अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

अण्डा आतन्क, साथै त्यसबाट कसरी बच्ने

बिआरटीनेपाल २०७४ मंसिर ८ गते ११:५४ मा प्रकाशित

‘राति अचानक विण्डस्क्रिनमा कसैले अण्डाले हान्यो भने कार रोकेर के भएको हो भन्ने पत्ता लगाउन नखोज्नुहोस् । वाइपरले फुटेको अण्डा पनि नपुच्नुहोस् । र, विण्डस्क्रिन पखाल्न स्प्रे त गर्दै नगर्नुहोस् । किनभने, अण्डा पानीमा मिसिएपछि दूधजस्तो सेतो हुन्छ र त्यसले तपाईँको दृश्य ९२ दशमलव ५ प्रतिशत घटाइदिन्छ र कार रोक्न बाध्य पारिदिन्छ । त्यसपछि तपाईँ अपराधीको सिकार बन्नुहुन्छ । यो अपराधी गिरोहहरुको नयाँ तरिका हो । कृपया आफ्नो साथीभाइ र नातेदारलाई पनि यसबारे जानकारी गराउनुहोला । सबैभन्दा महत्त्वपूर्ण पक्ष यो सन्देश शेयर नगरेर स्वार्थी नबन्नुहोला ।’

के तपाईँलाई पनि यस्तो सन्देश आएको छ ? त्यो पनि प्रहरीको आधिकारि सूचना भन्दै ? आएको छ भने के गर्नुहुन्छ ? बेला बेला यस्तो सन्देश इमेल, फेसबुक, म्यासेन्जर र अन्य सोसल मिडिया वा मोबाइल फोनमा आइरन्छ । त्यसले सुनसान बाटोमा राति सवारी साधन चलाउनु पर्ने बाध्यता रहेका कतिपयलाई आतंकित पनि पार्छ । तपाईँ त्यसरी आतंकित बन्नु भएको छ ? छ भने अगाडि पढ्नुहोस् ।

तपाईँलाई आउने अर्को सन्देश यस्तो हुनसक्छः
‘तपाईँमाथि भएको छैन भने पनि सचेत रहनका लागि यो महत्त्वपूर्ण चेतावनी हो । यो चुटकिला होइन । यस्ता घटना अहिले घटिरहेका छन् ।

बिहीबार बिहान गाउँतिर हुइँकिरहँदा मैले सडक छेउ बच्चाको कार सिट देखेँ । सिट ब्ल्यांकेटले ढाकिएको थियो । मनमा विभिन्न तर्कना आए । तर, मैले कार रोकिन ।’ गन्तव्यमा पुगेपछि मैले प्रहरीलाई खबर गरेँ । प्रहरीले के सल्लाह दियो थाह छ ?

प्रहरीले थुप्रै कुरामा सचेत रहन भन्यो । त्यस अनुसार, अपराधी गिरोह र चोरहरु कार रोकेर मान्छे खास गरी महिला बाहिर आइदिउन भन्ने विभिन्न तरिका अपनाउँछन् । कसैले बच्चा फालेको भन्ने भान पार्न सडक छेउ कार बेबी सिट राखिदिन्छन् । कार बेबी सिट प्रायः जङ्गल वा घाँसे मैदान छेउ हुन्छ । कार रोक्ने महिलालाई यस्ता गिरोहले घिसारेर जङ्गलभित्र लैजान्छन् । पिट्छन् । बलात्कार गर्छन् । लुट्छन् । र, सायद मर्न छाडिदिन्छन् । पुरुषलाई पनि पिट्छन् । लुट्छन् । र, सायद मर्न छाडिदिन्छन् ।

कुनै पनि हालतमा कार नरोक्नुहोस् । ९११ मा फोन गर्नुहोस् ।’

यो सूचना सन् २००९ देखि विभिन्न शैलीमा बेला बेला फैलिरहेको छ । सूचनामा कतै न कतै प्रहरीलाई जोडिएको हुन्छ । वा, प्रहरीकै लेटरहेडमा सूचना जारी गरिएको हुन्छ । एकान्त सडकमा यात्रा गरिरहँदा बच्चा रोएको सुनेर कार रोक्ने महिला बलात्कार र लुटपाटको सिकार बनिन् भन्ने समाचार कुनै बेला इन्टरनेट/सोसल मिडियामा भाइरल बनेको थियो । त्यस्तै, गाडी रोक्न आदेश दिने नक्कली प्रहरी एउटी युवतीले कसरि चिनिन् र जोगिइन् भन्ने कथा पनि इन्टरनेट/सोसल मिडियामा नयाँ होइन ।

यी चल्तिका घटना वा कथा हुन् । यस्ता घटना वा कथा इन्टरनेटमा प्रशस्त पाइन्छन् । के यी घटना र कथामा सत्यता छ ? विन्डस्क्रिनमा अण्डा फाल्ने पहिलो घटना तर्फ लागौं ।

विन्डस्क्रिनमा अचानक अण्डा फुट्दा के भएको हो भनेर जाँच्न जो कोही पनि कार रोकेर बाहिर निस्कन सक्छ । त्यस्तो बेला ऊ लुटिन सक्छ । तर, होक्सस्लेयर डट कमका अनुसार आजसम्म यस्तो घटना घटेको प्रमाण फेला परेको छैन । होक्सस्लेयर डट कम कुनै घटना वा हल्लामा कति सत्यतता छ भनेर प्रमाण खोज्न स्थापित वेबसाइट हो ।

यद्यपि विण्डस्क्रिनमा अण्डा फालिएको एउटा घटना भने क्यानडाको रेजिना प्रहरीमा दर्ता भएको थियो । सिबिए डट सिएका अनुसार एउटी महिलाले फेसबुकमा आफ्नो कारको विण्डस्क्रिनमा अण्डा फुटेको तस्बिर राखिन र अण्डा हानेपछि कारको गति घटाउँदा थुप्रै मान्छेले खेदेको तथा कारको ढोका खोल्न खोजेको उल्लेख गरिन् । रेजिना प्रहरीले उक्त घटनामाथि अनुसन्धान गर्‍यो । तर, केही हात लागेन । त्यस्तै, यहाँ लिङ्कमा भएको यूट्युव भिडियोले विण्डस्क्रिनमा अण्डा फुटे र त्यसलाई स्प्रे गरेर वाइपरले हटाए चालकले गाडी रोक्नुपर्ने गरी दृश्यमा बाधा पार्दैन भन्ने पुष्टि गर्छ

बेबी कार सिटका सम्बन्धमा जारी भएको सूचनामा आफ्नो लेटरहेड प्रयोग भए पनि त्यो आफूले जारी नगरेको भनेर मेट्रोपोलिट पुलिस सर्भिसले आधिकारिक फेसबुक पेजमार्फत खण्डन गरेको छ । प्रमाण खोजेर घटना सत्य हो होइन भन्ने ट्याटनन्सेन्स डट कमका अनुसार बेबी कार सिट प्रयोग गरेर लुटपाट, बलात्कार वा हत्या भएको घटना अहिलेसम्म प्रमाणित छैन ।

यस्ता कथा शहरी दन्त्य हुन् जो समय समयमा बन्छन् र मानिसको दिमागमा लामो समय डेरा जमाएर बस्छन् । यस्ता दन्त्य कथा बन्ने स्रोत धेरै हुनसक्छ । जस्तो, कथा, फिल्म, डकुमेन्ट्री वा मानिसको परिकल्पना आदि । यसको स्रोत पत्रपत्रिका पनि हुनसक्छ । जस्तो, क्यानडाको टोरेन्टो स्टारले आप्रवासीले पाउने सुविधाका सम्बन्धमा सन् २००४ मा एउटा समाचार लेख्यो जसमा भनिएको थियो, ‘शरणार्थीलाई मोन्ट्रयल, टोरोन्टो र भ्यान्कुभरबाट बाहिर लैजाने रणनीति अनुरूप हरेकलाई सुरुमा १ हजार ८ सय ९० डलर र मासिक ५ सय ८० डलर भत्ता पाउने छन् । साथमा उनीहरूलाई एउटा ल्याम्प, एउटा कुर्सी र एउटा खाट दिइन्छ ।’

यो समाचारलाई मानिसले शरणार्थीले देशलाई ४० वर्ष सेवा गर्ने अवकाशप्राप्त व्यक्तिले पाउने भन्दा धेरै रकम पाउँदैछन् भन्ने बुझे । समाचार लेख्ने पत्रकारलाई त्यस सम्बन्धमा एउटा भावुक इमेल पनि आयो । पत्रकारले इमेल पठाउने मानिसलाई खण्डन पठायो । तर, त्यो इमेल ठेगाना बन्द भइसकेको थियो । त्यसअघि नै त्यो इमले सयौँ मानिससम्म पुगिसकेको थियो । टोरेन्टो स्टारमा समाचारको तथ्य परीक्षण नगरी यस्तो पाठकपत्र समेत छापियो– ‘शरणार्थीले १ हजार ८ सय ९० डलर र ५ सय ८० डलर गरी मासिक २ हजार ४ सय ७० डलर पाउने, देशलाई ४० वर्ष सेवा गर्नेले मासिक १ हजार १२ डलरमात्र पाउने ? अव अवकाशप्राप्त मानिसले शरणार्थी बन्न किन आवेदन नदिने ?’ यो समाचारले टोरोन्टो स्टारलाई लामै समय पिरोल्यो ।

दन्त्य कसरि बन्छ भन्ने यो एउटा उदाहरण हो । हामीसँग थुप्रै दन्त्य कथा छन् । कतिपयमा केही सत्यता पनि होलान् । तर, दी एट्लान्टिक डट कममा प्रकाशित एउटा लेख ‘दी स्ट्रेन्ज अरिजिन्स अफ अर्बान लिजेन्ड’ का अनुसार पछिल्ला अध्ययनहरुले मानिसले निश्चित कुरा लामो समय सम्झिने देखाएको छ । लेख अनुसार मानिसहरू स्वभावतः आफूलाई जोगाउन सहयोग पुग्ने दन्त्य लामो समय सम्झिन्छन् । झुटको खेती चलाउने दन्त्य कथाहरू लामो समय रहनुको कारण त्यही हो ।

त्यसबाहेक, यस्ता दन्त्यहरु निर्माण गरिनु अथवा झुटको खेती हुनुको अर्को कारण पनि छ । उक्त लेखका अनुसार गलत कुराहरू मानिसले धेरै ‘रेटिङ’ गर्छन् । वेबसाइटको रेटिङ बढे त्यसको कमाइ बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू