अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

पिल्सिएको परदेशीमन

राम लामा अविनाशी २०७४ असोज २२ गते १५:२५ मा प्रकाशित

तिम्रा पढाइका हरेक सर्टिफिकेटहरु
मेरा पसिनाका थोपा- थोपाले लेखिएका छन् ।
कुनै अक्षर, अरबमा चर्को घामले निस्किएका पसिनाले लेखिए,
कुनै अक्षर, कोरियामा पग्लेका हिउँका थोपा-थोपाले लेखिए ।

म यसैमा खुसी छु
आज तिमी,
म नाथे काम्दारका पसिनाले लेखिएका
गहकिला सर्टिफिकेटहरु देखाएर
सर्ब शक्तिमान देशको
महत्त्वपूर्ण ओहोदामा आसिन भएका छौ,
प्रतिष्ठित व्यक्ति भएका छौ ।

जवानीका पाखुराका बल
तिमीलाई हुर्काउने बोझ उठाउंदा सिद्धिए
आफ्ना बैँसका चाहनालाई निमोठेर
तिम्रो उज्जल भविष्य हेर्ने चाहनामा हौसिएं
आफ्नो छाक काटेर
तिम्रो पौष्टिक आहारको जोहोमा लागें
आफ्नो शक्ति सिद्ध्याएर
तिमीलाई सबल बनाउन तिर लागें ।

तर आज म,
वैदेशिक रोजगारबाट फर्किनु अगावै
मेरो जीबन् भर रगत् पसिनासँग साटेको
तिम्रो पालन पोषण गरी बचेँको
सारा सम्पत्ति कुम्ल्याएर अर्कैसँग भागेकी
तिम्री आमाको सम्झनाको घुट्की लगाई रहेको छु ।
चरित्रहिन भन्दिन,
बैँसको कदर गर्नसकेकोमा बधाई छ उनीलाई ।

काबियलताले तिम्रो परिवारिक स्तर निराधारण गरेको छ
जहाँ मेरो पसिनाको मूल्यको कदर हुन सकेन ।
त्यसैले,
तिम्रो सफलता सम्झेर कहिले काँही बुर्कुसिने मन्को ऊर्जाले
मेरो एक्लो फुक्लो अशक्त शरीर
ब्र्हमाण्डको यतै कतै कुनामा घिस्रिई रहेको छ
तै पनि रत्तिभर गुनासो छैन
फलोस फुलोस तिम्रो जीवन
आशीर्वाद छ बाबु तिमीलाई, आशीर्वाद छ छोरा तिमीलाई ।