अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

लगाइयो भाइटिका

बिआरटीनेपाल २०७४ कार्तिक ४ गते १२:४९ मा प्रकाशित

यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटिका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर भाइटिका लगाउन शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।

भाइटिका शनिवार परेकाले बिहान ०८ बजे अघि भने टीका लगाउन राम्रो नहुने भनी समितिले अनुरोध गरेको थियो ।

दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवन यापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटिकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत छ ।

कात्तिक कृष्ण त्रयोदशीका दिन सुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाएर यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

यसै गरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी बहिनीले पूजा एवम् दर्शन गरी टीका लगाएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू