अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

मंसिर १० र २१ मा सार्वजनिक विदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह

बिआरटीनेपाल २०७४ मंसिर १ गते ८:१८ मा प्रकाशित

निर्वाचन आयोगले १० र २१ मंसिरमा सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । आयोगले प्रतिनीधिसभा र प्रदेशसभाको पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि १० मंसिर र दोस्रो चरणमा ४५ जिल्लामा हुने निर्वाचनका लागि २१ मंसिरमा सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको हो । आयोगले १ मंसिर २०७४ को निर्णयअनुसार विदा दिन सरकारलाई आग्रह गरिएको जनाएको छ ।

‘सार्वजनिक यातायात सञ्चालन नहुने र अधिकाश कर्मचारी निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सरकारी÷अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको’ आयोगका विज्ञप्तिमा उल्लेख छ ।

आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा ७ देखि १० मंसिरसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा १८ देखि २१ मंसिरसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक विदा दिनसमेत सरकारसँग आग्रह गरेको छ । अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान व्यवस्थापनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मी तीन दिन अगाडि मतदान केन्द्रमा पुग्नुपर्ने जनाउँदै विद्यालय र क्यापसमा चार÷चार दिन विदा सरकारसँग आग्रह गरेको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन केन्द्रका रुपमा स्थानीय तह कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द लगायतका सार्वजनिक भवन प्रयोग हुने भन्दै पहिलो चरणका निर्वाचनका लागि ७ देखि १० मंसिर र दोस्रो चरणको निर्वाचनका लागि १८ देखि २१ मंसिरसम्म ती भवन उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू