अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

कतार प्रदेश नं १ को समन्वय समिति गठन

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ६:०४ मा प्रकाशित

नेपालमा नयाँ संविधान निर्माण पश्चात् भएको राज्य पुर्नसंरचनाको कार्यन्वयको क्रममा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुनु केही दिन अगाडि कतारमा प्रदेश स्तरिय संस्था स्थापना भएको छ । विशेष गरी कतार स्थापित भई कतार र नेपालका आ–आफ्नो क्षेत्रमा उल्लेखनीय गतिविधिहरू गरिरहेका १ नं. प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरूलाई समन्वय गर्ने उद्देश्यका साथ प्रदेश नं. १ समन्वय समिति गठन भएको छ ।

प्रदेश १ नं.अन्तर्गतका जिल्ला संस्थाका प्रमुख, पूर्व प्रमुख, अग्रज तथा प्रतिनिधिहरूको भेलाले चुडामणी कार्की (झापा) को संयोजकत्वमा प्रकाश गुरुङ (खोटाङ) र रामसागर मेहता (सुनसरी) सह–संयोजक, टि. एन. बराल (मोरङ) सदस्य-सचिव, गोपाल खतिवडा (ताप्लेजुङ)आर्थिक संयोजक एवं प्रदेश नं. १ का १४ वटा जिल्लाबाट १/१ जना प्रतिनिधि सदस्य रहने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिले विधान वा कार्यसम्पादन निर्देशिका बनाउने लगायतका आवाश्यक तयारी सम्पन्न गरी चाडै नै साधारण सभा आयोजना गर्ने छ । समितिलाई आवाश्यक सुझाव, सल्लाह तथा ऊर्जा प्रदान गर्न १५ जना अग्रज व्यक्तित्वहरुलाई समितिको सल्लाहकार चयन गरिएको छ । जसमा टि. बि. कार्की, उमेश अधिकारी, विनोद भट्टराई, बिनेश तामाङ, कुमार कार्की, नवीन पोख्रेल, राम गुरुङ, दिल किरण खजुम, लोक बहादुर तामाङ, छबिरमण कटुवाल, तुल्सी सुवेदी, चेतनारायण श्रेष्ठ, नरेश श्रेष्ठ र हरि कुमार बस्नेत छन् ।

यो समितिले जिल्ला संस्थाहरूलाई आधार मानेर तिनका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन आवाश्यक सहयोगात्मक कार्यहरू गर्ने, संस्थागत, सामाजिक नेतृत्व विकास उत्प्रेरक भूमिका निर्वाह गर्ने, समग्र १ नं. प्रदेशको सरोकार रहने बिषयहरुलाई साझारुपमा अघि बढाउने, प्रादेशिक स्तरका मानवीय, कल्याणकारी, सांस्कृति, साङ्गीतिक, सामाजिक गतिविधिहरू सञ्चालन गर्ने र कतारको नेपाली समाजमा प्रदेश नं. १ को अझ जिम्मेवार एवं प्रभावकारी उपस्थिको लागि समन्वयात्मक भूमिका खेल्ने बताइएको छ । आजको भेला अशोक कुमार तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू