अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २३:११ मा प्रकाशित

काठमाडौँ, मङ्सिर २४ गते । मानिसको अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले चार वर्षअगाडि सरकारले स्थापना गरेको ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ भक्तपुरबाट पहिलोपटक कलेजो (लिभर) प्रत्यारोपण भएको छ ।

बुधवार भक्तपुर सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको सफल रूपमा कलेजो प्रत्यारोपण गरिएको हो । बलरामलाई उहाँका ४१ वर्षीया दिदी सानुमाया लागेजूले कलेजो दिनुभएको हो । उक्त शल्यक्रिया दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोलीको सहभागितामा सम्पन्न भएको हो ।

विगत तीन वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आएको केन्द्र छोटो अवधिमै कलेजो प्रत्यारोपण गर्न सफल भएको हो । चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण नेपालमै हुनु देशकै लागि ठुलो सफलता भएको केन्द्रका कार्यकारी निर्देशक तथा अङ्ग प्रत्यारोपणविद् पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

“दक्षिण कोरियाबाट आएको सात सदस्यीय टोलीसहित नेपाली टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको छ”, केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “जापान, अमेरिका, बेलायतजस्ता विकसित मुलुकमा जुन प्रविधिले कलेजो प्रत्यारोपण गरिन्छ, हामीले पनि त्यही विधिमार्फत प्रत्यारोपण गरेका हौँ । ”

गत आइतबार अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पास भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको हो । यो नियमावली गत १६ मङ्सिरमा मात्र मन्त्रिपरिषद्को बैठकले पास गरेको थियो ।

नेपालमा कलेजो प्रत्यारोपण नहुँदा नेपालबाट भारत, जापान, अमेरिकाजस्ता मुलुकमा गएर झन्डै नेपाली एक करोड ५० लाख रुपियाँसम्म खर्चेर कलेजो प्रत्यारोपण गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । नेपालमा यो सेवा सुरु भएपछि अब करिब १५ लाख रुपियाँको हाराहारीमा कलेजो प्रत्यारोपण हुने भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै कलेजोको प्रत्यारोपण गर्ने टिम तयार भइरहेको बताउँदै अब बढीमा दुईदेखि तीनपटकसम्म कोरियाली चिकित्सकको टोलीको सहभागितामा कलेजो प्रत्यारोपण गर्ने जानकारी दिनुभयो ।

बुधवार दिउँसो १२ बजेदेखि सुरु भएको कलेजो प्रत्यारोपण राति १० बजेमात्र सम्पन्न भएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू र डा. पुकारको पहलमा मात्र नेपालमा कलेजो प्रत्यारोपण यति छिटो सम्भव हुन पुगेको बताउनुभयो । “मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पास गर्र्न अझै केही महिना कुर्नुपर्ने थियो”, मन्त्री थापाले भन्नुभयो, “कलेजो प्रत्यारोपण गर्नैलाई मैले प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेर छिटो भएको हो । ” कलेजो प्रत्यारोपण यति छिटो सम्पन्न हुनुमा डा. पुकारचन्द्र श्रेष्ठको टिमलगायत प्रधानमन्त्री तथा मन्त्रीहरूको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले अब नेपालीको हैसियतले धान्नसक्ने मूल्यमा कलेजो प्रत्यारोपण गर्नेतर्फ आफू लाग्ने जानकारी दिनुभयो । मन्त्री थापाले नेपालमा कलेजो प्रत्यारोपणको सुरुआतसँगै स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको बताउनुभयो । उहाँले केन्द्रलाई आवश्यक पूर्वाधार पूरा गर्न मन्त्रालय सधैँ तत्पर रहने भन्दै यसलाई निरन्तरता दिन मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

अहिले बलराम नागाको भने मानव अङ्ग प्रत्यारोपण केन्द्रले निःशुल्क रूपमा कलेजो प्रत्यारोपण गरेको हो ।

कोरियाली सर्जन डा जेवनको नेतृत्वमा डा. चोन हुवाइक, डेभिट कोन, ग्यू सेवन, चान वचो र जस्टिनको टिम तथा नेपालबाट प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा डा. मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. सम्र्पूणमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राई, डा. महालक्ष्मी देउजा, डा. किरण अधिकारी, डा. सन्दिप भण्डारी, डा. मिलन थापा, डा. कलेजो रोग विशेषज्ञ डा. दिपेश गुरुवाचार्य, डा. निरज जोशी , तथा नर्सिङ्ग टोलीको नेतृत्व इन्दिरा प्रधानले गर्नुभएको थियो ।

यस्तै, कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा, डा. शुधांशु केसी, डा. अनन्त श्रेष्ठ र डा. विनिता जोशी लगायत २५ जनाको टोलीले १० घण्टा लगाएर कलेजो प्रत्यारोपण हो । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू