अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

काँग्रेस जत्तिको अर्को पार्टी नेपालमा मात्र होइन दक्षिण एशियामा नै छैन – नेता प्रदीप गिरि

बिआरटीनेपाल २०७४ मंसिर १ गते २३:३६ मा प्रकाशित

नेपाली काँग्रेसलाई भोट दिने आधारका बारेमा नेता प्रदीप गिरिको  प्रस्तुति

 

आम निर्वाचनको प्रचार संग्राममा तपाईंहरुले मलाई आफ्नो कुरा र मेरो पार्टी नेपाली कांग्रेसको कुरा भन्ने मौका दिनुभएकोमा सर्वप्रथम म तपाईंहरुलाई धन्यवाद दिन्छु र हाम्रा मतदातालाई अभिवादन गर्दछु ।

मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपाली काँग्रेसका निर्वाचित जिल्ला सभापति हनुहुन्थ्यो । लामो समयसम्म झण्डै आजीवन सभापति रहनु भयो । मेरा काका रुद्रप्रसाद गिरि काँग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो । म स्वयम् विधिवत रुपले काँग्रेसमा लागेको ५० वर्षभन्दा वढी भैसक्यो । भण्डै १४–१५ वर्ष नपुग्दै काँग्रेसमा लागेको हुँ । यसबीच बंशजका नाताले कांग्रेस हुँ भन्नेहरु जस्तै मलाई कहिल्यै अनुभुति भएन । र काँग्रेस पार्टीमा रहदा पनि मैले जहिल्यै पनि काँग्रेसका नेताहरुसँग, वरिष्ठ नेताहरुसँग, सर्वमान्य नेताहरुसँग मात्र होइन काँग्रेसको विचारधारा प्रति पनि एक होइन अनेक पटक संका प्रकट गरेको छु । संका मात्र होइन मतभेद समेत देखाएको छु । मतभेद मात्र किन भन्ने संविधानसभाको एउटा प्रसंगमा त मैले पार्टी नेतृत्वलाई नटेरिकन संविधानसभाको बहिष्कार गर्ने आँट समेत गरेको स्मरण गराउन चाहन्छु ।

तैपनि म काँग्रेसमै किन छु त ? यसैसँग टासिएर किन बसेको छु त ? केही त्यस्तो कुरा काँग्रेससँग छ जो अरु पार्टीसंग छैन । यो प्रश्नको उत्तर म यसमा पाठकलाई दिन बसेको होइन् । यस प्रश्नले मलाई अझै आफैँलाई घच्घच्याउँछ । मुलुकमा धेरै पार्टी छन् । पद नै चाहिएको भएदेखि अर्को पार्टी बनाए भो । आफैँ अध्यक्ष बने भो । कतिपय नेताहरुले आफ्नै अध्यक्षतामा पार्टी खोलेका पनि छन् । जुन सुकै पार्टीमा अथवा जिताउँने पार्टीमा गए भो । कुनै पार्टीको लहर चल्यो भन्छन्, त्यो पार्टीमा लागे भो । तर मैले कहिल्यै पनि कुनै पदका लागि पार्टी भित्र र बाहिर राजनीति गरेको छैन् । तर त्यही पनि मेरो निष्ठा काँग्रेसमा छ । किन ?

काँग्रेस पार्टीले धेरै राम्रो ग¥यो, धेरै ठूलो उपलब्धी ग¥यो, मुलुकका समस्या समाधान गर्ने दिसामा प्रतिवद्ध भएर यो ग¥यो, त्यो ग¥यो भनेर चुनावको मुखमा भन्ने मान्छेहरु धेरै निस्केलान तर म त्यो भन्दिन् । नेतृत्वसँग मेरा केही मतभेद पनि छन् । ती मतभेद मैले धेरैपटक व्यक्त पनि गरेको छु ।

मुख्यतः एउटा कारणले म काँग्रेसमा छु । कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको त्यस पार्टीको आधारभूत जीवन दर्शनलाई, विश्वदृष्टिलाई, मूल्य र मान्यतालाई हेरेर लाग्ने हो । काँग्रेस पार्टीमा कमि कमजोरी धेरै छन् । मलाई यसबारेमा धेरै जानकारी छ । काँग्रेसको आफ्नै आधारभूत दर्शन छ । आधारभूत विचार छ । त्योसँग म पूर्ण सहमत छु । त्यति सहमत म अन्य कुनै पार्टीसँग छैन् । मुलुक भित्रका पार्टीसंग पनि छैन् । मुलुक बाहिर पनि छैन् ।

हामी स्वतन्त्रतालाई प्रमुख गुरु मान्दछौ । हामी कुनै गुरुवादलाई मान्दैनौं । तपाईंहरुलाईं थाहा छ प्रजातन्त्रको अत्यन्त सामान्य मान्यता के हो भने मुलुकको सवभन्दा शक्तिशाली व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री अथवा पार्टीको अध्यक्ष वा महासचिवलाई पनि निर्वाचनमा एक भोट गर्न दिइन्छ र मुलुकको सवभन्दा निमुखा, निर्धन व्यक्तिलाई पनि एक भोट गर्न दिइन्छ । हामीकहाँ वर्षमा एक पटक नाग पुजा हुन्छ । एक दिन कुकुर पुजा हुन्छ । पाँच वर्ष मै सही प्रजातन्त्रको सिद्धान्तले प्रधानमन्त्री वा राष्ट्रपतिलाई घरदैलो गरेर नमस्कार, नमस्कार गर्न बाध्य गराउँछ ।

तपाईंले भन्न सक्नुहुन्छ त्यो त एमालेले पनि गर्छ । यो त माओवादीले पनि गर्न सक्छ । यो अलि जटिल कुरो छ । बल्की सुक्ष्म कुरो छ । तर यस कुरामा फरक छ । उनीहरु सबै कम्युनिस्ट पार्टीहरुले व्यावहारिकताका रुपमा अहिले अर्को विकल्प नभएकोले हामीले यसमा आएको भन्ने गर्दछन् । सरसर्ती उहाँहरुले बोलेको कुरा पनि यही छ ।

हिजो माले, एमाले वा आजका माओवादी यही भनेर प्रजातन्त्रलाई उपयोगको वस्तु बनाएका छन् । तर उनीहरुको दस्तावेज भाषा प्रजातन्त्र वा लोकतन्त्रको पक्षमा देखिदैन । विश्व राजनीतिले गर्दा भूमण्डलीकरणले गर्दा उहाँहरु बदलिन बाध्यमात्र हुनुपरेको हो । तर त्यो वदलाव राजनीतिक स्तरमा छ । कार्यनीतिक स्तरमा छ  र रणनीतिक स्तरमा छ तर सैद्धान्तिक स्तरमा छैन् । नेपाली काँग्रेस बहुलबाद र खुल्ला समाजमा विश्वास गर्ने पार्टी हो । स्वतन्त्र विचारधारामा विश्वास गर्ने पार्टी हो । खुल्ला समाजमा विश्वास गर्ने पार्टी हो । त्यस पार्टीले मलाई आफ्नो वाक स्वतन्त्रताको अधिकारलाई निर्वाधरुपले प्रयोग गर्न दिएको छ । निर्वाध रुपले अराजक हुन समेत अधिकार दिएको छ । त्यो बामपन्थी पार्टीहरुले दिदैनन् । एउटा डा. बाबुराम भट्टराईजस्तो मान्छेलाई माओवादीमा अटाउँन गाह्रो प¥यो । माओवादीमा मात्र होइन् तथाकथित वामगठवन्धनमा समेत अटाउँन गाह्रो प¥यो । तर बाबुराम भट्टराईका तुलनामा हरेक प्रश्नमा अत्यन्त ज्यादा अग्रगामी भूमिका मैले गर्दागर्दै पनि मलाई नेपाली काँग्रेसले सिंगो राजनीतिक जीवनमा एउटा सामान्य स्पष्टिकरण समेत सोधेको छैन् ।

पार्टीमा धेरै कुरामा स्पष्टिकरण सोधिन्छ । भ्रष्टचार गरेकोमा सोधिन्छ, अपमान गरेकोमा सोधिन्छ, अनुशासन उलंघन गरेकोमा सोधिन्छ । गलत व्यवहार गरेकोमा सोधिन्छ । तर व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति गर्दा नेपाली काँग्रेसले कसैलाई स्पष्टिकरण सोधेको छैन् । त्यसको प्रमाण म हुँ । म भन्दा आफू खुशी बोल्ने, आफू खुशी लेख्ने कुनै अर्को व्यक्ति नेपालमा छैन् होला । तर पार्टीको म प्रति सहिष्णु दृष्टिकोण छ । सहिष्णु मात्र होइन आदरपूर्ण दृष्टिकोण राखेको छ ।

यस पार्टीका नेता तथा समर्पित कार्यकर्ताहरुले मलाई हरेक महाधिवेशनमा स–सम्मान केन्द्रीय सदस्यमा जिताएका छन् । यसलाई गर्व गरेको भन्नु होला, मेरा काँग्रेसका मतदाता रिसाउलान । मैले आदरणीय मतदाताहरुलाई काँग्रेस पार्टीको महाधिवेशनमा भोट समेत माग्नु परेको छैन् । त्यसैले यो विल्कुलै बेग्लै खाल्को पार्टी हो । मलाई लाग्दछ कि आजको दक्षिण एसियामा नेपाली काँग्रेस जस्तो एउटा स्वस्थ र सवल परम्परा बोकेको अर्को कुनै पार्टी छैन् । नेपाली काँग्रेस जत्तिको अर्को पार्टी नेपालमा मात्र होइन बरु दक्षिण एशियामा छैन् । तुलना गर्नु भए हुन्छ । भएका राजनीतिक पार्टीहरुमा नेपाली काँग्रेस एक मात्र सर्वश्रेष्ठ पार्टी हो भन्दिन् । सवै पार्टीमा विकृति छन् । पार्टी व्यवस्था यस्तै हुँदो रहेछ । विगत दशकमा नेपालमा पार्टीको अवस्थामा झन खराबी देखिएको छ । हाम्रो पार्टी मात्र राम्रो छ भन्दिन, यसमा थुप्रा खराबी होलान । यो कमिकमजोरीहरु तपाईंहरुले बाहिरबाट देख्नु भएको होला । मैले भित्र पसेर देख्या छु । तर बाहिर र भित्र दुवैको निभ्रान्त, निसंकोच र वस्तुनिष्ट अध्ययन गर्न तपाईंहरुलाई म आग्रह गर्न चाहन्छु । नेपालका सवै पार्टी खराब होलान् । तर सवभन्दा कम खराव नेपाली काँग्रेस हो । त्यसैले म सबै मतदाताहरुलाई सिंगो नेपाली कांग्रेसलाई र व्यक्तिगत रुपमा मेरा मतदाताहरु मलाई अमूल्य मतदान गर्न सादर अनुरोध गर्दछु

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू