रविन्द्र मिश्रले उठाएको कदम– देवराज न्यौपाने

देवराज न्यौपाने- हाल अमेरिका, टेक्सस

समसामयिक नेपाली राजनीतिको एउटा चर्चित पात्रको नाम हो रविनद्र मिश्र । उनी राजनीतिमा हाम फाल्नुअघि सबैका प्रिय, आदरणीय व्यक्तित्व र विविसी नेपाली सेवामा लामो समयदेखि काम गर्दै आएका प्रभावशाली पत्रकार थिए । परोपकारी पत्रकारिताका सुत्राधार वरिष्ठ पत्रकार रविन्द्र मिश्रले चलाएको परोपकार र भ्रष्टाचार विरोधी अभियान तथा राजनीतिक शुद्धिकरण मार्फत आफ्नैं पालामा समृद्धि हेर्ने सपनाले उनलाई राजनीतिमा ल्यायो अझ उनकै शब्दमा भन्दा बाध्य बनायो । उनलाई आफ्नो पार्टीमा ल्याउन पाए हुन्थ्यो भन्ने पहिला धेरैलाई लागेको हुँदो हो । तर उनले विद्यमान राजनीतिक दलहरू भित्र यति धेरै फोहरको दलदल देखे कि भित्र डुबुल्की मारेर त्यसलाई सफाइ गर्नुको बदला आफैँ पनि फोहरी भइने डरले नयाँ सोच, प्रतिबद्धता र आत्मबिश्वास सहितको नयाँ बाटोको कठिन यात्रा सुरु गरे । स्वार्थकै लागि हो भने त उनलाई कुनैं ठुलै पार्टीले स्वागत गर्ने थियो या त भनौ उनलाई यो सबको जरुरतै थिएन । व्यक्तिगत रूपमा उनीमाथि बिना प्रमाण शङ्का गर्नु र आरोपित गर्नु त्यही फोहरी राजनीतिको द्योतक लाग्दछ अन्यायपूर्ण लाग्दछ ।

म नेपालमा छदा एमालेको एउटा इमान्दार सिपाही थिएँ र अहिले अमेरिका बसे पनि नेपालको चिन्ता र हिजो समृद्ध नेपाल एमाले मार्फत निर्माण गर्ने रविन्द्र मिश्रकै जस्तो सपनाले मलाई पनि चिमोटिरहन्छ । कत्ति कुराहरू सत्य लागेर पनि बोल्न नसक्ने धेरैका लागि पार्टीगत बाध्यताहरु छन् । तर म नेपालमैं छदा पनि पार्टी र नेताका स्वार्थका लागि आफ्नो मनको आदेशलाई बलत्कार गर्न इन्कार गर्दै आएको मान्छे हुँ । बेला बेला पार्टी र नेताले बाटो बिराउन लाग्दा खबरदारी गर्र्दै आएको मान्छे हुँ । अहिले त झन् न मलाई पार्टीको हुइप र अनुशासनको डण्डाले तर्साउन सक्छ न पद र अवसरको प्रलोभनले गलाउन नैं । टाढा बसेर नेपालको राजनीतिलाई नियालिराखेको मैंले पनि यो चुनावको महत्त्वपूर्ण घडीमा केही आफूलाई लागेका कुराहरू राख्न आवश्यक ठानेँ । हामी विदेशीएका मानिसहरूको पहिलो पुस्ता भौतिक रूपमा बाहिरिए पनि यो मन त नेपाली नैं हुदोरहेछ । हाम्रो तन र मन नेपालतिरै हुन्छ जति नेपालमा बस्नेहरुले तिमेरु भुतपुर्व नेपाली या विदेशी भएर नेपालको बारेमा बोल्ने कुनैं अधिकार छैन तिमेरको काम त खुरुखुरु हामीलाई डलर पठाउने र घुम्न आउँदा हामीलाई सेवा गर्ने मात्र हो भनेर अपमानित गर्न खोजे पनि । हुन त हामी पनि अमेरिकाको भात खाएर अमेरिकाकै ओछ्यानमा सुतेर आवश्यकता भन्दा बढी नैं नेपालको सपना देख्छौं । छोराछोरीलाई पनि दिक्क लाग्नेगरी नेपालकै नसामा लट्ठीन्छौं । दुई जना भेला भयो कि सुरु हुन्छ त्यही कुरो । अनि टाढा बसेर राम्रो कुरा नै नबुझी नेपालका नेताहरूलाई विना आफ्नो योगदान गाली र अर्ति उपदेश मात्र गर्छौँ । आफू चैँ फिट्टो केही नगरी अरूलाई गाली मात्र गर्ने अधिकार छैन जस्तो मलाई पनि लाग्दछ कहिलेकाही । तर यो अन्तरर्विरोधको सट्टा स्वदेशी र विदेशी नेपालीहरुविच एउटा समन्वय र सहयोगको वातावरण बनाउन सके नेपाललाई छिटै चम्काउन सक्ने तागत हामी एनआरएनमा छ भन्ने मेरो विश्वास छ ।

सत्ता स्वार्थमा लिप्त पार्टी र नेताबाट जनता वाक्क भएको वेला रविन्द्र मिश्र र उनको पार्टी एउटा आशालाग्दो विकल्प भएर उदाएको छ । मलाई लाग्छ उनीहरूको यो अभियानले निरन्तरता पाउनेछ र नेपालको राजनीतिमा एउटा भरोशायूक्त विकल्पको रूपमा या हाललाई एक सबल प्रतिपक्षको रूपमा यो आउनेछ । मात्र सत्ता स्वार्थको खेलले गर्दा नेपालको संसद्मा जनको आवाज बुलन्द गर्ने इमान्दार/सवल प्रतिपक्षको खडेरी पर्र्दैगएको प्रतित हुन्छ । रविन्द्र मिश्रहरुको बोलीमा जुन दम छ जसरी उनीहरू सिर ठाडो पारेर बोल्न सक्छन्, त्यसको तुलनामा विभिन्न हिसाबले गन्हाएका, आफ्नो पुरानो आदर्शलाई छाडेर स्वार्थतिर लागिसकेका, बुढा भएर अवकाश लिने बेलामा पनि सत्ता स्वार्थमा ¥याल चुहाउने नेताको बोलीमा कुनैं ओजन छैन, उत्साह छैन, जनताको विश्वास छैन । ठुला राजनीतिक दलहरू धनवाद र डनवादमा फस्दै जानु धेरै दुखलाग्दो कुरा हो । यहीनेर अर्को सत्य के पनि हो भने पार्टी निर्माण गर्न त्यति सजिलो पनि छैन । नेपालका ठुला दलहरू जति गन्हाए पनि यिनको लामो इतिहास भित्र सयकडौं मानिसहरूको रगत पसिना र सपनाहरू मिसिएका छन् । पूर्ण रूपमा विश्वास टुटिसकेको अवस्था पनि हैन र टुट्न पनि हुन्न । तर तपाईँ यदि पार्टीको चिन्ता गर्नुहुन्छ भने पहिला पार्टीले लिएको मुलभुत सिद्धान्त र लक्ष कहाँ छ भनेर खोज्नुस् । त्यही भित्र सिद्धान्तलाई पुनस्र्थापित गर्न सङ्घर्ष गर्नुस् । सिद्धान्त छाडीसकेको पार्टीलाई मेरो पार्टी, मेरो आस्था र विश्वासको धरोहर यही हो भनेर बस्नु भनेको मरिकेको कुहिएको लासलाई अगालो हालेर बसिरहनु जस्तै हो । मेरो अनुरोध छ ठुला पार्टीका नेता कार्यकर्ताहरूलाई कि अबको भविष्य त विवेकशील साझा पार्टीको पो रहेछ त भनेर ठुलो भाग खान पार्टी परिवर्तन नगर्दिनुहोला । यसलाई सुन्निएर ठुलो हैन आफ्नैं गति र मतिमा ठुलो हुन दिआंै । सत्तामा जान यो नहतारियोस् । सबल प्रतिपक्ष र जनताको आवाज गुंजाउने सम्म मात्र यसको दायित्वमा पर्छ अहिले । सङ्गठन निर्माण गर्न र बोलेका कुराहरू प्रमाणित गरेर देखाउदै जान अझै धेरै नै बाँकी छन् । सिधा र सजिलो फरक खालको यात्रा छ यसको अगाडि जसबाट यसले कहिल्यै डगमगाउन हुन्न । 

एक महत्त्वपूर्ण चुनावको संघारमा अहिले हामी छौँ । नेपाली जनता अहिले फेरी धेरै आशावादी भएका छन् । कुनैं पार्टी र व्यक्तिले भन्दा अबको चुनावमा देश र जनताले चुनाव जित्न पर्छ अर्थात् जुन पार्टीका भए पनि त्यस्ता सच्चा प्रतिनिधिले । त्यसको लागि मतदाताहरु स्वार्थ भन्दा माथि उठेर मात्र नेपाली भएर हाम्रालाई भन्दा राम्रालाई चुन्ने आफ्नैं मनको आदेश सुन्ने हिम्मत देखाउनुपर्छ ।
यो चुनावमा यस पटक बाम गठबन्धनले बहुमत हासिल गर्ने करिब पक्का छ । यसमा उनीहरू मात्तिनु र प्रजातान्त्रिक गठवन्धनकाहरु आत्तिनु बेकार छ यसले उनीहरूलाई नैं नोक्सान हुनेछ । स्वभाविक रूपमा अहिले धेरैको आशा र स्वार्थ बाम गठबन्धनतिर केन्द्रित छ । आशा यस मानेमा कि अव बामहरु साँच्चिकै उनीहरूले पहिला पहिला लिए जस्तै आफ्नो आदर्श र राष्ट्रिय स्वार्थमा आउलान्, आफ्ना विग्रिएका मतिहरु सपार्लान् र देशमा शान्ति स्थिरता र समृद्धि देलान् भन्ने धेरैको अहिले आशा पलाएको छ । बाँकी कति उनीहरूले यसलाई सिद्ध गर्ने हुन्, योगेश भट्टराई र हिमाल शर्माहरु कत्तिको सफल हुन्छन् र साँच्चिकै पार्टी एकता गरेर अघि बढ्न सक्छन् र सबैको सपना (रबिन्द्र मिश्रहरुको पनि त्यही एउटै सपना हो) साकार पार्न सक्छन् यो भविष्यकै गर्भमा छ ।

नेपाली काँग्रेसको आदर्श प्रजातान्त्रिक समाजवाद र विपीको सपना अहिले भयंकर सङ्कटमा परेको देखिन्छ । व्यवहारहरू हेर्दा ती आदर्श र सिद्धान्तसित कुनैं साइनो सम्बन्घ भेटिन्न जसले गर्दा हरिबोल भट्टराई र धनराज गुरुङ्गहरु जस्ता खाट्टी कांग्रेसीहरु निराशा र कुण्ठाको ज्वालामा छटपटाइरहेका देखिन्छन् । जे भए पनि नेपाली काँग्रेसको आफ्नै लामो इतिहास छ । देशको यो हालत परिस्थिति उपलब्धि या अनुपलब्धि सम्म आइपुग्न काँग्रेसले जस अवजस दुवैको प्रमुख भागिदार बन्नै पर्छ । अब झुटा नक्कली कुरा गरेर मात्र इतिहासको ब्याजले काँग्रेसलाई जोगाउला जस्तो मलाई चैँ लाग्दैन । मलाई लाग्छ काँग्रेस कमजोर हुनु या सिद्धान्तबाट पतन हुनु देश पनि कमजोर हुुनु हो र भएकै त्यही हो । हैन भने ४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना गर्ने मुख्य शक्ति जसले लामो समय शासन सत्ताको बागडोर सम्हाल्ने मौका पायो आज हामी यो परिस्थितिमा हैन, समृद्धिको अर्कै अवस्थामा रमाइरहेका हुनुपर्नेथ्यो र म जस्ताले अमेरिकाबाट देशको चिन्ता गर्ने हैन आफ्नैं देश निर्माणमा नग्रा ख्याइरहेको हुनुपर्ने थियो । बहुदलीय प्रजातन्त्रको स्थापना पछि पनि प्रजातन्त्रको संस्थागत विकाश गर्न र राष्ट्रको विकाश गर्न त्यो एकतालाई निरन्तर कायम राख्न सक्नुपथ्र्यो, राष्ट्रप्रति इमान्दार हुनुपथ्र्यो । यो सबैको मुख्य दोषी त काँग्रेस हो नैं तर दोष मात्र लगाएर अव केही हुनेवाला छैन । मेरो शुभकामना छ गगन र विश्वप्रकाशहरु काँग्रेसलाई अवसान हुनबाट जोगाउन् ।

यो चुनाव पछि अरू बाकी सबै साना दलहरू कहीँ कतै कुनै भंगालाहरुमा हराउने छन् । जे हुन्छ राम्रैका लागि भइरहेको होला भन्ने आशा गरौँ । नेपाल र नेपालीको भलो होस् । मलाई लाग्छ विवेकशील साझा पार्टी सङ्ख्यामा भन्दा पनि गुणमा जनताको पार्टी भएर अघि बढ्नेछ । ठुला सत्ताधारी पार्टीहरूलाई यसले खवरदारी गर्र्नेछ, जनताको आवाज सम्झाउनेछ । म अहिले पनि यो पार्टीको मान्छे होइन र अव विदेशमा बस्ने नेपाललाई माया गर्ने एउटा नेपाली बाहेक केही हुन आवश्यक पनि ठान्दिन । फेरी नेपाल बसाई सराई भएछ भने त्यतिखेरै विचार गरौंला । मेरो विश्वास छ यो पार्टी देश विगार्न हैन सपार्न नैं आएको छ ।

हामी विदेशमा बस्ने नेपालीहरूले कुनै पार्टीको भाटगिरी नगरी नेपाल र नेपालीको मात्र हितगिरी गर्नु पर्दछ, स्वतन्त्र विश्लेषण र सहयोग गर्नु पर्दछ भन्ने मान्यताले नैं मैंले यी विचारहरू सम्प्रेषण गरेको हुँ । यो कसैको विरोध या समर्थन हैन । हामीलाई त देश बन्दिए पुगो, काँग्रेस, एमाले, विवेकशील, जनजाति, राप्रपा जसले नेतृत्व गरे पनि भयो । यहाँ हामी फलाना पार्टी या नेताले जितेछ भनेर खुसीयाली मनाउनेवाला छैनौँ । जुन दिन गौरव गर्न लायक देश नेपाल बन्नेछ तब मात्र दीपावली गरौंला ।

Published on November 12, 2017 at 9:37 pm

Loading...

यसमा तपाइको मत