अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्त्वपूर्ण

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ११:३८ मा प्रकाशित

बेइजिङ, २२ कात्तिक (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्त्वपूर्ण घटनाका रूपमा विश्वले हेरिरहेको छ ।

राष्ट्रपति ट्रम्प बुधवार चीन पुग्नुभएको छ । उहाँ बुधवार अपराह्न चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ ।

चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो । त्यस्तै संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र हो । यस हिसाबबाट पनि क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा यी दुई देशले गर्ने सम्झौताहरुको ठुलो प्रभाव रहने छ ।

अमेरिकी राष्ट्रपतिको यो एसिया भ्रमणको मुद्दा विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रम बनेको छ । चीन उत्तर कोेरियाको एक प्रमुख सहयोगी राष्ट्र पनि हो ।

यस कारण पनि यी दुई देशका राष्ट्रपतिको वार्तालाप र उत्तर कोरियाका बारेमा उनीहरूले लिने नीतिले विश्व राजनीतिमा ठुलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ ।

चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । उहाँले एसियाका पाँच देशको १२ दिने भ्रमणका गत आइतबार जापानबाट थाल्नुभएको थियो ।

गत जनवरीमा उहाँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक चीन भ्रमणमा आउनुभएको हो ।

दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुनुहुन्छ ।

उहाँको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति ट्रम्पबीच चीनमा विशेष वार्ता हुनेछ । यद्यपि यो वार्ता उहाँहरुबीच पहिलो पटक भने होइन ।

उहाँहरुबीच यो तेस्रो पटक भेटवार्ता हुने भएको हो । उहाँहरुबीच गत अप्रिल महिनामा फ्लोरिडामा भेटवार्ता भएको थियो । त्यसै गरी गत जुलाई मा जि२० को सम्मेलनका क्रममा ह्याम्बर्गमा भेट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू