चेतनाको क्रान्ति गर्दै सुखको सङ्ग्राम जितौं

जीवनमा राम्रा दिनहरूलाई निम्त्याउन, कठिन दिनहरू संङ्ग युद्ध गर्न सक्नु पर्छ । दु:खबाट भागेर सुख कहिल्यै आउँदैन । कठिनाइसँग भाग्न खोज्दा झन् ठुला कठिनाइहरू लखेट्न आईपुग्छन् । यसको सार हो, हरेक परिस्थितिको सामना गरौँ, जे जस्तो अवस्था आउँछ, त्यसलाई स्वीकार गरौँ । स्विकारोक्ति नै, जीवनमा आनन्दको मूल हो । चटपटे साँढेका, सात वटा डाम भने झैँ, अस्थिर मार्ग, मन र चन्चल स्वभाव दु:खको कारण बन्छ । मानिसहरू कि सोच्दै नसोचि काम गर्छन् र यसबाट भात्किएको सफलताले दुखित बन्छन्, या सोचिरहन्छन् र काम भने गर्दैनन् तसर्थ दुखित बन्छन् । सोच बिनाको कर्म र कर्म बिनाको सोच दुवै घातक हुन् । तसर्थ चिन्तन र कार्यको सन्तुलन मात्र सुख प्रदायक हो ।

सोचिरहने तर यात्रामा ननिस्कने मानिस गन्तव्यमा पुग्न सक्दैन, यस्तै विना लक्ष्यको यात्रामा लाग्नेहरू पनि भीडमा हराएको मानिस जस्तै अलपत्र हुन पुग्छ । अति चन्चल मनमा सोचले वास गर्नै पाउंदैन, र लगातार चिन्तन र सोच मात्र आइ रहँदा शक्ति क्षय भएर जान्छ । तसर्थ चित्तलाई स्थिर पार्ने विधि हो – स्थल शरीर र चिन्तनको जोड । यही जोड नै योग हो । सूक्ष्म शरीर र स्थललाई विभिन्न आसन मार्फत जोड्न सकिन्छ । जसले पवित्र विचार-प्रवाह गर्छ, विचार प्रवाहको विघटन नै मृत्‍यु हो । विचार नै सम्पूर्ण खुसीहरूको आधार हो । सदविचार नै सद्व्यवहारको मूल हो । तसर्थ योगलाई ॠषि पतन्जलिले ‘योगचित्तव्रित्ती निरोधक भनेर चित्त निरोध तर्फ जोड दिए ।

जब चित्त शुद्ध हुन्छ तब पवित्र विचार हर क्षण आउँछन्, र यस्तो संकल्प अनि विचार गरेर संस्कार बसाउंदै जाँदा जो सुकै एक दिन महान् बन्न सक्छ । योग सूत्र व्यास भाष्य -१।१ मा भनिएको छ, ’योग :समाधि:’। योगनै समाधिको पथ हो । जीवन प्रवन्धन हो । सम्पूर्ण चिकित्सा हो र आत्म अनुशासन जगाई सम्पूर्ण समस्याहरूको अमोघ समाधान गर्ने साधन हो ।

गीताको २।४८ मा उल्लेख छ कि “समत्व योग उच्यते ।” रोग, शोक र सङ्कटबाट माथि उठाई मृत्‍युलाई नै चुनौती दिने योग केवल व्यायाम हैन बरु यो आरोग्य, निर्भयता, सुख शान्ति र आफ्ना विचारलाई जित्दै निर्विचारमा पुग्ने एक सफल जीवन कला हो । सबै धर्म, जाति, वर्ग र सम्प्रदायबाट माथि उठेर सबैलाई एकतामा बांध्ने कलाको नाम नै योग हो । कहिल्यै आपसमा सहमत हुन नसक्ने देशहरू पनि संयुक्त राष्ट्र संङ्घ मार्फत आज सामूहिक योग दिवस मनाउन तयार भए र हरेक जुन २१ तारिखलाई, योग दिवसको रूपमा मनाउन थालीयो । आज विश्वका विभिन्न देशमा ‘योग’ विश्वविध्यालयको पढाई बन्न पुगेको छ ।

जसले योगको सत्य बुझेको हुन्छ उसका निम्ति सारा भेदका पर्खाल भात्किन्छन्। सम्प्रदायका सिमानाहरू टुक्रिन्छन्, आफ्नो जीवनमा प्रेम र समानताको प्रकाश छरिन्छ । खोज र अभ्यास उसले मात्र गर्न सक्छ जसको जिज्ञासा स्वतन्त्र हुन्छ । बेलायति दार्शनिक डेभिड ह्युमले लेखेका छ्न्” जसलाई निर्विचार हुनु छ उसले व्यर्थका विचार छाडेर आफू भित्र पस्दै जानु पर्छ “। करोडौंले यसको लाभ लिई रहेका छन्। कहिल्यै योग को नाम नसुनेका हरू पनि यसको साधनामा डुब्न थालेका छन्। संसारले कहिल्यै कहीँ भेट्टाउन नसक्ने सुख लाई योगले दैलो दैलो मा निःशुल्क पुर्याईदिएको छ । शून्य बजेटमा मानिसहरूको स्वास्थ्य बिमा नै गराईदिएको छ योगले । हरेक कुराको सफलतामा कुनै सूत्र हुन्छ र जीवन जिउने पनि सुन्दर सूत्र छ त्यो हो , योग लाई नियमित जीवनको अङ्ग बनाउनु । योग र प्राणायाम नै ध्यानमा प्रवेश गराउने अचुक विधि हो ।

अस्थिर शरीरमा सजिलै ध्यान घटित हुँदैन तसर्थ विकारहरूलाई निचोर्न ध्यान गर्नु पूर्व तयारी स्वरूप योगका विभिन्न चराण पार गर्नु जरुरी छ । यम, नियम,आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान, समाधि गरी आठ चरणमा योग विभक्त छ । जब कोही एकै पटक कक्षा दशको परीक्षामा सामेल हुन्छ भने उ त्यसमा उत्तीर्ण हुन सक्दैन ।

त्यस्तै यम, नियम जस्ता विभिन्न चरण पार गरे पछि मात्र ध्यान को गहिरू आनन्दमा प्रवेश भई आत्म साक्ष्यातकार गर्न सकिन्छ । कहिल्यै योग आसन नगरेका हरू ले आज अन्यन्य लाभ लिई रहेका छन् भने हामी तीनै ॠषि महर्शिका सन्तान जसको रगतमा योगका महान् दर्शन हरू प्राण बनेर कुदिरहेको छ भने हामी यसको लाभ बाट किन बन्चित हुने । जीवनको कुनै भरोसा हुँदैन तसर्थ, आउनुहोस्, योग, ध्यान र अध्यात्मिक कला द्वारा हामीभित्र निहित अन्यन्य शक्तिको महान् द्वार खोलौं । आँफैंभित्र लुकेको महापुरुषलाई जन्म दिउं । हरेक क्यानभासमा सुन्दर कला कोर्न सकिन्छ, हरेक ढुङ्गाहरू कलात्मक मूर्ती बन्ने क्षमता राख्छन्। तपाईँ भित्र पनि एउटा महानता लुकेको छ, जीवनको सूर्य नअस्ताउंदै आजैँ त्यो उज्यालो राजामार्गको यात्री बनौं । मृत्‍यु पछि पाइने आशामा होइन, जीवन रहंदैमा स्वर्गको अनुभव गरौँ । जो आफूलाई बदल्न सक्षम हुन्छ , उ संसारलाई पनि बदल्न सामर्थ्य राख्दछ ।

[email protected]
(नेपाल-गणतान्त्रिक फिजि सांस्कृतिक राजदूत)

Published on September 30, 2016 at 11:53 pm

Loading...

यसमा तपाइको मत