अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

नेपाल पहिलो पटक ग्लोबन बोर्डमा निर्वाचित

बिआरटीनेपाल २०७४ मंसिर १ गते ११:२४ मा प्रकाशित

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा १४ देखि १७ नोभेम्बरसम्म भएको ग्लोबल कङ्ग्रेस तथा आइसीएको साधारण सभाबाट राष्ट्रिय सहकारी महासङ्घकी उपाध्यक्ष ओमदेवी मल्ल १५ सदस्यीय ग्लोबल बोर्ड सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल सन् १९९७ देखि आइसीएको सदस्य भएको भए पनि पहिलो पटक ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको राष्ट्रिय सहकारी महासङ्घले जनाएको छ । राष्ट्रिय सहकारी महासङ्घ देशभरि रहेका ३४ हजारभन्दा बढी सहकारी संघ÷संस्था र ६० लाखभन्दा बढी सहकारीकर्मीको साझा सङ्गठन हो ।

मल्ल अन्तर्राष्ट्रिय सहकारी महासङ्घ(आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासङ्घले नेपालको सहकारी अभियानका लागि यो ठुलो उपलब्धि भएको बताएको छ । विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रूपमा यो विजयीलाई लिएको महासङ्घका महाप्रबन्धक रामभजन शाहले बताउनुभयो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घ विश्व सहकारी अभियानको छाता सङ्गठन हो । विश्वका ९५ भन्दा बढी देशका सहकारी अभियानका शीर्ष निकायहरू यसमा आबद्ध छन् । विश्व सहकारीको मूल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासङ्घले गर्दछ ।

पूर्व सांसद् तथा सविधानसभा सदस्य मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील हुनुहुन्छ । उहाँ राष्ट्रिय सहकारी महासङ्घकी पहिलो महिला उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रूपमा समेत नेपाल सरकारबाट नियुक्ति भई कार्य गर्नुभएको अनुभव छ । भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उहाँ नेपालको पहिलो महिला सहकारीकर्मी हुनुहुन्छ भने उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकत्तर हासिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू