अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

क्यालिफोर्नियामा पहिलो पटक ‘स्वरसम्राट नारायण गोपाल स्मृति सभा’को आयोजना गरिदैं

बिआरटीनेपाल २०७४ मंसिर २० गते ११:५८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा स्वरसम्राट नारायण गोपाल स्मृति सभाको आयोजना गरिने भएको छ । २७ वर्ष अघि निधन भएका स्वर सम्राट नारायण गोपालको सम्झनामा पहिलो पटक डिसेम्बर ९ तारिखका दिन क्यालिफोर्नियाको बर्कलीमा स्थित ब्रिज चर्चमा स्वरसम्राट नारायण गोपाल स्मृति सभा आयोजना गरिने भएको हो ।

लाइन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको सयुक्त आयोजनामा हुन लागेको सो स्मृति सभामा स्थानीय कलाकारहरूले गायिकाहरुले स्व नारायण गोपालका गीतहरू प्रस्तुत गर्नेछन् । साँझ ६ बजे देखी १० बजे सम्म चल्ने साङ्गीतिक सभाका लागि वरिष्ठ सङ्गीतकार मदन दिपबिम, चिरपरिचित तबलाबादक रत्तु लामा, तथा अन्य अनुभवी संगीतकर्मीहरुद्वारा सो दिनका लागि कलाकारहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

एउटा साङ्गीतिक संस्कारका रूपमा हेरिएको यो कार्यक्रमा सङ्गीत अनुरागी र नारायण गोपालका प्रशंशक साथै हाल क्यालिफोर्नियामा रहेका नेपाली संगीतकर्मीहरुको उत्साहजनक उपस्थिति रहने देखिन्छ ।

लाइन्स क्लब अफ बर्कली लालिगुरासका चार्टर प्रेसिडेन्ट निर्मल फुंयालले बिआरटी नेपाल सँगको कुराकानीमा क्यालिफोर्नियामा पहिलो पटक आयोजना हुन लागेको यो स्मृति सभाले प्रवासमा रहेका नेपालीहरुमाझ साङ्गीतिक सेतुको भूमिका खेल्ने बताउँदै भन्नुभयो,- ‘हामीले एउटा परम्पराको सुरुवात हामीले प्रवासमा गरिरहेका छौ ता कि अब आउने पुस्ताहरूले अग्रजहरुको सम्मान गरुन र त्यो परम्परा कायम रहोस् ।’

यस ऐतिहासिक साङ्गीतिक कार्यक्रममा समयमा नै उपस्थित भई नेपाली गीत सङ्गीतका धरोहर स्वर सम्राट प्रति श्रद्धा सुमन व्यक्त गरेर कार्यक्रमलाई साथ सहयोग र हौसला प्रदान गर्नका लागि पनि आयोजक संस्थाले सबैमा अनुरोध गरेको छ ।

पहिलो नारायण गोपाल समृती सभाको आयोजना गर्न लागेको लाइन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको यो दोस्रो संयुक्त प्रस्तुति हो ।

 कार्यक्रम स्थान र समय :
२४१९ मार्टिन लुथर किङ जुनियर वे, बर्कली, क्यालिफोर्निया ९४७०४
-डिसेम्बर ९ तारिख साँझको ६ बजे देखी १० बजे सम्म

 

वि.सं १९९६ असोज १८ गते बुधवार काठमाडौँको किलागलमा पिता आशागोपाल गुरुवाचार्य र माता रामदेवी गुरुवाचार्यको सन्तनका रूपमा जन्मेका नारायण गोपालले सानै उमेरबाट गायनको सुरुवात गरेका थिए ।

नारायण गोपालको पहिलो गीत २०१८ सालमा कलकत्तामा रेकर्ड भएको थियो । २०२३ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत सम्मेलनमा सर्वोत्कृष्ट सङ्गीतकारको उपाधि प्राप्त गरेका उनले २०२४ सालमा सर्बोत्कृष्ट गायकको उपाधि सोही सम्मेलनबाट प्राप्त गरेका थिए तत्कालीन राजा महेन्द्रबाट ।

स्व. राजा बिरेन्द्रको विवाह समारोहको सांस्कृतिक कार्यक्रमको जिम्मेवारी पाएका नारायण एकल, युगल, नेवारी गरी १३७ वटा गीतहरू गाएका छन् ।

नारायण गोपालले २०२३ सालमा सर्वोत्तम सङ्गीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित नारायण गोपालसंस्कृति बिभिागको सङ्गीत निर्देशक, बागिना साङ्गीतिक त्रैमासिकका प्रकाशक तथा सम्पादक, सांस्कृतिक संस्थानका महाप्रवन्धक समेत रहेका थिए ।

 

प्रतिक्रिया