अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

गोरखा क्षेत्र नम्बर २ मा मतगणना पनि बाबुराम र नारायणकाजीबीच कडा प्रतिस्पर्धा

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १९:४६ मा प्रकाशित

गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् ।

करिब २/२ घण्टामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अपडेट सुनाउने गरेको छ । विहिबार साँझ सुरु भएको गणनामा कहिले भट्टराई त कहिले श्रेष्ठले अग्रता लिने गरेका छन् ।

मतपरिणामको टक्करले मतगणना रोचक बन्दै गएको छ । अन्य क्षेत्र र प्रदेशका उमेद्वार मतगणना स्थलमा भए पनि भट्टराई र श्रेष्ठ राजधानीमा छन् ।

मतगणनाको परिणाम आँकलन गरेर मात्र उनीहरु जिल्ला आउने उनीहरु निकट स्रोतले जनाएको छ ।

क्षेत्र नम्बर २ मा ६० हजार एक सय ९ मत खसेको थियो ।

गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छ । यी ५ वटै स्थानीय तहको मत मिसाएर गणना गरिएको छ ।

मतगणना स्थल बाहिर दुई पक्षका नेता कार्यकर्ताको राति पनि भीड लागेको थियो ।

जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना भइरहेको छ । बिहीबार दिउँसोदेखि नै दुई पक्षका शुभेच्छुकहरु जिल्ला बाहिरबाट समेत सदरमुकाम आएका छन् ।

गोरखा २ को प्रदेश ख बाहेक अन्य निर्वाचन क्षेत्रमा बामगठबन्धनका उमेद्वारले अग्रता लिएका छन् । मतगणनाका लागि सदरमुककामको सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू