अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

आँखाको नानी प्रत्यारोपण र सङ्कलन कार्य सुरु

बिआरटीनेपाल २०७४ असोज २५ गते ६:५२ मा प्रकाशित

मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी सङ्कलन र प्रत्यारोपणको कार्य सुरु गरिएको छ ।

यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य सुरु गरिसकेको छ भने सङ्कलन कार्य यसै साताबाट सुरु गर्नका लागि आवश्यक तयारी गरिरहेको छ ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति सङ्घ चितवनका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार तिलगंगा आँखा अस्पताल काठमाडौँमा रहेको नेपाल आँखा बैङ्कसँग यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ सङ्कलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपण गर्दा त्यहीबाट झिकाइने उहाँले बताउनुभयो ।

नानी प्रत्यारोपणका लागि अस्पतालले एक जना चिकित्सकलाई अरबिन्द आँखा अस्पताल तमिलनाडु भारत पठाएर आवश्यक जनशक्ति तयार गरिसकेको छ । अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्नेसम्बन्धी तालीम लिएर आइसकेको धरेलले बताउनुभयो ।

नानी सङ्कलनपछि अप्टिसोल मेडिया र कर्नीसोल मेडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी नबिग्रने धरेलले बताउनुभयो ।
नानी प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आउनुभएकी डा पुष्पा गिरी श्रेष्ठका अनुसार उहाँ फर्किएपछि हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फूलो परेर दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजार लागतमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।

कुनै पनि व्यक्तिको मृत्यु भएको छ÷सात घण्टाभित्रमा आँखाको नानी निकाल्नसकेमा त्यसलाई उत्तम मानिने बताउँदै श्रेष्ठले १२ घण्टासम्ममा निकाल्न सकिने बताउनुभयो । एचआइभी÷एड्स, हेपाटाइटिसजस्ता सरुवा रोग भएका व्यक्तिबाहेकको नानी सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू