सतीको सराप परेको देश – कृष्ण धराबासी

नैतिकता नै मानिसको शत्रु हो जब त्यो आफ्नै निम्ति घातक भएर उभिन्छ । अरूलाई उपदेश दिन, अरूमाथि शासन गर्न, अरूलाई आफ्ना अनुयायी बनाउन नैतिकता धेरै लोकप्रिय र आकर्षक शब्दावली छ तर त्यसले मागेको वासस्थान र मर्यादा भने जहिलै पनि गहु्रँगो छ उचाल्नै गाह्रो । धरतीमा कैयौँ आदर्शवानहरु आए, तिनका सालिक बने, स्मृतिग्रन्थ बने विर्सनै नहुने गरी सम्झनु पर्ने जस्ता पनि भए तर कालान्तरमा तिनका पनि अँध्यारा र काला पाटाहरु देखा पर्न थाले । ती पनि घिनलाग्दा र लाजलाग्दा हुँदै गए । समयको गतिले जति जति वर्तमानलार्य छोड्दै जान्छ यथार्थ बिस्तारै चम्किंदै र हल्लिंदै नजिक नजिक आउन थाल्छ । गगनसिंहको हत्यारा को हो भन्ने थाहा पाउन शताब्दि पर्खिनु प¥यो इतिहासले । जति छोपे पनि त्यसलाई उधिनेर निकाल्ने पनि समय नै हो । आज म लुकें, मैले लुकाउन सकें भनेर ढुक्क मान्ने जस्ता अपराधी पनि एक दिन जेलको फलामे ढोका पछाडि निरिह उभिरहेको हुन्छ । एउटा बाबुले इतिहाससँग गरेको बैमानी त्यसको नातिले समाजलाई तिरिरहनु पर्छ । जन्मनु पूर्व नै बाबु बाजेले गरेको अपराधको दण्ड भोग्न त्यो बिचरो भविष्य गर्भ मै आरोपित छ ।

एउटा एम.बि.बि.एस. डाक्टर बिरामीको उपचार गर्न छोडेर राजनीतिको बजारमा पस्यो भने त्यसको अवस्था डा. तुलसी गिरी कै जस्तो हुन्छ । बिचरा उपेन्द्र देवकोटा अर्को संस्करण हुन् छटपटाइरहेका छन् नेपाली राजनीतिमा डाक्टर ताँती लागेर । आफू को हो र आफ्नो पेसा के हो भन्ने मान्छेले छुट्याउन सकेन भने त्यो बिचरा खहरेको भेल झैँ बाटो न घाटो कहाँ कहाँ बग्न विवश हुन्छ । डा. तुलसी गिरी एउटा त्यस्तै खहरेको चेपमा मैलिएका पानी छन्, बग्न त बग्छन् तर धमिलो र अदृश्य । धेरै लामो समय सम्म आफ्नो राष्ट्रसँग छुट्टिएर बाहिर बसेका एक ‘घुर्के वृद्ध’ एकाएक निरंकुशतन्त्रको सालिक बन्ने सौभाग्य प्राप्त गरेपछि नेपाल फर्किएका हुन् । उनले आफ्नो उमेर, अवस्था र समयको बहाव सबै कुरालाई बिर्सिएका छन् । गाउँ फर्क राष्ट्रिय अभियानताका प्रधानमन्त्री बनेका तिनले ३० वर्षपछिको नेपालको नयाँ पुस्तासँग छु सम्म थाह नपाएको बेलामा छन् । प्रजातन्त्रको तुलसी व्याख्या सम्भवत माओवादको “प्रचण्डपथ” भन्दा पनि सुन्दर लाग्छ । प्रजातन्त्र भनेको भीडतन्त्र होइन रे । डा. तुलसी गिरीको उपाध्यक्षीय कालमा सबैले सिरक ओढेर सुते त्यो सबभन्दा उचित अवधि हुन्थ्यो कि ?

नैतिकता र इमान्दारिताका पाठ घोकाएर कहिल्यै नथाक्ने, भ्रष्टाचार र आर्थिक अनियमितताका शत्रु नै देखिन चाहने डा. साहबले जब कान्तिपुर दैनिकबाट थाह पाए कि आजभन्दा विष वर्ष अघि देश छोडेर भाग्दै गर्दा नेपाल बैङ्क लिमिटेडबाट नक्कली उद्योगका नाममा लाखौँ ऋण निकालिएको थियो, देश त्याग्दा चाहिने बाटो खर्चका निम्ति पर त्यो ऋण ब्याज सहित सवा करोडभन्दा बढी भएछ हुर्किएर । आज एकाएक यो स्वर्ण उपाध्यक्षीय पदमाथि नै आक्रमण गर्न आउने त्यो ऋणले सतहत्तर वर्षीय दााँतमा कत्ति नराम्रो ढुङ्गा लागेको । कालो सूचीमा परेका ऋणीहरुलाई बहिस्कार गर्ने सरकारी नीति सार्वजनिक हुनु अघि नै यो डा. गिरीको नाम सार्वजनिक गरिदिएर कान्तिपुर दैनिकले धन्य डाक्टर साहबलाई सहयोग नै पु¥याइदिएछ । यत्रा ठुला उपाध्यक्षलाई नाथु सवा करोड के चीज हो ?

राजीनामा दिने किन ? राजीनामा दिनकै लागि यत्रो लामो राजनैतिक षडयन्त्रको यात्रा थालिएको हो र ? एउटा डा. गिरी जस्ता होनहार प्रतिभाका लागि देशल करोड के अरबको नोक्सान पनि सहजै सहन सक्नुपर्छ । त्यत्रो वर्ष बाहिर बसेर भए पनि कमसेकम यस बुढेसकालमा स्वदेश त आएका छन्, फेरी रिसाएर बेङ्गलौरतिर लागे भने देशलाई कत्रो खति होला । जीवनको त्यत्रो महत्त्वपूर्ण समय भारत र श्रीलंकामा बिताएका डा.गिरी जस्ता उत्केष्ठ राष्ट्रवादी त यस देशले फेरी कहिले पो पाउला र ?

नेपाली राजनीतिका सबैभन्दा अनुदारवादी चिन्तक तथा बोलीको कुटनैतिक शिष्टता समेत गुमाइसकेका वयोवृद्ध उपाध्यक्ष डा.गिरीलाई यस बुढेसकालमा नेपाल बैङ्क लिमिटेडले यस्तो खाले ऋणको सम्भना गराउने नहुने । उहाँकी श्रीमती तथा भतिजहरुका नामको ऋणको जिम्मा त उहाँले लिने कुरै आउँदैन । फेरी धितो दिइसकेपछि ऋणीले ऋण नतिरे धितो लिलाम गर्ने अधिकार हुँदा हुँदै बैङ्कले किन यस्तो सार्वजनिक रूपमा उहाँको बदनाम गर्नु परेको ? वास्तवमा त्यो समाचार पत्रिकामा चुहाउने कर्मचारीलाई चाहिँ कारबाही नै गर्नु पर्ने हो । देशको प्रथम उपाध्यक्ष जस्तो मान्छेसँग सम्बन्धित कुरा खुसुक्क पत्रिकालाई भन्ने हो त ? एक्काइसौं शताब्दिको प्रजातन्त्रमा कर्मचारी तन्त्र यस्तै छाडा हुन्छ त ? नैतिकतै गुमाइसकेका यस्ता कर्मचाीलाई ठेगान लगाउन वास्तमा ‘पर्चा’ खडा गरी जागिर खोस्न सकिने कानूत त ल्याउनै पर्ने हो । यस देशमा डाक्टर गिरी जस्ता होनहार प्रतिभाका लागि पनि यस्तो अवस्था छ भने वास्तवमा अरूको के गति होला ? साह्रै नै बरबाद भएको रहेछ यो पन्ध्र वर्षमा देश । विष वर्ष अघिको ऋणको हिसाब पनि यत्रो वर्षपछि खोजी खोजी निकाल्ने हो त ? त्यसै भनेको त होइन रहेछ नि – यो सतीको सराप परेको देश भनेर ।

Published on September 28, 2016 at 11:07 pm

Loading...

यसमा तपाइको मत