नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गर्नुभएको छ । कार्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भएपनि नेता सिंहले आज मात्र निर्वाचन क्षेत्र नं। १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चुडाराज उप्रेतिलाई वौद्धिक र निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिनुभएको हो ।
उहाँले घरदैलोको क्रममा काठमाडौँको वडा २९ घट्टेकूलो मतदातासँग भेटघाट गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले यसअघिको समय सविधान जारी गर्नेक्रममा बितेकाले आफ्नो क्षेत्रको विकास निर्माणको काम अधुरो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘ मैले सविधान जारी गर्नेक्रममा भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण काम गर्नुछ , आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरुको मतदान चाहिएको छ ।’’
अब देशलाई समृद्धिको बाटो लैजाने काम काँग्रेसले मात्र गर्न सक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अुधरो रहने बताउनुभयो ।