अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

बालीको विमानस्थल बुधवार सञ्चालनमा आउने

बिआरटीनेपाल २०७४ मंसिर १३ गते ९:४७ मा प्रकाशित

इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण गएको तीन दिनदेखि बन्द रहेको बालीको विमानस्थल बुधवारबाट सञ्चालनमा आउने भएको छ । इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण उक्त सहर प्रदूषित हुनुका साथै सो विमानस्थलबाट उडान पनि तीन दिनदेखि रोकिएको जनाएका थिए । केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविष्यवाणी गरिएको थियो । त्यसैले मङ्गलवार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको थियो ।

ज्वालामुखीको खरानी निकै ठुलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पु¥याउने बताइन्छ । त्यसैले मङ्गलवार पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो । बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्ले ज्वालामुखीको खतराको भविष्यवाणी गरेका छन् ।

सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरूलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ । बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बाली एनगुरह राई विमानस्थल बुधवार अपरान्ध ३ बजेदेखि सुचारु हुने भएको छ, उक्त विमानस्थलका प्रवक्ता आरी आसानुरोहिमले बताउनुभयो । त्यसअघि बालीको वातावरणमा खरानीको मात्राको परीक्षण गर्ने र यसपछि लगत्तै विमानस्थल सुचारु गर्ने बारेमा सूचना जारी गरिने छ, उहाँले जानकारी दिनुभयो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू