अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते २२:२४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उहाँलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गर्नुभयो । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरूले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्थ्यो । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

लुभ्र अबुधावी कला तथा सभ्यताको संग्रहालय हो । यस संग्रहालयको उद्घाटन २०१७ नोभेम्बर ८ मा भएको हो । यो संग्रहालय अबुधावी तथा फ्रान्सेली सरकारबीच ३० वर्षीय सम्झौताको एक भाग हो र यो सादियत द्वीप सांस्कृतिक जिल्लामा रहेको छ । यो संग्रहालय २४ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ र यहाँ ८,००० वर्गमिटर क्षेत्रमा प्रदर्शन कक्ष रहेका छन् । यो अरेबियाली प्रायःद्वीपमा सबैभन्दा ठुलो संग्रहालय ठानिन्छ ।

लुभ्र अबुधावी संग्रहालय निर्माण गर्न ६० करोड दिराम खर्च भएको अनुमान गरिएको छ । ‘लुभ्र’ नामसँग सम्बन्धित हुन अबुधावीले ५२ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको छ र कला प्राप्त गर्न विशेष प्रदर्शन तथा व्यवस्था गर्न थप ७४ करोड ७० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

यहाँ विश्वभरबाट ल्याइएका कला प्रदर्शन गरिएको छ र विशेषगरी पूर्वीय र पश्चिमी कलाबीचको अन्तर हटाउन यहाँ प्रयास गरिएको छ । राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुग्नुएको हो ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू