नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्य सहित करिब एक सय नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ,

नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिब एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) को केन्द्रीय कार्यलय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गङ्गा चौधरी, पोलिटब्युरो सदस्यहरू पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरू तथा नेताहरू रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायत एमालेमा प्रवेश गर्नुभएको हो । यस्तै मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि प्रवेश गरेका छन् ।

उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङ र पोलिटब्युरो सदस्य विष्णु रिमाल लगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छै, एउटै र ठुलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिस्ट आन्दोलन चल्दैन ।’

एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गठनबन्धन र एकताको पहलको घोषणा गरेपछि मालेका यति धेरै सङ्ख्याका नेता पहिलो पटक एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी नेता विश्वासका अनुसार मालेबाट कूल २७ जना केन्द्रीय सदस्यले एमालेमा आउने तयारीमा रहेकामा आज छुटेका छजनासहित अन्य नेता कार्यकर्ता चाँडै एमालेमा आउनेछन् । हाल मालेमा ५७ केन्द्रीय सदस्य छन् । विश्वासले मालेका महासचिव मैनालीलाई राष्ट्रवादी नेताका रूपमा सम्मान गर्दै वाम ध्रुवीकरणमा लाग्न पुनः आग्रह गरिने बताउनुभयो । (रासस)

Published on October 19, 2017 at 8:00 am

Loading...

यसमा तपाइको मत