अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

मानक नेपाली वर्णविन्यासको मानक पुस्तक- डा. लक्ष्मणप्रसाद गौतम

बिआरटीनेपाल २०७४ कार्तिक ३० गते ८:१६ मा प्रकाशित

वर्णविन्यासबारे नेपाली व्याकरणका केही पुस्तकमा सामान्य चर्चा भएको देखिए पनि व्यवस्थित रूपमा मानक नेपाली वर्णविन्यासका सम्बन्धमा सहज, सरल र सर्वसम्प्रेष्य पुस्तकहरूको अभाव रहेको छ । यसै अभावलाई प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको ‘नेपाली वर्णविन्यास (नियम, समस्या र समाधान)’ नामक पुस्तकले पूरा गरेको छ । यस पुस्तकका लेखक प्रा.डा. लुइटेल वरिष्ठ समालोचक र सर्जक मात्र नभएर भाषाविज्ञानमा केन्द्रित रही पिएच. डी. गरेका विशिष्ट भाषाशास्त्री पनि हुन् । नेपाली भाषामाथि आक्रमण हुन थालेदेखि नै त्यसको विपक्षमा उनले प्रशस्त कलम चलाएका छन् । यो नेपाली भाषाप्रतिको उनको गहिरो अनुराग हो ।

यसै सन्दर्भमा केही समय यता केही व्यक्ति र निकायबाट नेपाली वर्णविन्यासलाई जबर्जस्ती विद्रूप तुल्याउने काम भयो र अहिले त्यो समाधान भइसकेको स्थिति छ । त्यस समाधानलाई अझै सबलता प्रदान गर्नका लागि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको ‘मानक वर्णविन्यास’ नामक यो पुस्तक प्रकाशनमा आएको हो । पुस्तकको नाममुनि कोष्ठकमा नियम, समस्या र समाधान भनिएको यस पुस्तकमा वर्णविन्यासको प्रयोगलाई अत्यन्त सरल किसिमले नियमीकरण गरिएको छ भने त्यसमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायहरूसमेत सुझाइएको छ । यस पुस्तकको शक्ति पनि यही हो । अझ स्पष्ट रूपमा भन्नुपर्दा यसप्रकारका पुस्तक अहिलेसम्म नेपालीमा नलेखिएकाले यो पुस्तक मानक नेपाली वर्णविन्यासको पहिलो मानक ग्रन्थ र आधिकारिक शास्त्र हो ।

‘नेपाली वर्णविन्यास’ नामक यो पुस्तक २०६९ मा पहिलो संस्करण प्रकाशित भएपछि संशोधित, परिमार्जित तथा परिवर्द्धित संस्करणका रूपमा २०७४ मा दोस्रो संस्करण प्रकाशित भएको छ । अहिले यो पुस्तक पुनः परिवर्द्धित रूपमा आउनु अहिलेको औचित्यपूर्ण आवश्यकता पनि हो । विगत केही वर्षयतादेखि नेपाली भाषामाथि प्रहार गरी यसलाई अस्तित्वहीन तुल्याउन सरकारी निकायमै रहेका केही व्यक्तिहरू सक्रिय भएकोमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलकै नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको दबाबस्वरूप यस सञ्जालकै अवधारणाअनुरूप त्रिविका नेपाली तथा नेपाली शिक्षा विषय समितिहरू, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सरकार शिक्षा मन्त्रालय, साझा प्रकाशन आदि निकायबाट मानक नेपाली वर्णविन्यास प्रयोग गर्ने निर्णय भइसकेकामा अब प्रयोक्ताहरूले मानक नेपाली वर्णविन्यासको प्रयोग केकसरी गर्ने भन्ने अन्योल र दुविधा हटाउनका लागि पनि यो पुस्तक प्रकाशमा आएको छ । यसैबाट यसको औचित्यपूर्ण आवश्यकता पुष्टि हुन्छ ।

‘नेपाली वर्णविन्यास’ नामक पुस्तक विषयगत दृष्टिले वर्णविन्यासमा मात्र केन्द्रित छैन; यसमा नेपाली भाषाको परिचय र विकासप्रक्रियाका साथै ध्वनि, वर्ण र अक्षरको पहिचानका साथ तिनका बिचको भिन्नता पनि स्पष्ट पारिएको छ र तिनलाई उदाहरणद्वारा पुष्टि गरिएको छ । सातओटा मूलशीर्षक एवम् तीभित्रका सत्तरीभन्दा बढी उप तथा सहायक शीर्षकहरूमा व्यवस्थित गरिएको यस पुस्तकमा वर्णविन्यासका नियमहरूलाई प्रशस्त उदाहरणसहित स्पष्ट पारिएकाले यो कृति नेपाली भाषाका आम प्रयोक्ताहरूका लागि अत्यन्त उपयोगी देखिएको छ ।

यस पुस्तकमा वर्णविन्यासका नियमहरूमा ह्रस्वदीर्घसम्बन्धी नियम; ब–व, य–यी–ई–यी–यी, ये–ए, ऋ–रि, श–ष–स, क्ष–क्षे–क्ष्य, छ–छे–छ्य, ज्ञ–ग्यँ–ग्य, चन्द्रविन्दु तथा शिरविन्दु आदिको प्रयोगसम्बन्धी नियमलाई भिन्नाभिन्नै शीर्षक, उपशीर्षक र सहायक शीर्षकहरूमा व्यवस्थित गरिएको छ भने अजन्त र हलन्त तथा संयुक्त वर्णको प्रयोगसम्बन्धी नियमलाई अझ विशेष स्पष्टताका साथ प्रस्तुत गरिएको छ । केही समयअगाडिदेखि केही व्यक्तिहरूले देवनागरी लिपिका संयुक्त व्यञ्जन वर्णको हुर्मत लिएका हुनाले सर्वसाधारण प्रयोक्ताहरूलाई भ्रममा नपार्न वा भ्रमबाट मुक्त गराउन पनि यस्ता नियमहरू बढी उपयोगी भएका छन् ।

पदयोग र पदवियोगमा ध्यान नराख्दा एवम् त्यसको नियमीकरण नहुँदा अर्थको अनर्थ लाग्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । अतः यस पुस्तकले पदयोग र पदवियोगसम्बन्धी सम्पूर्ण किसिमका भ्रमहरूको निवारण गरेको छ । यसै नियममा दिइएका उदाहरणहरूबाट यो कुरा पुष्टि हुन्छ । भाषाको अशुद्ध प्रयोग हुने केही त्रुटिक्षेत्रहरूसँग सम्बद्ध शब्दहरू दिई तिनका अशुद्ध तथा शुद्ध रूप उदाहरणका रूपमा प्रस्तुत गरिएकाले सर्वसाधारण प्रयोक्ताले पनि शुद्ध रूपको पहिचान गर्ने आधार यस पुस्तकबाट प्राप्त गर्नेछन् । यसरी प्रस्तुत पुस्तक नेपाली वर्णविन्यासको मानकीकरणका लागि अत्यन्त महत्त्वपूर्ण दस्ताबेज हुनपुगेको छ ।

यस पुस्तकको उपसंहार तथा निष्कर्ष खण्डमा नेपाली भाषामा जबर्जस्ती बल्झाइएका समस्याहरूको इतिवृत्त केलाउँदै ती समस्याहरूको पहिचानका साथ समाधानका उपायहरू पनि सुझाइएको छ । सिङ्गो नेपाली जातिको पहिचान र प्राणतत्त्वका रूपमा रहेको नेपाली भाषामाथि आक्रमण गर्ने काम लोभानिपापानिको मन्त्र जप्ने केही ‘विद् वान्’ हरूबाट भएको छ र देवनागरी लिपि तथा नेपाली भाषालाई ध्वस्त पारेर कालान्तरमा रोमनीकरण गर्ने नियोजित षड्यन्त्र बुनिएको स्थिति छ । यस्तै षड्यन्त्रका बारेमा नेपाली भाषाप्रेमी पाठकहरूले थापा पाऊन् र भ्रमबाट मुक्त होऊन् भन्ने अभिप्रायका साथ ती पाठकहरूको उपयोगिताका लागि पनि तत्सम्बन्धी दुर्नियतिहरूको विवेचना यस पुस्तकमा गरिएको छ ।

समस्याहरूको थुप्रो लगाएर मात्र सबै कुराको समाधान आउँदैन, त्यसका लागि समाधानका उपायहरू पनि खोजिनुपर्छ भन्ने कुरा यस पुस्तकमा राम्ररी प्रतिबिम्बित भएको छ र हरेक समस्याको समाधानका उपायहरू प्रस्तुत गरिएको छ । समस्याहरूको निराकरणकै सन्दर्भमा अमानक वर्णविन्यासको खारेजी र मानक वर्णविन्यासको पुनस्र्थापनार्थ प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलकै नेतृत्वमा गठित त्रि.वि. नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान–२०७३ तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्व र दबाबमा माथि उल्लेख गरिएका आधिकारिक निकायहरूले अमानक वर्णविन्यास खारेज गरी मानक वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको सम्मका सन्दर्भहरू यस पुस्तकमा आएका छन् । आधिकारिक निकायहरूबाट अमानक वर्णविन्यास खारेज गरी मानक वर्णविन्यास प्रयोग गर्ने निर्णय गराउने कार्य प्रा.डा. लुइटेलकै नेतृत्वबाट मात्र सम्भव भएको हो । यी कुराहरूको तथ्यगत प्रमाणका लागि ती निकायबाट गरिएका निर्णयहरूबारे प्रा.डा. लुइटेलकै नाममा लेखिएका पत्र पनि पुस्तकमा समावेश गरिएको छ ।

‘नेपाली वर्णविन्यास’ नामक प्रस्तुत पुस्तकका लेखक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल ‘त्रि.वि. नेपाली केन्द्रीय विभागको मानक नेपाली भाषा अभियान–२०७३’ का संयोजक तथा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’का अध्यक्षसमेत भएकाले उनीबाट यस किसिमको पुस्तक आउनु थप उपलब्धिपूर्ण कुरा हो । नेपाली भाषा नेपालीहरूको पहिचानसँग जोडिएको छ र यो अहिले नेपालको मात्र भाषा नभएर जहाँजहाँ नेपाली भाषीहरू छरिएर रहेका छन् तीती ठाउँमा पुगेको महाभाषा हुनपुगेको छ । भारत, म्यानमा, भुटानलगायतका पचासभन्दा बढी मुलुकमा नेपाली भाषा बोलिन्छ । तसर्थ यो नेपाली जातिको भाषा हो । यस सन्दर्भमा नेपाली भाषामाथिको आक्रमण नेपाली राष्ट्रियता, सभ्यता, संस्कृति, अस्तित्व र पहिचानमाथिकै आक्रमण हो र अझ स्पष्ट रूपमा भन्नुपर्दा आफैँमाथिको आक्रमण हो भन्ने कुरासमेत नबुझेर नेपाली भाषा ध्वस्त पार्न खोज्नेहरूका लागि यो पुस्तक कडा चेतावनी हो भने नेपाली भाषाप्रेमीहरूका लागि यो पुस्तक मानक वर्णविन्यास सिकाउने आधिकारिक मानक ग्रन्थ हो र गतिलो खुराक एवम् शास्त्र पनि हो । अझै स्पष्ट रूपमा भन्नुपर्दा यो मानक नेपाली वर्णविन्यासका क्षेत्रमा अतुलनीय र अद्वितीय कृति हो; तसर्थ यो कृति सबैका लागि पठनीय, मननीय र सङ्ग्रहणीय छ ।

प्रतिक्रिया