अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

रु तीस लाखको कृत्रिम फुलको माला बिक्री

बिआरटीनेपाल २०७४ कार्तिक ३ गते २२:४५ मा प्रकाशित

स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फुलको माला यस वर्ष रु तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ ।

जिल्लामा व्यावसायिक फुल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फुलको माला बिक्री भइरहेको छ । जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फुल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रूप दिन नसक्दा कृत्रिम फुलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “प्लाष्टिकजन्य कृत्रिम फुलले स्वास्थ्यका लागि हानि गर्छ भन्ने सबैलाई थाहा छ ।” उहाँले भन्नुभयो, “जिल्लामा प्राकृतिक फुलले नपुग्ने भएपछि रोक लगाउन सकिएको छैन ।”

जिल्लाका मुख्य व्यापारिक केन्द्र दिक्तेल, ऐंसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानीलगायत ठाउँमा कृत्रिम फुलले राम्रो बजार पाएको व्यापारीले बताएका छन् । प्राकृतिक फुल अभावले जिल्लामा घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लाष्टिकको फुलको माला नै प्रयोग गरेको पाइन्छ । यस वर्षको तिहार अन्य समयभन्दा अगाडि नै परेकाले पनि आफूहरूले रोपेको फुल नफुल्दा कृत्रिम फुलको माला किन्नुपर्ने बाध्यता परेको खरिदकर्ताको भनाइ छ । पछिल्लो समय जिल्लामा सयपत्री फुलमा विभिन्न प्रकारका रोग लागेकाले पनि फुल अभाव भएको पाइएको हो ।

आगामी दिनमा प्राकृतिक फुल अभाव हुन नदिनाका साथै कृत्रिम फुल आयातमा रोक लगाउन जिल्लामा पुष्प व्यवसाय आवश्यक रहेको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “अहिले सबै क्षेत्रमा फुल अभाव देखिएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा नगरपालिकाले पुष्प व्यवसायलाई योजनामै समेटेर व्यावसायिक रूप दिने छ ।” पुष्प व्यवसाय सञ्चालनका लागि जिल्लाको सबै भूगोल उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा उत्पादन गरिने फुल राजधानीलगायत अन्य जिल्लामा निर्यात गरेर आम्दानीको स्रोतसमेत बढाउन सकिने जनाइएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू