अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

आप्रवासी गिरफ्तारी ४० प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७४ मंसिर २१ गते ११:०४ मा प्रकाशित

आप्रवासी गिरफ्तारी आक्रामक बनाउने आइसिईको प्रतिबद्धता

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेको पहिलो १० महिनामा आप्रवासी गिरफ्तारी आकाशिएको छ । इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइसिई) ले आप्रवासी गिरफ्तारी २०१८ मा आक्रामक बनाउने प्रतिबद्धता जनाएको छ ।

आइसिईका कार्यकारी निर्देशक टमस होम्यानले अबको निशाना अवैधानिक रूपमा अमेरिका छिरेका आप्रवासीलाई काम दिने कम्पनी हुने बताए । यसले नाटकीय रूपमा अवैधानिक आप्रवासी गिरफ्तारी बढाउने उनको विश्वास छ । उनले गिरफ्तारी अवैधानिक आप्रवासीलाई शरण दिने र गिरफ्तारीमा सङ्घीय सरकारसँग सवन्मय गर्न अस्वीकार गर्ने स्यांचुअरी सिटीमा पनि हुने बताए ।

कार्यकारी निर्देशक होम्यानले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) को पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । वाशिङ्टनस्थित रोनाल्ड रेगन बिल्डिङमा भएको पत्रकार सम्मेलनमा उनलाई कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेन्सीका एक्टिङ डेपुटटि कमिसनर रोनाल्ड भितिएलोले साथ दिएका थिए ।

होम्यानले यो वर्ष आप्रवासी गिरफ्तारी ४० प्रतिशतले बढेको बताए । अपराध नगरेका आप्रवासीलाई फिर्ता नपठाउने नीतिका कारण बाराक ओबामाको पालामा यस्तो गिरफ्तारी गिर्दो थियो ।

गत आर्थिक वर्ष आइसिईले १ लाख ५ हजार ७ सय ३६ गैरकानूनी र अपराध गरेका आप्रवासी गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारी त्यसका अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी हो । तर, अपराधी पृष्ठभूमि नभएका आप्रवासी गिरफ्तारीको सङ्ख्या भने गत वर्ष दुई गुणा बढेको थियो । गत वर्ष अपराधी पृष्ठभूमि नभएका ३७ हजारभन्दा बढी आप्रवासी गिरफ्तार भएका थिए ।

सेन्ट पल एरिया अफ रेस्पन्सिबिलिटीमा सन् २०१७ मा ४ हजार १ सय ७५ आप्रवासी गिरफ्तार भए । अघिल्लो वर्ष त्यहाँ बढीमा २ हजार ५ सय आप्रवासी गिरफ्तार भएका थिए । त्यहाँ अपराधी पृष्ठभूमि नभएका आप्रवासी गिरफ्तारी करिब ३ गुणा बढेर १ हजार १ सय ४४ पुगेको छ । सन् २०१६ मा त्यहाँ अपराधी पृष्ठभूमि नभएका ३ सय १७ आप्रवासी गिरफ्तार भएका थिए । सेन्ट पल एरियामा मिनेसोटा, आइवा, डकोटा र नेब्रास्का पर्छ । करिब ८ प्रतिशत गिरफ्तारी भने एउटालाई खोज्दा अर्को फेला परेर भएको हो ।

होम्यानले त्यस्तो गिरफ्तारी स्यांचुअरी सिटीबाटै बढी भएको पनि प्रस्ट पारे । उनका अनुसार आइसिईको अनुरोधका वावजुद जेलबाट अपराधी छाडिएपछि तिनलाई खोज्न जाँदा अरू गिरफ्तारीमा परेका हुन् ।

‘स्यांचुअरी सिटीमाथि बदलाको भाव राखिएको छ,’ आप्रवासी अधिकारसम्बन्धी काम गर्ने फिलाडेल्फियास्थित संस्था हुन्तोसकी कार्यकारी निर्देशक एरिका अल्मिरोनले भनिन् । आइसिईलाई सहयोग नगर्ने राज्यलाई ट्रम्प प्रशासनले बाराम्बार आक्रमण गर्दै आएको छ ।

‘छापा मार्ने क्रम आक्रामक बनाइएको छ,’ उनले भनिन्, ‘उनीहरू घरघरमा गएर हरेको औंलाको छाप लिइरहेका छन् । धेरै ठाउँमा हरेकलाई घरबाट बाहिर निकालेर यस्तो काम गरिएको छ ।’ उनका अनुसार आप्रवासीलाई छापा राज्यको आप्रवासी नीति अनुरूप भएको आइसिई एजेन्टहरुले बताउने गरेका छन् ।

होम्यानले आबामाको नीति नफर्किने बताए । उनले अमेरिकामा वर्षौं बसेका तथा सन्तान अमेरिकी नागरिक भएका आप्रवासीलाई फिर्ता पठाइने पनि बताए ।

‘ती दिन गए,’ उनले भने, ‘हामी अन्तिम आदेश (फिर्ता पठाउने) कार्यान्वयन गर्न गइरहेका छौँ । हामीले यसो गरेनौं भने हाम्रो प्रणालीको प्रणालित्व रहँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू