अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

नाटक ‘महादान’ गाउँ-गाउँमा पुगेपछि मतदान शिक्षा लिनेकोे भिड

बिआरटीनेपाल २०७४ मंसिर ५ गते ५:४६ मा प्रकाशित

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्य रहेको नाटक ‘महादान’ यतिबेला देशको बिभिन्न स्थानमा मञ्चन भइरहेको छ । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मँसिरको निर्वाचनलाई मध्यनजर गरेर बिभिन्न भागमा फैलिएका २० नाट्य टोली नाटक महादान मार्फत मतदान शिक्षा बाँड्न सफल देखिएका छन् । कतिपय स्थानीय नाट्यकर्मीले आफ्ना जिल्लामा नाटक मञ्चन सम्पन्न गरिसकेका छन् ।


सोही क्रममा मंगलबार पनि मुलुकका ६ ओटै प्रदेशमा नाटक महादान मञ्चन गर्दै कलाकारले दर्शकलाई मनोरञ्जन सहित निर्वाचन शिक्षा दिन सफल भएका छन् । मंगलबार प्रदेश १ को हाम्रो थिएटरले ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको खमदेङ बजारमा, पाँचथरको फिदिम गाउँपालिकाको सामलाखु भञ्ज्याङमा, याङतरक गाउँपालिकाको खुर्प बजारमा महादान मञ्चन गरे । स्थानीय नृत्य, गायनसँगै त्यहाँको भेषभुषामा नाटक मञ्चन गर्दा दर्शकको उल्लेख्य उपस्थिति रहेको निर्देशक प्रेम ओझाले जानकारी गराए ।

प्रदेश १ मा २९ कात्तिकबाट नाटक महादान लिएर सोलुखुम्बु पुगेको भ¥याङ नाट्य समुहले विभिन्न चार स्थानमा नाटक मञ्चन गरिसकेका छन् । जस अन्तर्गत सोलुखुम्बु दुधकुण्ड गाउँपालिकाको सल्लेरी बजार र काखुमा, नोचा सल्यान गाउँपालिका वडा नम्बर ६ र नेने गाउँमा नाटक महादान मञ्चन गरेको सो समुहकी निता चाम्लिङले बताईन् । निताका अनुसार भ¥याङ नाट्य समुहले ओखलढुँगाको रमाईलो डाँडा बजार, रामपुर बजार, माने भन्जयाङ गाउँपालिकाको केतुके र सुनकोशी गाउँपालिकामा नाटक महादान मञ्चन गरेर निर्वाचन शिक्षा दिएको छ ।

नाटक महादानलाई मंगलबार स्थानीय तामाङ भाषाको समेत प्रयोग गरेर प्रदेश ३ को सिन्धुपालचोकमा मञ्चन गरिएको छ । स्थानीय नाट्य समुह आवाज आर्ट क्रियसनले स्थानीय इन्द्रावती गाउँपालिकाको नवलपुर बजार, चौतारा नगरपालिकाको चौतारा बजार, जुगल गाउँपालिकाको ढाडे बजारमा सडक नाटक महादान मञ्चन गरेको सो समुहका निर्देशक कृष्णप्रसाद धितालले जानकारी गराए ।

सांस्कृतिक संस्थानका कलाकार समुहले मंगलबार प्रदेश ३ कै दोखलाको सैलुङ गाउँपालिकाको बाघखोर, मेलुङ गाउँपालिकाको मेलुङ बजारमा यो सडक नाटक मञ्चन गरेको टोली प्रमुख आकाश थापाले जानकारी गराए । सांस्कृतिक संस्थानकै कलाकारहरुको अर्को समुहले नाटक महादानलाई मंगलबार रामेछाप स्थित रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको बसपार्कमा मञ्चन गरेको टोली व्यबस्थापक पवित्रा पँगेनीले बताईन,‘बसपार्कमा हाम्रो नाटक हेर्ने दर्शकको भिड थामिनसक्नु थियो । रामेछाप नगरपालिकामा पनि ३ सय भन्दा बढी दर्शकले महादान नाटकसँग रमाउँदै मतदाता शिक्षा हाँसिल गरे ।’

प्रदेश ३ कै रसुवाको नौकुण्ड गाउँपालिकाको सर्सिउँ र पार्वती कुण्ड गाउँपालिकाको चिलिमेमा नाटक महादान मञ्चन गरेको सप्तक कला प्रतिष्ठानका नाटक निर्देशक दामोदर खतिवडाले जानकारी गराए । उनका अनुसार नाटक हेर्न वरपरका गाउँबाट पनि दर्शक आएका थिए ।
प्रदेश ४ को लमजुङ स्थित दुधपोखरी गाउँपालिकाको गौंडा बजार, जोर्दी गाउँपालिकाको शेरा बजार, बेशीशहर नगरपालिकाको बेशीशहर बजारमा मंगलबार आफुले सडक नाटक महादान मञ्चन गरेको हिमाली रंगमञ्चका हरि अधिकारीले जानकारी गराए । मंगलबार नै रंगकला समुहले मनाङको नासोङ गाउँपालिकाको धारापानीमा सडक नाटक महादान मञ्चन गर्दा स्थानीयहरु नाटकमा रमाएको निर्देशक रामबाबु रेग्मीले बताए । उनीहरु नौ घन्टाको पैदल यात्रापछि सो ठाउँमा पुगेर नाटक मञ्चन गर्न सफल भएका हुन् ।

मंगलबार सिड नेपालले प्रदेश ४ को बाग्लुङ स्थित काठखोला गाउँपालिकाको बूर्तीबाङ बजारमा सडक नाटक महादान मञ्चन गरेको निर्देशक गोबिन्द पहाडीले जानकारी गराए । बूर्तीवाङमा दर्शकहरुले नाटक हेरेपछि निर्वाचनमा मतदान बारे जिज्ञाँसा राखेको पनि उनले बताए ।

यस्तै मंगलबार नै प्रदेश ७ को बाजुर स्थित बढीगँगा नगरपालिका, सिँगडा गाउँमा, त्रिबेणी नगरपालिकाको टोली बजारमा, बडीमालिका नगरपालिको मार्तडी बजारमा स्थानीय सु.प. सांस्कृतिक मञ्चले सडक नाटक महादान मञ्चन गरेको छ । दुई दिनको पैदल यात्रा पछि त्यहाँ पुगेर आफुहरुले गाजा बाजा सहित नाटक देखाउँदा स्थानीय बासिन्दा कामै छाडेर हेर्न आएको यो समुकका निर्देशक अनिल रिजालले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू