अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

पैसाको लोभको भैलो, भाई बिनाको तिहार र मेरा अटेरी हर्कतहरु

सुषमा देवकोटा २०७४ कार्तिक १ गते १८:२२ मा प्रकाशित

जन्मेर ९ बर्ष सम्म काठमाडौंमा बिताएपछि गाउँ गएको थिएं । ९ बर्षको उमेर सम्म भैलो खेल्न गएकै थिईन । म ४ बर्षको भएपछि थानकोट चेकपोष्टबाट बाबा जिल्ला प्रहरी कार्यलय भक्तपुरमा सरुवा हुनुभएको थियो । बुझ्ने भएपछि चिनेको ठाउँ थियो भक्तपुर । मेरो लागि तिहार भनेको ५ तले मन्दीर अगाडी बसेर झण्डी बुर्जामा १ मोहोरबाट ५ रुंपैयाँ सम्म पैसा थाप्नु र भाईटिकाको दिन बनाएको भाईलाई टिका लगाईदिनु थियो । दिपावलीको दिन मम्मी ब्रत बसेर साँझमा मैनबत्ती र दियोहरु बालेर लक्ष्मीपुजा गर्नुहुन्थ्यो । म त्यो साँझ घरमा हुन्थीन । भक्तपुरको जिल्ला प्रसासन कार्यालय, देखी मालपोत कार्यालय सम्मको चक्कर काट्थें । दरवार स्क्वायर अगाडी घुम्थें, जताततै झिलीमीली हुन्थ्यो अहिले जस्तो ईलेक्ट्रीक बत्तीको प्रयोग एकदम कम हुन्थ्यो मैन बत्ती बालिएको हुन्थ्यो सबै सरकारी कार्यालयमा ।

म जहाँ पुग्थें त्यहाँबाट फर्कने बेलामा बलिरहेको टिप्न मिल्ने जति मैनबत्ती टिपेर हिड्थें । डर न भरको बच्चा थिएं म राती नौ बजे सम्म दिवावलीको साँझ एक्लै डुल्थें । मम्मीलाई बानी परिसकेको थियो मेरो हर्कतको म स्कुल बिदाको दिन पनि डुलेरै हिड्थें । यसरी साँझमा डुलेको कुनै प्रहरीले देख्यो भने घर लिएर पनि आउँथे कसैले हप्काउँथे घर जा छोरी भन्दै ।

त्यो बेला मेरो भाई थिएन । २ वटा बैनी र म मात्र थियौं । तिहारको टीका लगाउन एउटा भाई बनाएको थिएं । गोरखा मकैसिङ घर भएका प्रहरी जवान पदम गुरुङको छोरा सुनिल ।

बाबाको जिप्रका भक्तपुरबाट धादिङ गजुरी सरुवा भएपछि हामी गाउँ फर्केका थियौं । बैसाखमा गोरखा गएका थियौं तिहार कात्तीकमा थियो । तिहारमा पीङ खेल्ने, कुकुर तिहारको दिन बिहान उज्यालो नहुँदै नर्गे नुहाउने, गाईपुजा गर्ने र गाईको ढाडमा चामलको पीठो पानीमा घोली त्यसमा गीलास वा कुनै गोलाकार मुख एको भाडो चोपी गाईको सबै तिर छाप लगाउने, जसलाई हाम्रो तिर गाईलाई ढाप मार्ने भनिन्छ । गाई गोरु कट्ने बाटो माथी तोरन बाटेर टाँग्ने जस्ता कुरा मैले गाउँ गएर नै सुनेका कुरा थिए ।

त्यो बर्षको दशैंमा मलाई काठको पीङ हालीदिने रहर मम्मीले गरेपनि हतारो छ भनेर कसैले बनाईदिएनन् । मम्मीले घर नेरको कटहरको रुखमा डोरी झुण्डाईदिनु भयो । म मच्ची-मच्ची त्यहि पीङ खेलें दशैंमा । तिहारमा मम्मीले काठको पीङको सामान बनाई छोड्नु भयो लालु सार्कीबाट ।

पीङको सामान त आयो तर त्यो पीङ जोड्न पहिला दुईवटा बलिया सामान जोड्नु पर्ने रहेछ । मम्मीले नसक्ने गाउँका लोग्ने मान्छेलाई तिहार लागेर तासको खालमा ब्यस्त । सार्की काकाहरु बिहानैबाट जाँडले टिल्ल ।

मैले भनेको थिएं हाम्रो बाबा घरमा भएको भए हामी अस्तीनै पीङ हाल्थ्यौं है मम्मी ?

मम्मी केहि बोल्नु भएन त्यो बेला सायद मेरो कुराले नराम्रो लाग्यो होला । २ वटी बहिनी मेरो छेउमा आउँदै सोध्थे दिदी पीङ हाल्ने होईन ?
कान्छी बहिनी पुष्पाञ्जली तोते बोली बोल्थी । ४ बर्ष लाग्दै थिई बोल्न जानेकी थिई जति बेला दिदी पीङ हालम् भन्दै मेरो छेउमा आउँथी । म रीस उठेको बेलामा परे हप्काउथेें उता जा भन्दै मन खुशी भएको बेला परे हाल्ने हो एकछीनमा भन्थें ।

काग तिहारको दिन त्यसै बित्यो कुकुर तिहारको दिन गाउँका सबैको घरमा डुलें मम्मीलाई थाहा नदिई । सबै काका देखी हजुरबा सम्मलाई भन्थें मेरो पीङ हाल्दीनु न ।

सबैले भने तेरो ठुलो बाउलाई भन् न ।

ठुलोबुबालाई १० पटक भनिसकेको थिएं । उहाँले आफ्ना छोराछोरीलाई बनाएको पीङ देखाउँदै भन्नुहुन्थ्यो यहि पीङ खेल् अर्को पछि बनाउँला ।

म भने ठुलो बुबाको घरमा पीङ खेल्न नजाने नै निर्णय गरेको थिएं । दशैंमा उनिहरुको पीङ खेल्न जाँदा दिनभरी पीङको खाँबो समाएर बस्दा पनि खेल्ने पालो दिन्थेनन्् म रिसाउँदै फर्केर त्यहि कटहरको रुखमा हालेको डोरीको पीङ खेल्थें ।

कुकुर तिहारको दिन पनि बित्यो, मम्मी अब मेरो पीङ बन्दैन भन्नेमै पुग्नु भएछ मलाई सुत्ने बेलामा फकाउँदै भन्नु भयो छोरी त्यो काठको पीङ त खेल्न नहुने रैछ नि पल्लो गाउँमा तं जत्रै केटा लडेर टाउको काटेको छ रे । त्यस्तो जाबो काठे पीङ है छोरी भन्दै हुनुहुन्थ्यो म सुतेको ठाउँबाट जुरुक्क उठेर पर्दैन म लडे पनि काठकै पीङ खेल्ने हो भनें झोक्कीदैं । रुन त मलाई आउँथेन सकेसम्म ढिपी गरेरै काम लिन्थे म ।

भोली बिहान गाईको पुजा गर्ने हो, गाईलाई माला गाउने रंगाउने, बेलुका म सेल रोटी पकाउँछु, लक्ष्मी पुजा गर्ने कति रमाईलो हुन्छ जाबो पीङ है छोरी ?

मम्मीको कुरा सकीन नपाउँदै रिसाएर भनें नाई हुँदैन, भोली पीङ हाल्ने हो । यति भनेर बोल्दै नबोली सुतें मम्मीले अरु कुरा सुनाउनु भएन ।
भोलीपल्ट गाई पुजाको तयारीमा मम्मी लाग्नु भयो, पुजाको लागि हजुरआमा तोरण बनाउन बाबीयो बाट्न थाल्नु भयो म ठुलोबुबाको घरमा गएं । पीडीमा बस्दै भनें ठुलोबुबा पीङ हाल्दीनु न ।

कती कराउँछे यो दयारामकी छोरी सक्दीन म ठुलोबुबा रिसाएझै गर्नुभयो तर म फर्कीईन । हाल्दीनु न सबैको घरमा हालीसके फेरी भनें ।
ठुलोबुबाले भन्नु भयो ल म पीङ हालीदिन्छु दिनभर मेरो गाई गोरु हेरी द े।

के चाहियो र खुशि हुँदै भनें -‘हुन्छ म चराउँछु कति बजे फुकाउने हो गाईगोरु ?’

सायद ठुलोबुबाले सोच्नु भएको थियो होला म गाई गोरु हेर्ने शर्त मान्दीन होला भन्ने । उहाँलाई थाहा थियो म गाईगोरु चराउने त के सिङ भएका बाख्रा संग पनि डराउँछु भन्ने ।

बिहान १० बजे फुकाएर दिउँसो साडे ५ सम्म चराउनु पर्ने कुरा सुनाएपछि म हुन्छ भन्दै घरति दगुरें । मम्मीलाई यो कुरा भनिन, भनेको भए मम्मी मान्नु हुदैंनथ्यो भन्ने थाहा थियो । हतार हतार भात खाएर ९ बजे नै ठुलोबुबाको घरमा गएं ल अब फुकाउँ बस्तु भन्दै ।

९ बजे बस्तु लिएर ओरालो लागें थरथर काँप्दै । २ वटा गोरु र एउटा गाई थिए । गाईको नाम धेनु भियो, साह्रै गुनिलो गाई थियो त्यो । २ वटा मध्ये एउटा गोरु साह्रै छुच्चो, केटाकेटी देख्यो की गुरुरु हान्न आउने । डरले तिनीहरुलाई लठ्ठीले धपाउने आँट आएन, ढुङ्गाले हान्दै २० मिनेटको ओरालो झारें ।

चर्ने ठाउँमा पुगेपछि गाईगोरु चर्न थाले, त्यो हान्ने गोरुले हेर्यो कि बेतोडले दौडन्थें म । काम गर्न त्यो बाटो हीड्ने संग सोध्थें कति बज्यो अहिले ?

मेरो ध्यान गाईबस्तुमा भन्दा कहिले घर पुगौंला भन्ने थियो । सोच्थैं यतिबेला ठुलोबुबाले खाल्टो खनिसक्नु भयो होला, फेरी एकछीनमा खाँबो गाडिसक्नु भयो होला आदि कल्पनाको पीङमा मच्ची मच्ची खेलें त्यो दिनभरी ।

घाम डुब्ने बेलामा गाईगोरु धपाउन थालें उभों उभों भन्दै । यसरी उभों उभों भन्यो भने गाईबस्तु उकाले लाग्ने गरेको देखेको थिएं । जता भन्यो उतै गाई गोरु हिड्न नमानेपछि नजिकैको बारीमा बार लगाएको लामो बाँसको सिठो झिकें । त्यो सिठोले हिर्काउँदा म गाइगोरु भन्दा अलि टाढै हुन्थें । गोरु हान्न आए भाग्न भ्याउँछु भन्ने लागेर निकालेको जुक्ती थियो । बल्ल बल्ल गोठमा पुगे तिनीहरु ठुलोममीले बाँध्न नभ्याउँदै घरतिर दगुरें ।

नभन्दै मेरो पीङ बनेछ । खाजै नखाई पीङमा मच्चीन थालें, बैनिहरुलाई पनि पालैपालो खेलाएं । ममीले एक थप्पड हान्दै सोध्नुभयो कहाँ गईथिस् ? चाडबाडको दिनमा पनि गाउँमै बास तेरो । दुखेपनि रोईन भन्दीएं, बिहान ठुलो बुबाले भनेको कुरा । मम्मीको मन दुखेछ क्यारे केहि नबोली आँखाभरी आँसु बनाएर भित्र जानुभयो ।

मेरो तिहार बल्ल सुरु भएको थियो । मम्मी म भैलो खेल्ने हो आज भन्दै कराउन थालें । भट्याउन सब आउँछ भन्दै सुनाए

छानामाथी लौका देउसुरे
यहि हो माग्ने मौका देउसुरे
छानामाथी घिरौंला देउसुरे
के के दिन्छन् हेरौंला देउसुर

भैलो खेल्न जान साथी खोजें । उसोत १५ दिन पहिलेनै भैलोको प्लान बनेको थियो, मेरो पीङ नबन्दा यो कुरा सेलाएको थियो । पातलो बस्ती भएको मेरो गाउँमा भैलो खेल्न जानेमा देबेन्द्र सरकी छोरी अनिता न्यौपाने, ठुलो बुबाकी छोरी बिन्दु, लोकेदाईकी छोरी कमली, म र मेरा २ वटा बहिनीहरु भए ।

साथीहरु मेरा बहिनीहरुलाई लान मानेका थिएनन् । ठुली बहिनी रोषना ६ लाग्दै थिई । कान्छी ४ बर्ष लाग्न अझै २ महिना बाँकी थियो । यति सानालाई लगेर के भैलो गाउँछन् र भन्न थाली दिदी बिन्दुले तर म बहिनीहरुलाई नलगी नछोड्नेमा थीएं । मलाई बहिनीहरुको भागमा पर्ने पैसाको लोभ थियो । बहिनीहरु रमाउँदै जान्छु भने । मम्मीले कान्छी बहिनी नलैजा भन्दा भन्दै बोकेर हिँडें । मम्मीले आफ््नै गाउँमा मात्र होला भन्ने सोच्नु भएको रहेछ ।

हामी पहिले अरुको गाउँमा खेल्ने र अन्तिममा आफ्नो गाउँमा भैलो खेल्ने भयौं । रोटी चपाउँदै न्यौपाने खोलातीर ओरालो लाग्यो हाम्रो भैले टोली । न्यौपानेहरुको बस्ती भएको न्यौपानेखोला गाउँ बाक्लै थियो धेरै नै पैसा दिन्छन भन्नेमा ढुक्क थियौं हामी ।

पहिले मीश्रेको घरमा गयौं जान्नु के थियो र हामी तेसै आएनौ बली राजाले पठाका, यहि हो माग्ने मौका के के दिन्छन् हेरौंला, हजार रुपैया देउ, ढिला भै सक्यो आदि आदि । यस्तो भैलोलाई कसैले हजार रुपैया दिन्छ ल जाओ अन्त भन्दै बुढीले ५ रुपैया हातमा ल्याएर दिईन् । ५ रुपैया पाएपछि बिदा पाउँ हजुर भन्दै नाचेजस्तो गरेर कुदेउँ अर्को घरतिर

४ वटा घरमा ५ रुपैंया दिए सिदा पनि दिएनन् । ५ औ घर गाउँका नामी जोतिशको थियो । ति बुढाको नाम के थियो कुन्नी तर बिहानबाट बेलुका सम्म जाँड खाने भएर सबैले तिनलाई भुड्के कान्छा भन्थे । चिना बनाउने देखी नयाँ जमीनको माटो र ग्रहदशा हेर्ने काममा ठुलो नाम थियो उनको । त्यो जमानामा पनि पढेलेखेका मान्छे हुन् रे तिनी । तिनलाई चिना हेराउन या अन्य कामले भेट्न जानेहरु बिहान ४ बजे नै ओछ्यानमा पुग्नु पर्थो नत्र ६ बजे उठेर बुढा नेवार गाउँतिर छिर्थे जाँड खान ।

तिनको घरमा पुग्दा बुढि बुढालाई कराउँदै थिईन् । तिनकी बुढी साह्रै सोभासीली भिईन् संधै हाँसीरहेने गाली त के गर्थिन बुढालाई जाँडले टील्ल बुढा कराए होलान् बुढी सुत सुत बुढा नकराउ भन्दै थिईन् की ?

हामी गएर हे भन भन साथी हो देउसी रे भन्न थालेउँ, बुढा आँगनमा आए । मलाई देखेर ओ हो दयारामकी छोरी आईछ भैलो खेल्न भन्दै मेरो तारिफ गर्न थाले कम्ती बाठी छ यो, यसको घरमा जाँदा कति माया गर्छे मलाई ठुलाबा ठुलाबा भन्दै, यो भाग्यमानी छे, रुप हेरन रुप हिमालय पर्वतकी पुत्री पार्बती जस्ती छे, कती राम्री आदि आदी ।

बुढाले मेरो हुने नहुने प्रशंसा गरे र बाँकी सबैलाई अनुहार न दनुबारका सोमत नभाका छन् यीनीहरु त भन्दीए । मेरा बहिनीहरु त के बुझ्थे र अरु चै रिसाए आफुलाई नराम्रा भनेकोमा ।

बुढा भित्र छिरेर हात भरी पैसा बोकेर मेरो छेउमा आएर भने कति लान्छेस त सुषमा पैसा ? म खुषी हुँदै भने सबै दिनु ठुलाबा ।

बुढी लौन यो बुढा बौलाएको छ के हो भन्दै पैसा खोस्न थालीन् । बुढीले सबै पैसा लगेपछि म निच्च परें । बुढो बुढीलाई सराप्न थाले तेरो कमाई हो र ? म भैलीनीलाई जति मन लाग्छ त्यति दिन्छु, तेरो माईतबाट ल्याएको पैसा हो र ?

बुढो कराउन थालेपछि १० को नोट दिएर बुढीले ल जाओ जाओ भन्न थालीन् । बुढाले सोधे कति दिई यसले पैसा ?

म रिसाएझै गरेर भनें १० रुपीयाँ ।

बुढा बम्कीए, १०० रुपियाँ दे यसलाई उहाँ देखी ठुलोबाउलाई सम्झेर भैलो खेल्न आई बिचरा ।

बुढी के मान्थीन बल्ल बल्ल १० रुपैया थपेर २० रुपैया बनाईदिईन् । हाम्लाई जाओ अब भन्दै बुढालाई घिच्याउँदै भित्र लगिन् । ५ रुपैया बाट एकैचोटी २० रुपैया पाएपछि म गफ दिन थालें मलाई भएर २० रुपीयाँ दिए तिमीहरु मात्र आको भए ५ रुपीयाँ दिन्थे ।

त्यो गाउँमा सबैको घरबाट ५ रुपैया भन्दा बढि पाईएन । न्यौपाने खोलाका घर चाहारेपछि हामी आफ््नो गाउँ भन्दा पारी पट्टीको गाउँमा जाने भयौं । त्यो गाउँलाई हामी पारी गाउँ नै भन्थेउँ । सानि बहिनी हिड्न नमानेर हैरान खेलाउँथी, आफु नौ बर्षको थिएं बोक्न सास्ती हुन्थ्यो । उकालोमा हिँडाउँथे समथर बाटोमा बुईमा बेक्थें सकीनसकी । त्यो बुईमा बस्दा चुप लाग्थी, हिड्नु परे रुन थाल्थी । म मुनीकी रोषना निदाउँदै हिड्थी ।

उकालो लागेउँ हामी, पारी गाउँ पुग्न ४५ मिनेट जति लाग्छ, त्यसमा पनि रातीमा त डेड घण्टानै लाग्छ होला हामीलाई । त्यो ठाउँ पुग्दा सम्म बिचमा गाउँ छैन खेत र बारीमात्र, ठाउँ ठाउँमा बर्षौ देखी बर्खाको पानीले बनाएको खोल्सा खाल्सीहरु छन् कुनै साना र कुनै भिरजस्ता ।

सानि बैनीलाई बुईमा बोकेर ठुलीलाई हिँडाउदै थिएं, पारी गाउँ पुग्ने बेलामा पछाडी भएकी बहिनी अग्लो खोल्साबाट तल खसी । खोल्सो यति ठुलो थियो की दिउँसोमा पनि होस गरेर हिड्नु पर्थो । त्यो खसेपछि सबै कराउन थाले, बहिनी एउटा रुखको पोथ्रामा गएर अड्केकी रहिछे ।

त्यो तल बसेर च्याठ्ठी च्याठ्ठी रुन थाली म माथी बसेर कराउन थाले चुप लाग् केहि हुन्न । आपत आईलागेको थियो कसलाई बोलाउने पारी गाउँमा त्यहाँबाट बोलाएको सुनिदैन, बहिनी छोडेर गाउँले बोलाउन जाउँ भने बैनि अझै तल खस्ली भन्ने डर । अरुलाई बोलाउन जाओ भनेको मानेनन् ।

मेरो मुर्ख बुद्धी त्यहाँनेर काम आयो, माथीबाट बहिनीलाई नकराई बस् म आउँछु भनेर तल झरें चिप्लेटी खेलेझैं । माथीबाट अरुले बत्ती देखाए । बहिनी भएको ठाउँमा त पुगें तर त्यसलाई माथी ल्याउने कसरी ? तल झरु त्यो अन्धकारमा त्यती तल छ जमीन । माथी उक्लीउँ बैनी बुईमा बोकेर आउन सक्ने म थिईन । त्यसमा पनि त्यो म भन्दा ४ बर्ष कान्छी भएपनि मेरो र त्यसको तौल बराबर थियो होला, म पीलन्धारे त्यो मोटी न मोटी ।

जे भएपनि बैनिलाई निकाल्नै पर्छ भन्ने बुद्धी चाहिँ थियो मेरो । माथीका साथीलाई टर्चलाईट तल फाल्देओ भनेको मानेनन् । पर्दैन हाम्रो घरमा लाईट फुट्यो भने मार्छन् भन्न थाली कमली ।

झोक्कीदै भनें खुरुक्क दे तेरो लाईट फुटे हाम्र्रो मम्मीले नयाँ किनीदिनु हुन्छ । कमलीले भनेको नमानेपछि फेरी माथी उक्लीएं सकीनसकी । लाईट कमलीको हातबाट खोसेर फेरी तल झरें । लाईट बालेर बैनिको छेउमा पुगेर भनें मैयाँ त नडरा बिस्तारै मेरो हातमा समाउँदै मैले जहाँ भनयो त्यहीं टेक् है ।

त्यो रुन थाली नाई मलाई बोकेर लैजा ।

चुपलाग् यहाँ बोक्न मिल्दैन भनेर थर्कापछि डरले रुन पनि छोडी त्यो । नभन्दै जहाँ घाँसको बुटा छ त्यहाँ टेक्न लगाउँदै तल पानी बगीरहेको ठाउँमा पुर्याए ।

बैनिको चप्पल हराएछ । मेरो चप्पल भन्न थाली खुट्टा भिजेपछि । मेरो चप्पल लगा भनेर दिएं, ठुलो भएपनि लगाई । त्यसको के बानी हो कुन्नी चप्पल एकछीन छोड्थीन ।

त्यहाँबाट मुलबाटो सम्म आईपुग्न १० मिनेट लाग्यो । बल्ल शान्ति भयो भन्ने सोचेको कान्छी बैनि रुन थाली, घाँसमा छोडेर गएको त्यसको शरिरमा ८–९ वटा जुका लागेछन् । आपत पनि कति आई लागेको, आफुलाई जुका देखेर साह्रै डर लाग्थ्यो । तितेपाती लगाईदियो भने जुका झर्छ भन्ने थाहा थियो तितेपाती दलेर देखेजति जुका झारीदिएं ।

दुईटै बैनी घर जाम् दिदी भन्न थाले । अझ ठुलीलाई त्यति गरेर बचाएको त्यो नै म सबैकुरा ममीलाई भन्दीन्छु भन्दै रुन थाली । भनिस भने मार्दीन्छु भन्दै हप्काएं र अरु साथीलाई पनि बैनी लडेको कुरा कसैलाई नभन्न बाचा बधाएं । बाचा पनि के हुन्थ्यो र सत्य बिद्या नास्ट । हुनत बिद्या नस्ट होला तर हाम्रो तिर सबै बिद्या नास्ट नै भन्थे ।

यत्रो उपकथा भै सकेपछि घर नफर्केर फेरी पारी गाउँ तिर लाग्यौं । रातको ११ जति बजेको हुँदो हो, निदाएर हो की नटेरेर हो १४ वटा घरमा ५ घरका मान्छेमात्र उठेर ५ रुपैया दिदैं लखेटे । अब हाम्रो गाउँमा भोली खेल्ने भन्दै फर्कीएउँ । मेरो घरमा पुगेर पैसा गन्दा १२० रुपैया भएछ । पैसा भोली भाग लाउने भन्दै साथीहरु गए ।

ठुली बैनिको लडदा कुहिनो र छातिनेर ददारेर घाउ भएको रहेछ । मम्मीलाई देख्नासाथ रुदै त्यसले घटनाको बेलिबिस्तार लगाई । त्यसले कुरा लगाउन थालेपछि सानि पनि रुन थाली मम्मी मलाई बुजीले टोकेको भन्दै लुगा सारेर देखाउन थाली । जुका भन्न नजानेर बुजी भनि त्यसले ।

मम्मीले त्यतिबेला पिट्नु त भएन तर गाली खुब खाएं । गाली खाएपनि पैसा हिसाव गर्न थालें । एउटाको भागमा २० रुपैया परेछ । मेरो घरमा ६० रुपैया आउने भयो म दंग भएं ।

त्यो बर्ष दिपावलीको भोली पल्टनै भाईटिका परेको थियो । यस पटक हामीले ठुलो बुबाका छोराहरु सुनिल र सुजनलाई टिका लगाउने भयौं । संजोगले मैले भक्तपुरमा टीका लगाउने भाई र याउ भाईको नाम मिलेको थियो सुनिल ।

म बिहानैबाट यो लुगा लाउँछु र उ लुगा लाउँछु भन्दै छान्न थाले । त्यतिबेला मेरो मामा माईजु हङकङमा हुनुहुन्थ्यो हाम्रो लुगादेखी चप्पल सम्म हङकङबाटै आउँथ्यो । गाउँमा अरुलाई दशैं तिहारमा स्कुलको ड्रेस वा सामान्य लुगा किनीदीन्थे त्यसैले पनि मेरो लुगा गाउँभरीमा राम्रो हुन्थ्यो ।

मामासँग जोडिएका पनि धेरै प्रसंग छन तर एउटा प्रंसग भने जहिल्यै मनमा ताजा हुन्छ । मामा छुट्टिमा हङकङबाट आउदा हामी काठमाण्डौबाट मामाघर र मामाको ससुराली जान्थ्यौं । गोरखाको च्याग्लिगंमा भएको मामाको ससुराली जान तनहुको बिमलनगरबाट हिडनु पथ्र्यो । म त्यतिबेला करिब ७ बर्षको थिए होला, बाटोमा हिडदै थियौं, एउटो ढुंगामा मेरो खुट्टा ठोकियो । त्यति धेरै दुखेको त थिएन तर म दुख्यो कि दुख्यो भनेर रुन थाले । म यहाँबाट हिडदै हिडदिन भन्न थालेपछि मामाले यसलाई सजाय दिन परयो भाञ्जि भन्नु भयो । मैले मामाको कुरामा सहि थाप्दै हो, यसलाई एक सय पटक लात्ताले हानेपछि मात्र जान्छु भन्न थाले । मेरो जिद्धि बानी थाहाँ पाउनु भएको मामा हुन्छ नि भाञ्जि भनेर हान्न थाल्नु भयो । बिस्तारै बिस्तारै हानी रहनु भएको मामालाई मैले हुदैन जोरले हान्नु भनेर गन्दै भनेपछि उहाँलाई करै लाग्यो । करिब ६० पुगेपछि मामाको जुत्ताको अगाडि पट्टिको भाग फयागंल्यागैं निक्लियो र लाउनै नमिल्ने भयो ।

वरपर पसल थिएन, फेरी अर्को आपत आईलाग्यो जे भएपनि मामा लाज मान्दै त्यहि उप्किएको जुत्ता लगाएर ससुराली पुग्नु भयो । मामाले सायद ३–४ पटक भन्नु भयो, मैले किनेर पहिलो पटक लगाएको जुत्ता हो यो ससुराली जाँदा पनि भाञ्जिको कृपाले उप्किएको जुत्ता लगाएर जानु पर्ने भयो ।

बिहानदेखी राम्री हुनलाई ठुलै मेहनत गरेर १० बजेतिर बैनिहरु लिएर ठुलोबुबाको घरमा गएं । दिदी बिन्दु र भाईहरु पीङ खेल्न लागेका थिए । म पनि खेल्छु भन्दा तिनीहरुले दिएनन् । म रिसाउन थालें ठुलो भाई सुनिलले भन्यो हाम्रो दिदी छंदै छनी किन आएका हाम्रो घरमा टीका लगाउन । तिमीहरुले लगाएको टिका हामी लाउँदैनौ ।

यति सुन्नु के थियो म बैनिहरुलाई त्यहिँ छोडेर घर आए । मम्मीलाई कुरा लाउँदै लाउँदीन म तिनीहरुलाई टिका मलाई पनि भाई पाईदिनु भन्दै रुन थालें ।

मम्मीले थमथमाएर फेरी ठुलोबुबाको घरमा पुर्याईदिनु भयो, त्यो बर्षको टीका मन नलागी नलागी लगाईदिएं ।

त्यो दिनबाट म मम्मीको गलापासो नै बनें, जति बेला मम्मी भाई पाईदिनु है भनेको भनेई गर्न थालें । समय बित्दै थियो । तिहारको मेरो रुवाईले खै मम्मीको मनले के सोच्यो साँच्चै हाम्रो घरमा नयाँ बच्चा आउने भयो । मम्मीे गर्भवती त हुनु भयो तर भाई जन्मने मिति मंषिरमा पर्यो ।

जे होस् म दंगदास थिएं, सबैलाई मेरो मम्मीले भाई जन्माउनु हुन्छ, हामी तिहारमा हाम्रै भाईलाई टिका लगाउँछौं भन्दै हिडें तर मम्मीलाई पीर नै हुँदो हो यो पटक पनि छोरी नै जन्मने हो की भन्ने । बुबा कहिलेकाँही घर आउँदा भन्नु हुन्थ्यो यसको रहरले घरभरी बच्चा हुने भए । मलाई त २ वटी छोरी भएपछि पुगेको थियो, कसरी पढाउने ४ वटा बच्चा यो जमानामा भन्दै फतफताएको सुन्थें ।

अहिले सम्झदा लाग्छ जन्मन लागेको बच्चा मेरै ढिपीले जन्मदै रहेछ, नत्र त मम्मी बाबालाई ३ वटी छोरी मै पुगेको रहेछ ।

गर्भवती भएको बर्ष मम्मी साह्रै बिरामी हुनुभयो । गोरखाको पालुम्टारमा गाडी गएको थिएन त्यो बेला । बिरामी पर्दा आँपपीपल अस्पताल जानु पर्थो करिब ३ घण्टाको उकालो चढेर । बुबाको पुलीसको जागीर १ दिनको बिदा बल्ल बल्ल मिल्थ्यो । एक दिन मम्मी उठ्नै नसक्ने हुनुभयो । अस्पताल लान कोहि तयार भएनन् । पल्लो गाउँको कालुसार्कीले मम्मीलाई डोकामा बोकेर आँपपीपल पुर्याएका थिए । भाई जन्माउने रहरमा मम्मीले सास्ती पाउनु भएको थियो । त्यो बर्षभरीनै मम्मी बिरामी पर्नु भयो ।

समय बित्तै गयो, अर्को तिहार आयो, मंसीरमा मम्मी सुत्केरी हुँदै हुनुहुन्थ्यो । म ढुक्क थिएं भाईनै जन्मनेमा । केटाकेटी बुद्धी त हो, बैनिहरुलाई पनि भाई जन्मन्छ भनओ है जस्ले सोधेनी भनेर सिकाउँथे । यो बर्ष पनि तिहारको टीका ठुलोबुबाकै घरमा भयो ।

मंसीर २२ गते बिहानैबाट मम्मीलाई सुत्केरी ब्यथा लाग्यो, घरमा बुढी हजुरआमा र हामी मात्र थियौं, । एकदुई दिन भित्रमा घर आईपुग्ने कुरा बाबाले ५ दिन पहिले मैले तुरतुरे पुगेर गरेको फोनमा सुनाउनु भएको थियो । गाउँको हेल्थपोस्टमा सुत्केरी गराउने ब्यवस्ता थिएन ।

यसअघि मम्मी हस्पीटलमानै सुत्केरी हुनुभएको थियो, म प्रसुतिगृह थपाथली र बैनिहरु भक्तपुर हस्पीटलमा जन्मेका हौं । मंसीर २२ गतेको साँझ मम्मीको पीडा हेरीसाध्य भएन । संजोगले साँझ साडे ८ बजे तिर बुबा धादिङबाट आईपुग्नु भयो ।

बिहानबाटै बेथा लागेको थियो मम्मीलाई तर बच्चा अहिले सम्म जन्मेको थिएन । मम्मीको पीडा हेरीसाध्यको थिएन । ९ बजेतिर बाबा र म हेल्थपोस्ट पुगेउँ । त्यहाँ तराई तिरका यादव थरका डाक्टर थिए । उनि क्वाटरमै बस्थे उनि हाम्रो कुरा सुनेर आउन त तयार भए तर नर्मल सुत्केरीमा हामीबाट केहि होला गाह्रो भयो भने हामी संग केहि सामान छैन, केहि गर्न सकिंदैन भने ।

अर्का डाक्टर दयाराम न्यौपाने घरमा सुतेका रहेछन् तिनलाई पनि लिन गएउँ । डाक्टर लिएर आएउँ हामी । पुरानो घरको मजेरीमा मम्मी सुन्नै नसक्ने गरि च्याठ्ठी रहनु भएको थियो २ वटी बहिनी पनि छेउमा बसेर रुदैं थिए । ९ः३० बजे घर पुगेका डाक्टरको केहि सिप लागेन । बच्चा जन्मने संकेत थिएन यता मम्मी बिहानैदेखीको ब्यथाले ईन्तु न चिन्तु भै सक्नु भएको थियो ।

राति १२ बजे सम्म बच्चा नजन्मीएपछि डाक्टरहरुले दारी काट्ने ब्लेट माग्न थाले । धन्न हाम्रो गाउँको हेल्थपोष्ट सुत्केरी गराउने सामान्य औजार पनि रहेनछ । बाबाले हुँदैन भन्दै हुनुहुन्थो यादव डक्टर रिसाए । के गर्ने त अव बच्चा नझीके तपाईको बुढी मर्छ । जे ले भएपनि घर काट्नु पर्यो र बच्चा निकाल्नु पर्यो । हात हालेर ननिस्कने भयो बच्चा ।

बिचरा बाबा के गर्नु न गर्नुको अन्यौलमा ब्लेड खोज्न जानुभयो र ल्याएर दिनुभयो । यो दृश्य मैले हेरिरहेको थिएं, मनमा डर थियो तर रोएको थिईन । गाउँका आईमाईको भेला भएको थियो ।

डाक्टरले ब्लेडले काट्न थालेपछि मम्मी फेरी च्याठ्ठीनु भयो नराम्रोसंग । रगतको आहाल बन्यो तर बच्चा निस्केन । कोशीषमा जुटेका डाक्टर भन्न थाले अब हामी सक्दैनौं, आँपपीपल लानु पर्यो ।

काटेको ठाउँबाट रगतको धारो बगेको थियो । यस्तो अवस्थामा मान्छे जुटाएर ३ घण्टाको बाटो लिएर जाँदा मम्मी बाँच्ने कुरा कसैले पत्याएनन् ।

मलाई कान्छी बैनिले तोते बोलीमा मेरो मम्मीलाई काटेर कीन मार्न लागेका भनेको कुरा हिजै जस्तो लाग्छ । त्यो बहिनी  मास्टर्स गर्दैछे वायोलोजीमा ।

भगवान् भरोसा मितज्यु भनेर दयाराम डाक्टरले बुबाको मुखमा हेरे । बुबाको र ती डाक्टरको नाम मिल्ने भएकाले सानैबाट मिज्यु भन्दा रहेछन् । नआत्तीनु मितीनी भन्दै थिए ति डाक्टर मम्मीले सुन्नु भयो की भएन कुन्नी ।

तिनीहरुले अव के गर्नु फेरी घर काटौं बरु पछि टाँका लगाउला के गर्नु त सकेसम्म आमा त बचाउनै पर्यो भन्न थाले । तिनीहरुलाई पेट भित्रको बच्चा मरेको शंका लागेछ । फेरी सुरु भयो ब्लेटले काट्ने काम । ठुलै संघर्ष पछि बच्चा जन्मीयो मंसिर २२ गते राति १ बजेर २० मिनेटमा । त्यो मेरो भाई सुवर्ण थियो ।

जीउँदो बच्चा जन्मेकोमा डाक्टरहरु खुषी त भए तर तिनीहरुको अनुहारमा रुनु न हाँस्नुको भाव थियो । उनिहरु मम्मीको घाउ सिलाउन थाले । गाउँलेहरु यति ठुलो रहेछ बच्चा र पो जन्मन गाह्रो भएको भन्दै थिए ।

मैले भाई जन्मनु पहिलेनै सोचेर राखेको नाम सुवर्ण त्यहि दिन राखें, आज त्यो बच्चा १२ कक्षा सकेर बसेको  छ ।  भाई जन्मिीयो मम्मी एक महिना थला परेजस्तै हुनुभयो । त्यति सानो हुँदा पनि म भाईका दीसा पीसापका थाङ्ना आफैं धुन्थें । हाम्रो घर उज्यालो भएको थियो । सबैभन्दा खुषी म थिएं । मलाई अर्को तिहार कैले आउला जस्तो भएको थियो ।

तिहार आयो ११ महिनाको भाईलाई टिका लगाउने भयौं । बोल्न जान्दैनथ्यो, कुरा बुझथ्यो अलि अलि भाईले । टिका लगाउने ठाउँ वरिपरि पनि मालै मालाले सजाएको थिए मैले । फुलमाथि नै बसेर टिका थाप्ने भयो त्यसले । त्यो बर्ष हामीले भाईको सानो निधारमा तिन दिदि बहिनीले ३ वटा धर्का बनाएर संप्तरंगिले सजायौं ।

अहिले भाई १२ कक्षा सकेर बसेको  छ । जन्मीए पछि नै धेरै जसो मै संग सुताउँथे उसलाई । ममी मान्नुहुन्थेन, राती कति पटक म आफैं सुतेको ठाउँबाट लड्थें निन्द्र्रामा । भाईको जतन निदाएसी के गर्ने यस्ताले भनेर डराउनु हुन्थ्यो । तै पनि म मान्थीन, दुध ख्वाईदिनु राती रोया े भने म ल्याईदिन्छु भन्दै आफ्नो ओछ्यानमा लान्थें । न भए ममी संगै सुत्थें भाई नछोड्न । भाई २ बर्षको भएपछि भने ममी संग उ पुर्ण रुपमै सुत्न छोड्यो, म तुत्मा दिदी संग सुत्छु भन्दै रुन्थ्यो । त्यस्को बोली फुटेपछि के के बोल्यो प्राय सबै मलाई याद छ अहिले पनि ।

भाईको बोली प्रस्ट भएपछि तुत्मा दिदीबाट सुस्मा दिदी भएं म । तर उसले म माथीका दुईटै बहिनीलाई दिदी भन्न जानेन, उनिहरुलाई मैंया र कान्छी भन्छ उ । म एसएलसी सकेर काठमाडौं पढ्न आएपछिको एक बर्ष साह्रै मुस्कीलले कट्यो मेरो । सुरुका महिनाहरु कती पटक एक्लै रुन्थें म भाई सम्झेर । भाई पनि म जस्तै भयो, सानो कुरामा गालि गर्नासाथ, सुस्मा दिदी नभएर हेपेका मलाई सबैले भन्दै रुन्थ्यो रे ।

भाई जन्मीएपछि मैले आजसम्म कसैलाई तिहारको टिका लगाएको छैन, २ बर्षको तिहारमा म घर जान पाईन तै पनि मैले दाईभाई बनाएर टीका लगाईदिईन कसैलाई । ठुलो भैसक्यो अव उ । तर म सानोमा जसरी उसलाई, मेरो बाबा, मेरो बच्चा भन्थें उहि सम्बोधनमा बोल्छु उ संग । कसैसंग कुरा गर्दा मेरो भाई भनेको कमै हुन्छु मैले । मेरो बाबु नै भन्छु ।

उ कम बोल्ने स्वभावको छ घरका अरु भन्दा तर उ म संग बोलेर थाक्दैन । दिनमा एकचोटी फोनमा नबोली हुँदैन उसलाई । उस्तै बच्चा झैं लाडे भएर बोल्छ म संग । घर जाँदा सबै समय म संगै हुन्छ, गीत गाउनु न, कबिता सुनाउनु न, कथा लेख्नु भएको छैन नयाँ आदि आदी कुरा सोधीरहन्छ । रिसायो भने मलाई यो घरमा सुस्मा दिदीको बाहेक कसैको माया लाग्दैन भन्दै रुन्छ । चित्न नबुझे रुने बानी अझै हटेको छैन उसको । घर जाँदा म संगै सुत्छ उ । सानो बाट लिएर सुतेको भएर, थोरै अप्ठेरो भयो उसलाई भने नि थाहा भै हाल्छ मलाई ।

मलाई सानोमा मम्मी संधै भन्नु हुन्थो, ‘यो जीद्धीले ठुलो भएसीनी कती दुख दिने हो’ भनेर । तर भाई जन्मेपछि म आफैं सुर्धदैं गए । आज पनि म हरेक काम गर्दा उसलाई सम्झन्छु, जाँगर आउँछ, सानो सानो कुरा यस्तो गर्दैछु नि काली म भनेर उसलाई सिएर गर्छु । उ सुझाव त दिन जान्दैन, खुव चासो दिएर सोध्छ । मेरो रहरले जन्मेको मेरो भाई सुर्वणले नै सिकायो मलाई जीम्मेवार हुन ।