी थिइन् । पछि आफैले यस्तो मौका भगवानले हामीलाई दिएको भन्थी । नभन्दै त्यो मेरो श्रीमती किन्नेको नाम पनि भगवान् नै परेछ, भगवान् दास प्रधान।

अहिले सम्झेर पछुताउँदै छु । वास्तवमा मैले त्यसबेला श्रीमती नबेचेको भए हुन्थ्यो । त्यो सुमने दलाल नआएको भए हुन्थ्यो । अब के-के नभएको भए हुन्थ्यो भनेर सराप्ने हो कुन्नि । शेषमा त अमेरिका नआएको भए नि हुन्थ्यो जस्तो लाग्न थाल्थो ।

प्रतिक्रिया