अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

छोरी जोगाउन खोज्दा आमा कठघरामा, अभियोग प्रमाणित भए ५ वर्षसम्म जेल

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २३:१४ मा प्रकाशित

छोरीले एलेमन्ट्री स्कुलमा बलियाले आतंकित पारेको गुनासो गरेपछि सारा सिम्स विद्यालय प्रशासनमा पुगिन् । उनका अनुसार भर्जिनियाको नर्फिकस्थित ओसिन भ्यू एलेमन्ट्री स्कुलले उनको गुनासो सुनुवाइ गरेन । त्यसपछि उनी आफैँ अनुसन्धान गर्ने निधोमा पुगिन् ।

उनले विद्यालयमा हुने गतिविधि रेकर्ड गर्न कक्षा ४ मा पढ्ने छोरीलाई ब्यागमा अडियो रेकर्डर हालेर स्कुल पठाइन् । तर, विद्यालय अधिकारीले रेकर्डर फेला पारे र कब्जामा लिए । अहिले सिम्स, जो आफैँ नर्फिक स्टेट युनिभर्सिटीकी विद्यार्थी हुन्, कानुनी सङ्कटमा छिन् ।

सिम्सलाई यही महिना नर्फिक प्रहरीले बालबालिकाको वायर, विद्युतीय वा मौखिक संवाद रेकर्ड गरेर कानुन तोडेको अभियोग लगाएको छ । ‘म पूर्णकालीन विद्यार्थी भएकाले सधैँ विद्यालय परिसर पुग्ने अवसर हुँदैन । विद्यालयको वातावरण बुझ्नु यो (अडियो रेकर्ड) नै राम्रो उपाय हो भन्ने लाग्यो,’ सिम्स, ४७, ले भनिन् । अभियोग प्रमाणित भए उनलाई ५ वर्ष सम्मको जेल सजाय हुन्छ ।

‘अभियोगले मलाई अचम्मित बनायो,’ सिम्सकी वकिल क्रिस्टिन पल्डिङले भनिन्, ‘सामान्य वार्तालाप प्राप्त गरेर आफ्नो जिज्ञासा मेटाउन खोज्दा विद्यालय प्रशासन प्रहरीकहाँ पुग्नु साँँच्चै उदेकलाग्दो छ । विद्यालय उनको जिज्ञासाबाट कसरि भाग्न सक्छ ?’

पल्डिङले भनिन्, ‘अडियो रेकर्डर बालबालिकाका लागि विद्यालय सुरक्षित छ÷ छैन भन्ने सुनिश्चित गर्नका लागि थियो ।’ उनका अनुसार रेकर्डर नै विद्यालयले कब्जामा लिएपछि सिम्सले त्यसबारे जान्न सकिनन् ।

नर्फिक प्रहरीले घटनाबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । प्रहरीले उजरी पनि सार्वजनिक गरेको छैन । भर्जिनियामा आफ्नो आवाज समावेश भएको अरूसँगको वार्तालाप रेकर्ड गर्न वा एकजनाको पूर्व अनुमति भए वार्तालापमा सहभागी सबैको आवाज रेकर्ड गर्न कानुनले स्वीकृति दिएको छ ।

मुद्दा अघि बढाउने जिम्मेवारी भएको कर्फिक कमनवेल्थ्स् अटर्नी अफिसकी प्रवक्ता अमान्डा होवीले यस विषयमा अनुसन्धान नै सुरु नभइसकेको बताइन् । स्कुल डिस्ट्रिक प्रवक्ता खालिया लेग्राण्डले विचाराधीन कानुनी मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताइन् । सिम्सले अघिल्लो महिना घटेको यस घटनामा विद्यालयले आपूmलाई नभएर किन प्रहरीलाई बोलाएको हो भन्ने बुझ्न नसकेको बताइन् । ‘मेरी छोरी विद्यालयमा आतंकित बनेकी यो पहिलो घटना होइन,’ उनले भनिन्, ‘तेस्रो कक्षामा पनि मेरी छोरीलाई पेटमा लात्तले हानिएको थियो । उनलाई खेल मैदानमा खेल्ने डोरीले पिटिएको थियो । त्यति बेला पनि विद्यालयले मलाई जानकारी दिएको थिएन ।’

उनका अनुसार असुरक्षित महसुस गरे विद्यालय जान डराएपछि उनले छोरीलाई त्यति बेला विद्यालयबाट निकालेकी थिइन् । यो विद्यालयमा पनि आतंकित बनाइएपनि उनकी छोरी त्यसलाई सामना गर्दै सकारात्मक रहन कोसिस गरिरहेको उनले बताइन् । ‘म मेरो छोरीको पक्षमा छैन,’ उनले भनिन्, ‘म निस्पक्षता रहोस् भन्ने चहान्छु ।’ सिम्सकी छोरी अहिले पनि त्यही विद्यालयमा पढिरहेकी छिन् । तर, उनलाई छुट्टै कक्षामा राखिएको छ । सिम्सको सुनुवाइ जनवरी १८ मा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू