बिस्तारै गर, ब्युँझन्छे – कृष्ण धरावासी

बिहान सात जति बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ– संजीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौं । फोनमा बोलेर हाम्रा कुरा पनि सकिदैनन् । एकदम नै महत्त्वपूर्ण समाचार नभई प्रायः हाम्रा फोनमा घण्टी जाँदैनन् । मैले फोन उठाएँ । उताबाट भारी स्वरमा संजीव बोले– ‘कृष्ण । पाँच मिनट अघि आमाको प्राण गयो ।’ एकपल्ट थररर भएर हल्लियो भित्र कतै । बुबाले बोल्दै गरेको सुनें– ‘बिस्तारो गर, बिस्तारो, ब्युझन्छे ।’ यो वाक्यले झन् थर्कियो भित्र ।

श्रीमतीको निधनको पीडा मैले त्यो भन्दा दुई वर्ष अघि नै व्यहोरीसकेको थिएँ । आमा विगत छ सात वर्ष देखि अल्जाइमरले थलिनु भएको थियो । उहाँले बिस्तारै बोल्ने शब्दहरू बिर्सदै जानु भएको थियो । पछिल्लो दुई वर्ष त संजीव, अर्चना, डा.बा र रेणु बाहेक कसैलाई नचिन्ने हुनु भएको थियो । म एक प्रकारले उहाँकै काखमा हुर्किएको थिए । यो कुरा मैले मेरो ‘आधाबाटो’ मा लेखिसकेको पनि छु ।

संजीव जन्मिएकै एउटा छोरो । उहाँले भन्नु हुन्थ्यो– ‘मैले नजन्माएकी भए पनि तँ मेरै छोरो होस् ।’ मेरी आमा वितेपछि पनि मलाई आमाको अभाव महसुस भएको थिएन । म घण्टौं उहाँसँग बसेर दुःखसुखका कुरा गर्थे, उहाँले आफ्नै हातले बनाएको केही खान नदिए सम्म हिंड्दिन थिएँ ।

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई तीन दिन दुई तीन दिनमा उहाँलाई हेर्न जान्थे । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो कहिले रोए जस्तो देख्थे अनुहार । छेउ मै बस्नु भएको हुन्थ्यो डाक्टर बा । केही पढिरहेको, केही लेखिरहेको भेट्थें सधैँ । जब म पुग्थें उहाँ निकै खुसी भएर आफ्ना अनुभवहरू सुनाउन थाल्नु हुन्थ्यो । म पनि चाहन्थे, संजीवसँग भन्दा बालाई नै बढी समय दिनु उचित छ । अनि उहाँले सुनाउनु हुन्थ्यो आफ्ना कहाली लाग्दा विगतहरु ।

झलक्क हेर्दा डा. शंकरप्रसाद उप्रेतीलाई के को दुःख होला र ! बि.स. १९९१ मा आठराई चुहान डाँडाका सम्पन्न मेदिनीप्रसाद उप्रेतीका काइला छोराका रूपमा जन्मिएका उनलाई कहिले के नै दुःख भयो होला र ! कुनै अभाव , गरिबी र दुःख भए २०१७ सालमा कसैले एम.बि.बि.एस. गर्न सक्थ्यो ! धनीका छोरा थिए, पैसा पेल्न सके र त आजभन्दा पचपन्न वर्ष अघि नै एम.बि.बि.एस. हुन सकेका हुन् नि ।

तर उहाँको कथा अनुमान गरेजस्तो सजिलो छैन । जब उहाँ मसँग आफ्नो विगत भन्न थाल्नु हुन्थ्यो, म ट्वाल्ल परेर सुनिरहन्थें । एक दिन उहाँ निकै भावुक हुनुहुन्थ्यो । भन्नु भो– ‘हेर् केटा ! प्रकृतिले जीवलाई दुईवटा कर्मको जिम्मा दिएको छ । एउटा आफ्नो सुरक्षा गर, दास्रो आफू बाँच् र फैली । मानिस बाहेक अरू सबै जीवले त्यत्ति नै गर्छन् तर, हामी त्यो भन्दा अरू धेरै नै गरिरहेका हुन्छौं, तैपनि विचार गरेर हे¥यो भने सारांशमा हामी पनि त्यत्ति नै गरिरहेका छौँ । यो तेरी आमासँग म पचपन्न वर्ष देखि सँगै छु । हामीले मिलेर बाँच्ने र फैलिने खेलमा कैयौँ रमाइला र  पूर्ण क्षणहरु बितायौं । तर हेर् न, यसलाई अहिले ती कुनै कुरा थाहा छैन । योसँग बाँकी जीवन, बितेका दुःखसुख संझदै बिताउन मन थियो तर ऊ त कत्ति सुखी भई, बच्चो जस्ती ।’

अलिकति अलिकति गर्दै उहाँले मलाई आफ्नो जीवनका प्रायः सबै पृष्ठहरु सुनाइसक्नु भएको थियो । पछिल्लो कालको उहाँको शनिश्चरेको जीवनसँग म प्रत्येक्ष सम्पर्कमा भएकाले ती मेरा लागि रहस्य थिएनन् । मलाई रहस्य लागेको उहाँको वाल्यकालको कथा थियो जसलाई सुनेर म छक्क पर्थे । उहाँको वाल्यकालको कथा सुन्नु अघि, जब उहाँले बिरामीहरुलाई जाँचेको, पैसा नलिएको, सस्तो र थोरै दबाइले उपचार गरिदिएको, पैसा नभएका गरिबहरुलाई निःशुल्क दबाइ दिएको देख्थें मलाई अचम्म लाग्थ्यो । बजारमा मुरली, भट्टाचार्य र सुब्बाहरु थिए । उनीहरू सामान्य अनुभवी थिए तर डा.बा. शनिश्चरे नआए सम्म उनीहरू नै त्यहाँका डाक्टर थिए । तिनीहरूले गर्ने उपचार, दवाई र पैसाको महंगाइका अघि डा. बाले निःशुल्क जस्तै सेवा गरेको देख्थें । उहाँले किन त्यसरी मानिसहरूको सेवा गर्नु हुँदोरहेछ भन्ने कुरा मैले धेरै पछि मात्र बुझें जब उहाँले मन खोलेर मलाई आफ्नो कथा भन्न थाल्नु भयो । सारांश यस्तो थियो उहाँको कथाको ।

असाध्यै पढ्ने रहर भए पनि पहाडमा त्यस्तो पढ्ने व्यवस्था थिएन । त्यसैले घरबाट भागेर विराटनगर आई एक जना उप्रेतीकै घरमा बालश्रमिक भई काम गर्न थाले । २००४ सालको विराटनगर जुट मिलको मजदुर आन्दोलनमा फुच्चे केटो त्यत्तिकै जुलुसमा कुद्यो । त्यहाँबाट भेटेर काठमाडौँमा बस्नु भएका माइला दाइले ल्याउनु भो । तर काठमाडौँमा पढाइमा फेल भए पछि त्यहाँबाट पनि भागेको मान्छे, नुवाकोट, धादिङ, कता कता हुँदै महिनौं लगाएर भारतको कानपुरमा पुगे । त्यहाँ एउटा मिलमा काम खोज्न जाँदा कम उमेरको हुनाले काम पाएनन् । एउटा असल मान्छेको घरमा पढ्न पाउने सर्तमा घरेलु कामदार भएर बसे । अत्यन्त कठोर परिश्रमसँगै आफ्नो पढाइलाई अघि बढाउँदै एस.एल.सी उत्तीर्ण गरे । आई.एस.सी. उत्तीर्ण गरी नेपाल आएका उनी कोलोम्वो प्लान अन्तर्गत फेरि भारत नै पुगे ।

भन्दा भन्दै एक दिन भन्नु भएको थियो– ‘जुन दिन मैले कोलोम्बो प्लान पाएँ, त्यो दिन परमात्मालाई सम्झेर मनमनै प्रतिज्ञा गरेँ, म एम.बि.बि.एस. भन्दा माथि पनि पढ्दिन र आफ्नो जीवनको सबै समय दुर्गम गाउँमा बसेर पचास वर्ष सम्म सेवा गर्नेछु ।’

धनीको कोखमा जन्मेर पनि गरिबको जीवन बिताउनु भएका उहाँमा दया र करुणाको भाव अथाहा छ । बिरामीलाई मायाले हप्काउदै, गाली गर्दै भए पनि उपचार गरिरहनु भयो । उहाँको उपचारकालमा सायदै बिरामीहरु अन्यत्र रिफर गरिए ।

२०२६ साल देखि उत्तरी झापाको शनिश्चरे क्षेत्रमा आफ्नै क्लिनिक खोलेर बसे पछि पूर्वी पहाड आठराई, ताप्लेजुङ र पाँचथर देखिका बिरामीको केन्द्र बनेको थियो शनिश्चरे । एउटा सामान्य एम.बि.बि.एस भएर पनि उहाँलाई गाइनोको स्पेशल अनुभव थियो । त्यस बेलाको झापा, मोरङ, इलाम देखिका गर्भवती महिलाहरूले उहाँकै सिपालु हातको सेवा पाएर आफ्नो र बच्चाको ज्यान बचाएका थिएँ । एक दिन भन्नु भो – ‘काम गरिरह्यो भने कत्ति गरिने रहेछ कत्ति, केटा । मैले आफ्नो सक्रिय डाक्टरी कालभरि छत्तिस हजार बच्चाहरू जन्माएछु ।’ (हाम्रै घरमा पनि उहाँको हातबाट जन्मेका चार जना छन् कुमार, नानु, दिपलेश र विवेक)

केटाकेटीका लागि त उहाँ धामी जत्तिकै हुनुहुन्थ्यो, छोयो कि निको हुने । डा शंकरकोमा नपु¥याइ भुरा सञ्चै नहुने । जस्तै असाध्य मानिएका बिरामी पनि निराश भएर फर्किएनन् । एक दिन एउटा मानिसलाई गोरुगाडामा बसाएर ल्याए । घाँस काट्न रुखमा चढेको । रुखबाट झरेछ र डाली घाँसको चोके एकापट्टिको गर्धनबाट छिरेर अर्काेपट्टि निस्केछ । चोके वारपार भएकै अवस्थामा ल्याइपु¥याए । सयौ तमासे मानिसहरू जुलुस जस्तै पछिपछि थिए । कसैले पनि बाँच्ला भन्ने सोचेका थिएनन् । तर उहाँले सबैका अघि हेर्दा हेर्दै त्यसलाई तानेर निकालिदिनु भयो र उपचार गरेर पठाइदिनु भयो । सारा मानिसहरूले डा.शङ्कर देवतै हुन् भने । तर एक दिन एउटा सर्पले टोकेर बेहोस भएको मानिसलाई ल्याए । उहाँले सक्दिन भन्दा भन्दै उपचार गर्न कर लगाए । एन्टी स्नेक भेनम लगाइदिनु भो तर मान्छे बाँचेन । मरे पछि त्यसैलाई विषय बनाएर उजुरबाजुर गरेँ । प्रहरीले समातेर चन्द्रगढी पु¥यायो । एकरात थुनेर छोडिदियो । त्यो दिन देखि उहाँले सर्पका रोगीको उपचार गर्नु भएन ।

जस्तै बिरामीलाई पनि सकेसम्म उहाँले निराश बनाएर कहिल्यै फर्काउनु भएन । अचम्म त मलाई के लाग्थ्यो भने, उहाँले उपचार नगर्ने कुनै रोग थिएन । हात खुट्टा भाँचिएकाहरुको त एक्स्रे नै नगरी काम्रो बाँधिदिनु हुन्थ्यो र ती सर्लक्कै जोडिन्थे । अचेल त सामान्य भाँचिएकोलाई पनि स्टिल नहाली उपचार गरेको देखिदैन । उहाँले छामेकै भरमा हड्डी जोडी दिनु हुन्थ्यो ।

एक दिन मैले सोधेँ – ‘यति धेरै विषयमा तपाईँ कसरी उपचार गर्न सक्नु हुन्छ ?’ उहाँले भन्नु भो – ‘पढ्दा खेरि प्राक्टिकलमा अरू साथीहरू अल्छी गर्थे, ठग्थे । टिम भित्रमा मलाई नै रिर्पाेट बनाउन लगाउँथे । म भने एकदम नै ध्यानले सिक्थें । त्यही सिकेको अहिले काम लागिरहेको छ ।’

आमालाई अल्जाइमरले समाउन थालेपछि संजीव, अर्चना र मैले पटकपटक उहाँलाई यो पेसा छोडीदिनु, रेस्ट लिनु भनी रह्यौं । तर उहाँले हामीलाई सधैँ– ‘पचास वर्षसम्म यो पेसामा सक्रिय जीवन बिताउनेछु भनेर मैले प्रतिज्ञा गरेको छु, अब दुई वर्ष मलाई केही नभन’ भनेर चुप गराउनु हुन्थ्यो । नभन्दै २०६७ सालमा आफ्नो सेवाको पचास वर्ष पुगे पछि स्वेच्छिक अवकास लिनु भयो । त्यस बेला सम्म झापामा सयौँ डाक्टर क्लिनिक र अस्पतालहरू थिए तर डा. शंकरकोमा नपुगी कसैलाई सञ्च हुँदैन थियो । उहाँले पेसा छोड्ने घोषणा गर्दा त्यो क्षेत्र नै एकप्रकारले शोकाकुल भयो । ‘डा. शङ्कर छैनन्, अब हामीलाई के होला ?’ जस्तो मनोवैज्ञानिक दबाबमा परे मानिस । हुन पनि पेसा प्रतिको उहाँको निष्ठा अचम्म लाग्दो थियो । छ वर्ष सम्म राष्ट्रिय सभाको सदस्य हुँदा पनि संसद अघिवेशन सकिने बित्तिकै गाउँमा गएर क्लिनिकमा व्यस्त हुनुहुन्थ्यो । कति मानिसहरू व्यंग्य गर्थे डा. शङ्करलाई हेर न पैसाले नपुगेको । सांसद भए पछि पनि अझै गाउँमा बसेर सुई हान्न छोडेका छैनन् ।

इमान्दारी र निष्ठाको एउटा प्रतिमूर्ति हो उहाँ । प्रचार भन्दा टाढा र गोप्य दानमा विश्वास गर्ने उहाँले शिक्षा क्षेत्रमा गरेको लगानीको त बेग्लै चर्चा गर्नुपर्ने हुन्छ । मलाई लाग्छ २०१७ सालमा एम.बि.बि.एस. गरेर एउटा दुर्गम गाउँमा पचास वर्ष सेवा गर्ने डाक्टरहरु नेपाली मेडिकल इतिहासमा बिरलै होलान् । उमेरको अठहत्तर वर्षसम्म पनि सक्रिय रहनसक्ने उहाँको दृढता अभिनन्दनीय थियो ।

प्रायः हामी तीनै जनालाई उहाँ भनिरहनु हुन्छ– ‘तिमीहरू मेहनती पनि छौ । प्रतिभाशाली पनि छौँ । नाम पनि कमायौ तर, एउटा कुरा सधैँ ध्यानमा राख्नु । आफ्नो कर्मप्रति कहिल्यै अभिमानी नहुनु । तिमीहरू जे गरिरहेका छौ त्यो सबै तिमीहरूको लागि ईश्वरले छुट्याएर दिएको भूमिका हो । तिमीहरूको आफ्नो मात्र होइन ।’

गर्व लाग्छ मलाई । गरिब र अशिक्षित आमाबाबुको कोखबाट जन्मेर पनि मैले यस्ता अभिभावक पाएको थिएँ । बाहिरबाट हेर्दा कडा स्वभावको देखिने उहाँ भित्रभित्रै बदाम जस्तो कमलो हुनुहुन्छ । एक दिन चेतना शून्य आमातिर फर्केर भन्नु भो – ‘यो महिलाको त्याग कति होला भन् त । कहाँ राजेस्थानमा जन्मेर हुर्किएकी । दुई विषयमा एम.ए. गरेकी, सुखमा पालिएकी । मसँग बिहे नगर । म त गाउँमा बस्छु, दुःख पाउँछ्यौ भन्दा तिमीले सहेको म पनि सहनसक्छु भनिन् । हुन पनि मसँगै बिताइन् यिनले पनि पचास वर्ष गाउँमा । तर म खुसी छु, यिनलाई स्याहार्न पाएको छु । म भन्दा अघि यिनको प्राण जाओस् भन्ने कामना गर्दछु ।’ यसो भनिसक्दा एकाएक उहाँको अनुहार अर्कै जस्तो भएको थियो ।

अनि आज संजीवले आमाको प्राण गएको पाँच मिनेट पछि नै मलाई फोन गरेका थिए । बाक्लो कुइरो लागेको २०७० साल पुसको बिर्तामोडको बिहानमा मैले त्यो फोन उठाएको थिए । बुबा भन्दै हुनुहुन्थ्यो – ‘बिस्तारो गर, बिस्तारो, ब्युझन्छे ।’ सायद लासलाई पलङबाट तल झार्न लागेका थिए होलान् । उहाँलाई लाग्दै थियो होला – ‘आमा निदाएकी मात्र हुन् मरेकी होइनन् ।’ आज पनि म डा.बाको अघि जब पुग्छु त्यही आवाज सम्झन्छु ।

Published on September 9, 2016 at 11:19 am

Loading...

यसमा तपाइको मत