अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’ सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर १७ गते २१:४६ मा प्रकाशित

डाँडै फुर्के सल्लो, मायालुको सहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा दर्जनौँ गीतका सर्जक नबराज पन्त आज नेपाली भूमिबाट धेरै टाढा छन् । तर एकपछि अर्को गर्दै गीत तथा सङ्गीतमार्फत उनी हामीमाझ निरन्तर उपस्थित छन् ।

अमेरिकामा बसेर नेपाली पाखा, पखेराको सपना देख्ने पन्तले पैसाका लागि लेख्दैनन् । उनको स्वदेशप्रतिको माया देखावटी छैन । उनले अमेरिकाको मेरिल्याण्डमा बसेर धौलागिरिको सेतो हिमालले पाखा पखेरामा प्रकाश छरेको, माछापुछ्रेले फेवातालमा डबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको, रोधी घरमा मौलिक नेपाली लोक भाका घन्काएको सपना देख्छन् ।

नेपाली खोलानाला, पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने सर्जक पन्तले हालै आफ्नो नयाँ गीत ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’ भन्ने बोलको गीत लोकसंगीतप्रेमी हामी सबैमाझ पस्किएका छन् ।

लोकगायक वसन्त थापा र विष्णु माझीको स्वरमा ल्याइएको उक्त गीतको भिडियोसमेत गायक थापाको यु ट्युबबाट सार्वजनिक भएको छ । अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको यस लोकभाकामा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको उत्कृष्ट अभिनय रहेको उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करण चैसिरले सम्पादन तथा विष्णु शर्माले छायाङ्कन गरेका छन् ।

नेपाली पाराको माया साट्न युवायुवती दोबाटोमा घण्टौँ कुरेर भेटमा एक शब्द साट्न नसकी लजालु आँखाले साइनो कसेको उनले अमेरिकी सहरमा मजदुरी गर्दा वा हिँड्दै गर्दा शब्दमा बुन्छन् र नेपालप्रतिको अथाह माया प्रकट गर्छन् आफ्ना सिर्जनामार्फत । आशा गरौँ उनको यो पछिल्लो प्रयासले पनि शिखर चुम्नेछ । (रासस)

प्रतिक्रिया