अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

विडम्बना

राम लामा अविनाशी २०७४ कार्तिक २७ गते १९:५२ मा प्रकाशित

कथा
पूर्ण दाई चौतारामा पिपलको बोटमा आढेस लागेर ढल्किरहनु भएको थियो । चुरोटको सर्को सँगै मुखबाट धुंवाको फोकाहरु निस्कदै माथि-माथि जादै हावामा बिलाउदै थिए । उहाँको आँखाको गहभरि टलपलिएका आँसुमा केही वेदना छचल्किई रहेका थिए । म त्यहाँ पुग्ने बित्तिकै मेरो मुखबाट प्रश्न निश्क्यो “यो पिपलको बोट त भाउजूले सार्नु भएको हो नि हगी दाइ” ? उहाँ मेरो अनुहार तिर हेर्दै सुक्क-सुक्क गर्दै रुनुभयो । दुईजना बुढा-बुढी मिलेर चौतारो बनाउनु भएको रहेछ । आफ्ना जन्मदाता बुवा धन बहादुर र आमा लक्ष्मीदेवीको नाममा । बुवाको नाममा आफूले बरको र आमाको नाममा भाउजूले पिपलको बिरुवा रोप्नु भएको रहेछ । त्यही सम्झनामा उहाँ पिपलको बोटको फेदमा आफ्नो अर्धाङ्गिनीको यादमा डुबी रहनु भएको रहेछ ।

आफू सात वर्षको छँदा भारतीय सेनामा कार्यरत उहाँका बुवाले कार्गिलको युद्धामा वीरगती पाउनु भएको थियो । १९ वर्षको हुँदा आफूलाई अतिनै शील-स्वभावकी लागेर पल्ला गाउकी लक्ष्मीसंग उहाँको मागी बिहे गरिनु भएछ आमाले । छोराको सुखी दाम्पत्य जीवन देखेर हौसिंदै गर्दा कारगिलमा छातीमा गोली लागेर छटपटाउदै बीरगती पाएका आफ्ना लोग्नेलाई सम्झिंदै छोराको खुसी देखाउन नपाएकोमा दुखी हुन्छिन । आफ्ना पतिको बियोगलाई भुल्न नसके पनि अलि मलिनो भने पारेको थियो आफ्नो मुटुको टुक्रा एक मात्र छोराको सुखी दाम्पत्य जीवनले । तर दैवको लीला, यो खुसीसँग लामो समय सम्म रम्न लेखेको रहेनछ उहाँकी आमालाई । छोराको बिहे भएको ३ वर्षमा नै जण्डिस रोगले उहाँकी आमाको यो खुसी हेर्दा हेर्दा लम्पसार भौतिक शरीरबाट आत्मा निस्क्यो र बिलायो कता हो कता । भौतिक शरीर खरानी भयो र माटोमा बिलायो सदा-सदाका लागि ।

अर्धाङ्गिनीको प्रगाढ माया र परमधाम बासी जन्मदाताहरुको अनन्त सम्झनाले मात्र जीवन सहज कहाँ हुन्छ र ? जीवन सहजताको लागि आर्थिक समुन्नति अपरिहार्य हुन्छ भौतिक जीवनमा । बिहे भएको १० वर्ष सम्म पनि सन्तान हुन सकेको थिएन । सन्तान भई दिएको भए पनि बुढेसकालको सहाराको अपेक्षा रहन्थ्यो । अर्थोपार्जनको उपायको रूपमा साउदी अरब पुगी मरुभूमिको प्रचण्ड गर्मीमा पसिना बगाउंन सुरु भयो । उज्जल भविष्यको लागि अहोरात्र मेहत गर्नु भएछ ।

दुई-तिन वर्षमा छुट्टी जाँदा आफ्नी प्राण-पखेरु पत्नीसँगको रोमान्स वर्णनको सीमा बाहिर पुग्थ्यो । छुट्टीबाट फर्केको केही महिनामा घरबाट जाने चिट्ठिका हरफहरुमा श्रीमतीले “म गर्वबती बनें ” भन्ने शब्दहरू पढ्न लालाहीत हुँदै पुरै पेज भरी सरर हेर्दै त्यही शब्द खोज्नु हुन्थ्यो । अपसोच, सबै चिट्ठीहरु खडेरी लागेको जङ्गल जस्ता थिए । रसिलो पन नै नलेखिएका ।

पछिल्ला चिट्ठीहरुरुमा त झन् दु:खको समाचार जान्थे । आफू बिरामी परेको र अस्पतालमा परीक्षणको लागि धाईरहनु पर्ने भएको खबर गयो । साधारण परीक्षण र औषधीबाट ठिक होला भन्ने उहाँको अनुमान रहेछ । तर, लामो समय र धेरै पटकको परीक्षणबाट भाउजूलाई पाठेघरको क्यान्सर भएको निर्क्योल भएछ । अलि छिप्पिई सकेकोले अपरेसन सफल हुने कुरामा ग्यारेण्टी नभएको कुरा पनि थाहा भएछ ।

त्यो भन्दा पहिला छुट्टी लिएर नेपाल आउने मान्छे यस पटक काम छोडेरै फर्किनु भएछ । खर्चिलो उपचार र अनिश्चित समयको कारण पैसाको खोलो बगिरहेको थियो । साउदीको मरुभूमिमा थोपा- थोपा पसिना सँग साटेको एक-एक रियाल नेपालमा उपचार गर्दा रुपैयाँ बनी बिटा-बिटा गइरहेको थियो । अन्तत एउटा श्रमिकले कमाएको पैसाले कति दिन पुग्नु र । सास छउन्जेल आस । भए भरको सबै जायजेथा सिद्धिन्छ । तैपनि, निष्टुरी दैवलाई अलिकति पनि दया जाग्दैन । अन्तमा, यो संसारको भौतिक शरीरबाट आत्मा फ्याट्ट तानेर लग्यो । आत्मा बिनाको शरीरलाई माया गरेर के गर्नु र । विवश भई दाह संस्कार भयो ।

हेर्दा-हेर्दा आफ्नो खोकिलोमा सदैव लुटुपुटिने शरीर खरानी भयो । सुरु सुरुमा त त्यही जलाएको ठाउँमा आफ्नी पत्नी जलेर बनेको खरानी सुम्सुम्याउंथे । त्यो पनि बिस्तारै माटोमा बिलाउंदै गयो । पछि त, चिता जलेको ठाउँ चिन्न नै गर्हो भयो । म सँग मेरो आफ्नो भन्ने केही छैन अब । सर्वस्व सिद्धिएकोले भन्दा उनीलाई बचाउन नसकेकोले बढी बिरक्त बनें । म आफूले मेरो सबैथोक उनको लागि अर्पिन पाएकोमा भाग्यमानी ठान्दछु भन्नु भयो । उनी भन्दा म पहिला मरेको भए पनि त मेरो सबै उनैको हुने थियो नि ।

म मा के त्यस्तो खोट रहेछ र दैवले पनि छानेन भन्दै फेरी गुनासो गर्नु हुन्छ । वैदेशिक रोजगारमा जाने मति नलागेको भए पनि बांचुन्जेलको समय त उनी सँगै बित्थ्यो । के थाहा आज मेरा आँसु पुछिदिने छोरा-छोरी पनि जन्मिन्थे कि । हुनंत, त्यो गल्ती मेरा बुवाले पनि गर्नु भएको थियो । आफ्नो बैँस भारतीय सेनामा राइफल फुछ्दैमा सिद्ध्याई दिनु भयो । घर गाउँमै दु:खजिलो गरी बसेको भए मेरा पनि तिहारमा सयपत्री र मखमली माला लगाईदिने दिदी-बहिनी हुन्थे होलान् । म यो हालतमा रुनु पर्दा वरिपरि दाजुभाइ दाजुबहिनी तथा छोराछोरीको भिडले मलाई सम्झाउंथे होलान् । उनीहरूको मायाले बाच्ने रहर बढ्थ्यो होला । तर, अब म के का लागि र कस्का लागि बाँच्ने भन्दै रुनु भयो ।