अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

सार्कलाई गति दिन ‘ट्रयाक टु’ पहलहरुको आवश्यकता छ – डा. स्वर्णीम वाग्ले

बिआरटीनेपाल २०७४ मंसिर १ गते ५:०८ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई गति दिन दक्षिण एसियाली आर्थिक सम्मेलन जस्ता कूटनीतिमा ट्रयाक टु भनिने पहलहरुको आवश्यकता रहेको बताउनु भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसिया आर्थिक सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै आयोगका उपाध्यक्ष वाग्लेले ट्रयाक टु पहलहरुले सार्कलाई जीवन्त राख्ने हुँदा ट्रयाक टु नामक पहलहरुको आवश्यकता रहेको बताउनु भएको हो ।

उपाध्यक्ष वाग्लेले क्षेत्रीय मुद्दाहरुमा सार्क क्षेत्रभर छलफलको वातावरणलाई संस्थागत गर्न आवश्यक रहेको पनि औंल्याउनु भएको छ ।

कूटनीतिमा ट्रयाक टु को अर्थ सरकार बाहिरबाट हुने पहलकदमीहरुलाई बुझिन्छ । सम्मेलनको पूर्ण सत्रमा, सेन्टर फर पोलीसी डायलग बंगलादेशका अध्यक्ष प्राध्यापक रेहमान सोभानले सार्कलाई उद्देश्यतर्फ अघि बढ्नबाट रोक्न खोज्नु कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै सार्क देशहरुबीच जीवन्त र घनीभूत एकता कायम गर्न नागरिक समाजले ठोस पहल गर्नुपर्ने बताउनुभयो ।

पाकिस्तानस्थित सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्यूटका कार्यकारी निर्देशक अविद क्युमले सार्क मोटर भेहिकल सम्झौतामा पाकिस्तानको तत्परता नरहेपनि सार्क अघि बढ्न सक्ने बताउँदै यस्ता सम्मेलनहरुले सार्कलाई अघि बढाउन पूरकको काम गर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगका सामाजिक विकास महाशाखाका एसिया प्रशान्त क्षेत्रीय निर्देशक नागेश कुमारले छिमेकी देशहरुबीच सहोदर द्वन्द्व वास्तविक यथार्थ रहेको चित्रण गर्दै यसले क्षेत्रीय सहयोगलाई अघि बढ्नबाट रोकेको बताउनुभयो । यद्यपि दक्षिण एसिया आर्थिक सम्मेलनजस्ता पछिल्लो समय देखिएका आकस्मिक प्रगतिहरुले क्षेत्रीय एकतालाई अघि बढाउने संवाहकको रुपमा देखिएको उहाँको टिप्पणी थियो ।

इन्स्टिच्यूट अफ पोलीसी स्टडीज श्रीलंकाका दुश्नी रेकनले हरेक देशहरु आफ्नै उल्झनमा रहेकाले क्षेत्रीय प्रक्रियाले गति लिन नसकेको भन्दै यो अवस्था चाँडै नै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले आर्थिक वृद्धिमा बढावा दिई क्षेत्रीय अर्थतन्त्रलाई टेवा दिन सक्ने साना मझौला उद्यम समेतका सेवा व्यापारलाई प्राथमिकता दिन आग्रह गर्दै सेवा व्यापारमा सार्क सम्झौतालाई तत्काल लागू गर्नुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनको अन्तिम दिन पनि विभिन्न समानान्तर सत्रहरु आयोजना भएको थियो । पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले क्षेत्रीय उर्जा सहयोग सम्बन्धि कार्य सत्रका क्रममा, बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई पहिचान नगरी स्वच्छ उर्जाको बारेमा मात्र जलविद्युत्लाई सीमित गर्दा क्षेत्रीय उर्जा सहयोगका लागि वातावरण तयार हुनुको सट्टा जटिलता थपिएको बताउनुभयो । उहाँले उर्जा उपभोक्ताहरुले विद्युत् खपत गर्दा किसानहरुले निःशुल्क सिंचाई सुविधा प्राप्त गर्ने लगायत बहुउद्देश्यीय आयोजनाहरुको सुन्दरताका विभिन्न आयामहरुमा चर्चा गर्नुभयो ।

सम्मेलनका क्रममा वक्ताहरुले क्षेत्रीयताका कमीकमजोरीहरुका सम्बन्धमा छलफल गर्दै समाधानका उपायहरुका सम्बन्धमा समेत छलफल गरेका थिए । केही वक्ताहरुले उपक्षेत्रीय सहयोगका चर्चा परिचर्चाले क्षेत्रीय एकतालाई कमजोर बनाएको टिप्पणी गरेका थिए भने केहीले क्षेत्रीय एकताका लागि विगतमा यस्ता पूरक पहलहरु उपलब्ध नरहेको र यस्ता गतिविधिहरुबाट क्षेत्रीय एकतालाई मजबुत गरी यसबाट लाभ लिनुपर्ने मत बलियो बन्दै गएको तर्क गरेका थिए ।

वक्ताहरुले आफ्नो मन्तव्यका क्रममा उदीयमान चीनको बारेमा चर्चा गरेका थिए । सम्मेलनका क्रममा सार्क देशहरुबीच आर्थिक सम्बन्धमा चीनको केन्द्रीयतालाई स्वीकार गर्दै चीनलाई सामूहिक उपक्षेत्रीय मञ्चहरुमा ठाउँ दिनुपर्ने धारणाहरु पनि आएका थिए । चीन सार्कको प्रेक्षकको रुपमा रहेको छ र उसलाई संवाद साझेदारको रुपमा निम्त्याएर प्रगाढ क्षेत्रीय एकताका चुनौतीहरुमा छलफल गर्नुपर्ने सम्मेलनका वक्ताहरुले बताएका थिए ।

‘दक्षिण एसियामा समावेशी र दीगो आर्थिक विकासका लागि प्रगाढ आर्थिक एकता’ विषयक दशौं दक्षिण एसिया सम्मेलन राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोमेन्ट (सावती) को संयुक्त आयोजनामा कार्तिक २८ देखि शुरु भई कार्तिक ३० मा सम्पन्न भएको हो ।

प्रतिष्ठीत अनुसन्धाता, प्राज्ञ, विज्ञ, कूटनीतिज्ञ लगायत विभिन्न ३०० भन्दा बढी सहभागीहरु रहेको उक्त सम्मेलनमा तीन दिनमा २० सत्रहरु सञ्चालन भएका थिए । सन् २००८ देखि सुरु भएको दक्षिण एसिया आर्थिक सम्मेलनको यो दशौं संस्करण हो । क्षेत्रीय थिंक ट्यांकहरु नेपालमा सावती, बंगलादेशमा सेन्टर फर पोलीसी डायलग, भारतमा रिसर्च एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रीज, पाकिस्तानमा सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्युट, तथा श्रीलंकामा इन्स्टीच्यूट अफ पोलीसी स्टडीज्ले पालैपालो सार्क देशहरुमा यो सम्मेलन आयोजना गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू