अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

इन्फरमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ८:५६ मा प्रकाशित

विगत केहि दिनदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा साइबर आक्रमण भएको समाचारहरु बाहिर आएको सबैलाई जानकारी भएकै विषय हो । बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको छ ।
यस्तो प्रकारको आक्रमण हुनु कुनै नौलो विषय नभएपनि आगामी दिनहरुमा अझ बढि हुनसक्ने यस्ता प्रकारका साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने भएकोछ ।

बैकिङ्ग क्षेत्रमा भएको ह्याकको विषयमा सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको यस इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालको ध्यानाकर्षण भएको छ ।

सूचना प्रविधिले दैनिक क्रियाकलापलाई सहज बनाईरहेको समयमा यसमा गर्नुपर्ने पर्याप्त आवश्यक लगानी नगरिनु र त्यसको लागि आवश्यक जनशक्तिको विकासमा ध्यान नदिनु मुख्य कमजोरीको रुपमा रहेको छ । सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले यस्तो जोखिमलाई झनै बढाएको छ भन्ने संस्थाको ठहर छ ।

यस्ता घट्नालाई न्यूनिकरण गर्दै सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र मात्र नभई नेपालका हरेक सूचना प्रविधिसँग आबद्ध क्षेत्रलाई सुरक्षित पार्नुपर्ने आवश्यकता देखिएको छ ।

यस्तो समस्यालाई समाधान गर्दै भविश्यमा हुने क्षति रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । त्यसैगरि संघ संस्थाहरुले तोकिएका नीति नियमहरुको उचित पालनाका गर्नुका साथै प्रयोगमा रहेका सफ्टवेयर र हार्डवेयर प्रयोगमा दिईएको ‘स्ट्याण्र्डड डकुमेन्टेसन’को पालना गर्नु आवश्यक रहेको छ ।

सूचना प्रविधि सूरक्षाको लागि नियमितरुपमा गरिने ‘इन्र्फमेसन सेक्यूरिटी अडिट’ लाई नियमानुसार र निरन्तर गरिनुपर्दछ । यस्तो नियमित अडिटले प्रयोगमा रहेका उपकरणहरुको सुरक्षा सुनिश्चिता प्रदान गर्न सहयोग गर्दछ । यसको लागि नियमितरुपमा सम्बन्धित संस्थाहरुसँगको सहकार्यमा विज्ञहरुको नेतृत्वमा तालिम तथा क्षमता अभिवृद्धिको काम गरिनु पर्दछ ।

सूचना प्रविधिलाई ससक्त र सुरक्षित बनाईरहँदा हुनसक्ने ‘फिसिङ्ग र मालवेयर’को चुनौतीलाई रोक्नका लागि सो विषयमा तालिम तथा जानकारी लिने कार्यलाई समेत प्रोत्साहित गरिनु पर्दछ ।

अन्त्यमा, वर्तमान समस्याबाट पाठ सिक्दै भविश्यलाई सुरक्षित पार्नुपर्दछ भन्ने मान्यताका साथ नेपालको सूचना प्रविधिको क्षेत्रलाई सूरक्षित बनाउन र थप क्षमता विकास गर्न हाम्रो संस्था निरन्तर लागिरहेको जानकारी गराउँदछौं ।
धन्यवाद ।

चिरन्जीवि अधिकारी
अध्यक्ष
इन्फरमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल ।

प्रतिक्रिया