अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा कडा बिरोध

बिआरटीनेपाल २०७४ मंसिर १८ गते ३:१६ मा प्रकाशित

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ ।

सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ ।

यस हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ । उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ ।

यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । 

यहाँ दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना पनि सो अभ्यासमा सहभागी भइरहेका बताइएको छ ।

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबार सो सैनिक अभ्यास सुरु भएको हो ।

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ ।

यसमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । 

उत्तर कोरियाले गत महिनामात्र पनि समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । यसका साथै त्यो भन्दा अघि उत्तरले हानेको यस्तो क्षेप्यास्त्र जापानको समुद्रमा परेको थियो ।

गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरिएको केही महिनामात्र अघि उनीहरुले जनाएका थिए ।

उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ ।

साथै यस सैन्य अभ्यास बन्द नगरे आफूहरु पनि त्यसको जवाफका लागि बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ ।

सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकासमा छुनेमात्र प्रयास ग¥यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले जनाएको छ ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोेकेको छैन ।
(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू