अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

भारतको मिरगञ्ज पुल मर्मत भई परीक्षण सम्पन्न

बिआरटीनेपाल २०७४ असोज २३ गते १९:१८ मा प्रकाशित

गत भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठुला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ ।

उक्त पुल मर्मत सम्भार गरी सवारी सञ्चालन गर्न करिब डेढ महिना लागेको छ । उक्त पुलबाट आजदेखि साना तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन हुनु पर्नेमा सोमबार मध्याह्नसम्म सञ्चालन हुन नसकेको विराटनगर भन्सार कार्यालय रानीका नासु देवीभक्त पौडेलले राससलाई बताउनुभयो ।

पुल मङ्गलवारदेखि पूर्णरुपमा सञ्चालन भई ठुला सवारी साधन आवागमन हुने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । भारत एवं तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मिरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थसहित अन्य सामग्री आयात हुने गरेको थियो ।

उक्त मार्गको रेल्वे यसअघि नै सञ्चालनमा आएको थियो भने मिरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आयात हुने सामग्री भन्टाबारी भन्सार नाका हँुदै विराटनगर आइरहेको थियो ।

उक्त पुलमा तीनवटा ‘स्क्रुपाइलिङ’ हालेर पूर्णरुपमा मर्मत गरिएकाले ठुला मालबाहक साधन आउजाउ गर्न सक्ने बनाइएको निरीक्षण गरेर फर्किएका नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।

पुल अवरुद्ध हुँदा सुनसरी, मोरङका उद्योगी, व्यवसायीले सुनसरीको भन्टाबारी नाका हुँदै औद्योगिक सामान आयात गर्दा अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र समय पनि बढी लाग्ने गरेको थियो । पुलबाट ठुला मालवाहक सामान नआउँदा विराटनगर भन्सारको राजश्व सङ्कलनसमेत प्रभावित हुन पुगेको थियो । (रासस)
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू