चुनावका जनता: एक संस्मरण र आगामी निर्वाचन- अयोध्या प्रसाद श्रीवास्तव

बिआरटि नेपाल सम्बाददाता

हालै मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्रको सानो स्टेटस पढें । धोकेबाज नेता गुरु र नेपाली राजनीति । यसैको पुस्तक मेरो अगाडी खुला थियो । यसैको अध्ययनमा त मेरो यतिका वर्ष बितेका छन् । आज चस्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरुसँग किताबका पाना पल्टाउदै छु ।

शिक्षकलाई यो कुरा भनेँ, हाँसो भयो, उनले पुरै आलेख तयार हुन् टाइम लाग्ला, अहिले समयको मांग अनुसार केही अंश मात्रै भए पनि त लेखे ठिक होला भने । मैले सोच्न थालेँ, २०७४ को स्थानीय चुनावको स्मृति दिमागमा ताजा हुन् थाल्यो ।

स्थानीय चुनावको घोषणा भएपछि कतिपय राजनीति शास्त्री र प्राध्यापक साथीहरूले यस्तै एउटा सुझाव दिएका थिए । समस्याको जरो पत्ता लगाउन अनुसन्धान त गर्ने पर्दछ, कोही न कोहीले त समुद्रमा हाम फाल्नु पर्दछ । प्रत्यक्ष प्रयोग गर्ने यस भन्दा राम्रो अवसर कहाँ पाइन्छ ? राजनीतिशास्त्रीको प्रयोगशाला त पुरा संसारका राजनीतिक परिस्थति र घटनाहरू नै त हुन् । कोही एक जनाको प्रयोग र अनुभवबाट नै त समाजले निष्कर्ष पाएको हुन्छ । तर राजनीति ? हजारौँ लाखौँ मानिसहरूको सोंच, विचार र भावनाहरुको आँधीमा हाम फाल्नु र पौडी खेल्नु हो । सुशिक्षित व्यक्तिका लागि त यो बहुतै साहसको कदम हो ।

म राजनीतिशास्त्रीको प्राध्यापक, अध्येता र विद्यार्थी हु (शायद आजीवन विद्यार्थी रहने छु) तर मेरो व्यवहारिक राजनीतिमा किञ्चित पनि संलग्नता अद्यापि छैन । राजनीतिको दुनियामा प्रकाशको एउटा दियोको रूपमा उदित हुन् लागेको मेरो पुस्तकलाई नितान्त प्रायोगिक, आधिकारिक, प्रमाणिक निष्कर्ष प्राप्त हुने दुर्लभ अवसर उपस्थित थियो । मैले गुलरिया नगरपालिकाको मेयरको प्रत्याशी हुने मन बनाएँ । कुरा बुझ्न गाउँ घर मा हिडें । गुलरियाले सब भन्दा योग्य उम्मेदवार पाउने भयो भन्दै धेरैले खुसीयाली जनाए, सामान्य जनताले निकै हौसला दिए । राम्रो अनुभवी मध्येका कोही कोहीले राजनीतिमा पस्दै नपस्नुस पनि भने, कोहीले जीत नभएपनि सम्मान जनक हार हुन्छ भने मात्र तयारी गर्ने, कोहीले पार्टी समात्ने भने । कुनै पार्टीले विचार गर्ने, कसैले त उल्टै अफर पनि गरे तर मेरो लक्ष्यमा सहयोगी प्राज्ञहरुले अनुसन्धान नै प्रमुख उद्देश्य बनाउने र स्वतन्त्र नै लड्ने भने पछि पार्टी समाउने कुरा हरायो । मलाइ दबाब दी रहेका दुइटा राजनीतिक पकड भएका पार्टीहरू निराश भएर आफ्नो बाटो लागे । मैले जीतमा प्रशन्नता र हारमा दुख नमानेर निरपेक्ष लडने भएँ, बिल्कुलै गीताको अर्जुन सरह । यो कुरा निकै राम्रो मानियो । मैले अन्य पार्टीबाट लड्ने मेरा आफ़न्तेहरुलाई कुरा स्पष्ट पार्न लाई एक ठाउँमा बस्न पटक पटक आग्रह गरे । तर गीताको निष्काम कर्मयोग महान् हस्तीले बुझन त गाह्रो हुन्छ भने मैले बोलाएकाहरुलाई हृदयंगम गराउने कसले ? कोही कोही त आए तर आफ्नो बिग्रन लागे पछि सुधारको लागि म बसी दिनु पर्ने भनेर आए ।

मेरो चुनाव प्रचारमा घर कै छोरा भाइ भतीज र तीन जना मित्र हरू थिए । तर भाडाका मानिस मैले राखिन । निरपेक्ष लडाइमा त्यस्तो गर्नु पर्ने, जीवन मरणको प्रश्न नै थिएन ।

बहुदलीय संसदीय व्यवस्था भएका सभ्य देशहरूमा स्थापित भएको नीति रीति अनुसार स्थानीय चुनाव पार्टीगत आधारमा लड़िदैन । कदाचित पार्टीले उम्मेदवार उठाए पनि पार्टी पर्दा पछाडि रहन्छ । यदि कुनै देशमा निर्वाचनमा पार्टीको संलग्नता देखिन्छ भने पनि चुनाव चिन्ह पार्टीको हुँदैन । उम्मेदवार सबै जना स्वतन्त्र जस्तै हुन्छन् र उम्मेदवारी दर्ता भई सके पछि स्वतन्त्र र दलगत सबै उम्मेदवारले एकै दिन एकै साथ स्वतन्त्र निर्वाचन चिन्ह पाउन्छन । तर हामी कहाँ निर्वाचन आयोगले सिद्धान्त र प्रचलन विपरीत काम गर्‍यो । राजनीतिक दलहरूलाई उनीहरूले प्रयोग गर्दै आएको र जनताको मन मस्तिष्कमा छापी रहेको निर्वाचन चिन्ह नै प्रयोग गर्न दिने भन्यो । उनीहरू पार्टीको झन्डा, पार्टीको चिन्ह, सङ्गीत, बाजा गाजाका साथ मानिसको हुल लिएर महिनौं पहिले देखि गाउँमा पसे भने स्वतन्त्र उम्मेदवारको बिना चुनाव चिन्ह, खालि हात, दुई चार जना साथी र अधिकांश अनपढ र राजनीतिको ज्ञान नभएको जनतामा पम्पलेट र घोषणा पत्र वितरण गर्दै बिना तडक भडक खालि भेटघाटले चुनावी माहौल कसरि बन्न सक्दथ्यो ?

आषाढ १४ गते मतदान तोकिएको २ गते उम्मेदवारी दर्ता भयो र स्वतन्त्र उम्मेदवारलाई ६ गते मात्र चुनाव चिन्ह दियो । ७ गते सम्म प्रचार सामग्री छपाएर ८ गते देखि ११ गते सम्म ४ दिन मात्र प्रचारको समय पायो । त्यति धेरै १४४ गाउँ टोल र मतदातालाई विशाल र भूल भुलैया बुद्धिको मतपत्रमा चुनाव चिन्ह देखाउन कुरा बुझाउन र प्रचार सामग्री टास्न कुनै हालतमा सम्भव हुन् सक्दैन । निर्वाचन आयोगले । समानता सिद्धान्तको धज्जी उड़ायो । जनतालाई पनि त स्वतन्त्र मानिएन । राजनीतिक दल कै उम्मेदवारलाई मत दिन बाध्य गराइयो । राजनीतिक दल हरुले विद्यार्थी समेतलाई जुलुसको अङ्ग बनाए । रक्सी मासु भोज भतेर टिशर्ट र पैसाका गिफ्ट चले । मतदाता खरिद बिक्रीमा परे जाली फटाहाहरुले खुल्ला पैसा मागे । मैले किन पैसा दिन्थे र ? अरुहरुले पैसा बाडेका खबर सुन्ने बाहेक उपाय के नै थियो ? मेरा सहयोगी बन्न आएकाहरुले साथ छाडे अन्तै देखा परे । मेरा साथी बन्न पुगेका स्वतन्त्र उम्मेदवारहरुलाइ अरू पार्टीले किन्यो, कोइलाइ लोभ लालचमा पारेर उम्मेदवारी फिर्ताको कुरा भयो, र कोहीलाई त थाहै न दी आफ्नो पार्टीको वार्ड सदस्य पदमा उम्मेदवार बनाइ दिए । जुन सुकै पार्टीबाट जो जिते जितोस तर स्वतन्त्र न आओस भनेर सबैले मलाइ नै प्रतिष्पर्धी ठानेका थिए ।

मतदाताको कुरा गर्ने हो भने त्यही चार दिनको अवधिमा साम, दान, दण्ड र भेद सबै नीतिको प्रयोग भयो, कैयो मतदाताले मनाइ फोन गरे, गाउमा बोलाए, हाम्रो गाई, भैसी र बाख्रा भारतीय जङ्गलमा जान न पाउने र हाम्रो घास-दाउरा नै बन्द हुने भयो, कि त भारतीय वनपालेलाई गाउँमा ल्याएर वचन वद्धता गराउनुस भने ? थुप्रै गाउँहरुबाट यस्तो कुरा आयो, मैले विदेशी वनपाले घास-दाउरा र चरण गर्न दिन्छु भन्न किन आउला र ? भनेँ । मतदाता चुप लागे । तिनको लोभ, चलाकी या त्रास जे थियो, मैले मेटाउन सक्ने अवस्था थिएन ।

एउटा (राम्रै ?) पार्टीको प्रमुख कार्यकर्ताले आगामी संसदीय र प्रादेशिक चुनावमा तिनको उम्मेद्व्वारी हुँदा मेरो सहयोग पाउने आशामा मेरो पार्टीबाट टिकेट लिएर लड़नुस भन्दै आएका थिए । तर म स्वतन्त्र लड्ने भएपछि तिनले देशी समुदायबाट एक जना सिधा साधा नवयुवकलाई मेयरको टिकट दिएर उठाएका थिए । यस उम्मेदवारबाट मेरै क्षति हुने स्पष्ट थियो ।

कोही पार्टीले निम्न वर्गीय मधेसी दलितहरुमध्यका र मेरा गाउँले नाताका नितान्त आफंतेहरुलाई स-साना पदहरूमा उठाई दिए । मतपत्रको ढांचा अनुसार मतदानमा तिनलाई मोहरा बनाएर तेर्सो लाइनमा सबैलाई मत हाल्दा मलाइ पर्न जाने क्षतिको ती बिचरा साधारण ग्रामीणले कसरि अनुमान गर्न सक्थे ?

सब भन्दा अशोभनीय र मतदाताको स्वतन्त्रताको हनन गरियो मतपत्रको बनावटबाट । पंचायती चुनावमा प्रधान उप-प्रधान र वार्ड अध्यक्ष तथा ६ वटा वर्गीय सङ्गठनको समेत चुनाव हुँदा र २०४६ पछिका चुनावमा समेत विभिन्न पदको छुट्टा छुट्टै मतपत्र थियो, जसमा मतदातालाई मतदान गर्न सरल थियो । तर यो चुनावमा पार्टीगत आधारमा मतपत्रमा मेयर/उपमेयर, अध्यक्ष देखि सबै सदस्यलाई एकै लाइनमा एक साथ राखिएकोले मतदाताले आफ्नो मन पर्ने उम्मेदवारलाई छान्न कठिन हुने गराइयो भने मतदाताले आफूले मन पर्ने कुनै एक सदस्यलाई पनि मत दिन चाह्यो भने उसले त्यो पार्टी लाइनको मेयर सम्म सातै जनालाई छाप लागाई दिन सजिलो मान्ने गराइयो । यो धूर्तताले गर्दा राम्रो व्यक्तिको छनौट भन्दा पार्टीलाई छान्नु पर्ने विवशता पैदा गरियो । बिचरा मतदाता, सार्वभौम जनता ? यी सबै कारणले गर्दा मैले प्रेसबाट उठाएको प्रचार सामग्री मतदातामा वितरण गरी रह आवश्यक ठानिन, सब घरमा थन्क्याए जो आज पनि छदैछ । मैले व्यवहारिक राजनीति बुझी सकेका थिएँ, पाउन खोजेको राजनीतिक कुरा पाई सकेको थिएँ । अब मतदानको नाटक र कसैको जीत हारको मतगंती हेर्न मात्र बाँकी थियो ।

यो हारको फायदा के ? भन्ने प्रश्न उठाउनेहरु पनि होलान्, तर यो ‘बे वक्तको शहनाई’ होइन । यस अनुभवले निम्न तथ्य देखा पर्दछ ।

(क) तत्कालीन परिणाम :-
(१) सबै उम्मेद्वारहरु मध्ये सर्वाधिक शैक्षिक योग्यता, कानुन र विकाश प्रशासनको सर्वाधिक व्यवहारिक ज्ञान, भए पनि पछाडि हुल न भएको स्वतन्त्रसँग जनताले उभिने हिम्मत गर्न नसकेको रहेछ ।
(२) यदि स्वतन्त्र उम्मेदवारलाई जनताले साथ दिन चाहेंन भने पार्टीको शक्ति भएको यो माओवादीको र सङ्घीय समाजवादीको उचस्तरीय राम्रो शिक्षा दीक्षा कर्मठ, योग्य, उत्साही र लगनशील युवक र उम्मेदवारलाई पनि जनताले चाहेंन ।
(३) एमालेबाट व्यवहारिक राजनीतिका अनुभवीलाइ पनि जनताले चाहेंन ।
(४) राप्रपाबाट आर्थिक सम्पन्नता र उच्च पारिवारिक अवस्थाका शालीन व्यक्तिलाई पनि जनताले चाहेंन तसर्थ

(1) नेपाली जनतालाई शैक्षिक योग्यता, प्रशासकीय कार्य क्षमता, विकास, पार्टीको शक्ति, उम्मेदवारको शालीनता, शिष्टता, पदीय अनुभव, पार्टीमा उच्च हैसियत र राजनीतिक अनुभव, जस्ता कुनै कुरा नचाहिने रहेछ ।
(2) आकाशे कुरा सुन्न जनता बढी मन पराउछ ।
(3) जनतालाई लोभ लालचाका कुरा गरेर, भय देखाएर(विगतमा माओवादीले यसैबाट सफलता पाएको थियो) स्वार्थ सिद्ध गर्न सकिन्छ ।
(4) कुनै पार्टी या उम्मेदवारको नीति अथवा घोषणा पत्रसँग जनताको खासै मतलब हुँदैन । बढी भन्दा बढी गफ हाक्न सक्नु पर्दछ ।
(5) जनतालाई सुनाएर, पुलिस प्रशासनलाई अघि पछि बेसरी गाली गर्न सक्नु पर्दछ । पुलिसको साथ सङ्गत र साठ गाठ जरुरी हुन्छ । सीमा नजिककाले भारतीय पुलिस प्रशासनसँग पनि नजिक भई रहनु पर्दछ ।

(6) ग्रामीण, गरिब, अशिक्षित,र साधारण जनताको भावनाको दोहन-लोभ लालच र भय बाट गर्न सजिलो छ ।
(7) बर्दियामा पहाडी समुदायको बस्ती बाहेक अन्य ग्रामीण इलाकामा जनताको भावनाको भित्री तह सम्म कांग्रेसी अगुवाहरुको पहुँच छ ।
(8) जनतालाई लगातार चुनावी जुलुस, आकर्षक र चटके नारा, बाजा गाजा, हो हल्ला र पर्चा पोस्टरको अधिकताबाट प्रभावित गर्न सजिलो छ।
(9) उम्मेदवार र मतदाताको एक समान जातियता, भाषा र संसक्र्तिले मतदातालाई आकर्षित गर्दछ ।

(ख) समग्र दलीय व्यवहार र परिणाम :-
राजनीतिक दलहरूले :-
(१) सामान्यतया बढी मतदाताको जातिको उम्मेदवारलाई टिकट दिने गर्दछन् ।
(२) उच्छ्रिङ्खल, बदनाम, सनकी, दलाल र अपराधीले पनि पार्टीको निकटता, संरक्षण र चुनावी टिकट लिन सफल हुने गरेका उदाहरण पाइन्छन ।

(३) विकासको काम गर्न सकने भन्दा पार्टी र कार्यकर्तालाई पालन सक्नेले प्राय: टिकट पाउने गरेको देखिन्छ ।
(४) निर्वाचनमा धनबल, जनबल, प्रशासनको बल, भय त्रास लोभ सबै अस्त्रको प्रयोग हुन्छ । जनताको स्वतन्त्रता समानता र विधिको शासनको द्र्गति छ ।
(५) देशमा लोकतन्त्रको नाम लिएर काँग्रेस, एमाले र माओवादीको पारस्परिक सहमतिमा देशको शक्ति, सत्ता र सम्पत्तिको भाग बण्डाले वैधता पाएको छ । प्रजातान्त्रिक निरङ्कुश शासन व्यवस्था छ । लोकतन्त्रात्मक शक्ति, इकाई र संरक्षक सत्ता माथि त्रिदलीय पकड छ “त्रिपक्षीय सहमति नै न्याय” भएको छ ।

(६) काँग्रेसले आफ्नो नीति परित्याग गरी माओवादीसँग गएकोले उसको छवि बिग्रेको छ । माओवादीलाई कसैले इतिहासको बदला लिन्छ कि ? अन्तर्राष्ट्रिय अदालतमा उभ्याउछ कि ? भन्ने आशंकाले पिरोली रहेकोले जथाभावी अवसरवादी व्यवहार रहेको छ । एमालेको स्थिति बलियो देखिन्छ ।

(७) निर्वाचन आयोगले आगामी संसदीय र प्रादेशिक निर्वाचन एक साथ गराउन गई रहेकोले स्वतन्त्र उम्मेदवार र पार्टी गठबन्धनमा मतदातालाई मतदान गर्न कठिन हुने छ । गठबन्धन्मा मतदाताले उम्मेदवार न भएको तर आफूले मतदान गर्दै आएको चिन्हमा मतदान गरेर मतपत्र बदरको सङ्ख्या बढने सम्भावना छ ।

(८) मधेसी जनताले मधेसी नेता या अगुवा, जति सुकै सक्षम भए पनि उसलाई आफू जस्तै शोषित पीडित, निर्बल, असहाय, सत्तामा पराधीन र असुरक्षित ठान्दछ । यस कारण मधेसी नेतृत्वलाई सोझै सहयोग गर्नु भन्दा पहाडी समुदायको कमजोर, कमसल र अपरिचित भए पनि नेपाली भाषामा हावादारी कुरा गर्न सक्ने नेता या अगुवाको बोली बचनमा बढी भरोसा गर्दछन् ।
(९ ) अनुभवको आकांक्षी प्रतेकले जीवनमा कमसेकम एक पटक वीतारागी भएर निर्वाचन लडन आवश्यक देखिन्छ

( लेखक राजनीतिशास्त्र का प्राध्यापक, अधिवक्ता र हाल अमेरिकामा अध्ययनरत, राजनीतिक विश्लेषक हुन् )

Published on November 13, 2017 at 3:09 pm

Loading...

यसमा तपाइको मत