अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

गायिका इन्दिरा जोशी सुन्दर हुनुका ५ रहस्य

बिआरटीनेपाल २०७४ असोज १९ गते ११:३५ मा प्रकाशित

शुभचिन्तकहरुले इन्दिरा जोशीलाई नेपाली ‘साकिरा’को उपमा दिएका छन् । मीठो स्वर मात्रै होइन, उनको आकर्षक ज्यानले समेत धेरैलाई भुतुक्क पारेको छ । स्टेजमा पुगेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको संख्या ठूलै छ । आकर्षक ज्यान र जोशिलो प्रस्तुतिका लागि इन्दिराले अपनाउने स्वास्थ्यसँँग सम्बन्धित केही होसियारी

पानी पिउने बानी

कुराकानीमा सुरुवातमै उनले पानी मगाइन् । उनको हातबाट पानीको बोतल कुराकानीको अन्त्यसम्म टुटेन । एक घुट्को पिए पनि पाएसम्म पिइरहने बानी रहेछ । इन्दिराले भनिन्, ‘पानी त म धेरै नै पिउँछु ।’ दिनमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ । आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् । ‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ । बिहानै पानीले धोएर बाहिरी अंगमा टाँसिएको फोहोर सफा सबैले गर्छन्, खाली पेटमा पानी पिउने हो भने भित्री अंगका फोहोर पनि सफा हुन्छन्,’ उनको बुझाइ छ । उनलाई प्रिय ठान्ने  र बनाउन चाहने धेरै छन् । उनी भन्छिन्, ‘यही सुझबुझले हो कि मेरा लागि त पानी प्रिय भयो ।’

खानपानमा होसियार

खानपानमा होसियारी अपनाउनमध्ये पार्न चाहन्छिन् आफूलाई । ‘धेरै चिल्लोचाप्लो र गुलियो खानेकुरा जिब्रोले मागे पनि मनले नखान भन्छ, जहिल्यै कन्ट्रोल गरिरहेकी हुन्छु,’ उनी भन्छिन् । उनी आफ्नो मनको कुरा सुन्छिन् । त्यसैले साथीभाइको लहलहैले ज्यानलाई हानि गर्ने खानेकुरा खान उत्साहित हुँदिनन् । खाना खाँदा उनलाई तरकारीको मात्रा अलि बढी नै चाहिन्छ । उनी सबैलाई सुझाउँछिन्, ‘भात कम तरकारी बढी खाँदा राम्रो ।’

खानपान शैली पनि उनले स्वास्थ्यवर्धक अपनाएकी छन् । उनी भन्छिन्, ‘नेपालीको खाने शैली अलि उल्टो छ ।’ विश्वका  धेरै देश घुमिसकेकी उनी खाने समय र तरिका चाहिँ पश्चिमाहरुबाट सिक्नैपर्ने बताउँछिन् । ‘हाम्रो बेलुका धेरै खाने, बिहान र दिउँसो सामान्य खाजाले काम चलाउने बानी छ । यो तरिका स्वास्थ्यका लागि वैज्ञानिक होइन,’ उनको राय छ । बेलुकी सुत्नु भन्दा कम्तीमा ३ घन्टाअघि खाने गरेको उनी बताउँछिन् । अरुलाई पनि उनको सुझाव छ, ‘सुत्नुभन्दा दुई, तीन घन्टाअघि खाने बानी बसाल्दा मोटोपनको समस्या आउँदैन ।’

नेपालको सहरी जीवन खानपानकै कारण रोगी हुँदै गएको उनको ठहर छ । ‘जंक फुड, आइसक्रिम, सेकुवाजस्ता खानेकुरा धेरै खाने तर एक्सरसाइज नगर्ने बानी धेरैको हुन्छ,’ उनले भनिन् । उनी सुगर धेरै भएका खानेकुरा धेरै खाँदिनन् । सेकुवा जस्ता खानेकुरा खाएपछि उनलाई कागती पानी पिउनैपर्छ ।

फलफूलमा रुचि

नेपालमा बस्नेले स्वस्थ र सस्तो फलफूलको महत्व नबुझेजस्तो लाग्छ उनलाई । ‘विदेशमा फलफूल उपभोग योग्य प्रमाणित भएर उपभोक्ताको हातमा आइपुग्न निकै दिन लाग्छ, हामी तुरुन्तै खान पाउँछौँ । तर यसलाई वास्ता नगरेर हानिकारक खानेकुरा खाइरहेका हुन्छौं,’ उनले भनिन् । उनी आफू खानेकुरामा फलफूलमा जोड दिन्छिन् । फलफूल पाउँदा पाउँदै पनि ‘सप्लिमेन्ट’को सहारा लिने आम नेपालीको बानी सुधार्न सुझाउँछिन् ।

सक्दो घरेलु उपचार

मान्छेको ज्यान न हो, जीवनशैलीमा परिवर्तन आउँदा बेलाबखत स्वास्थ्य बिग्रिन्छ नै । एलर्जी, कब्जियतजस्ता समस्याले इन्दिरालाई पनि कहिलेकाहीँ दुःख दिन्छन् । तर तिनलाई ठीक पार्न सक्दो घरेलु उपाय अपनाउँछिन् । आयुर्वेदिक चिकित्सा पद्धतिमा उनको विश्वास छ । ‘घरेलु अथवा आयुर्वेदिक उपचार पद्धतिले ढिलो ठीक पार्ला तर साइड इफेक्ट हुँदैन,’ उनले भनिन् । स्वस्थ जीवनशैलीले हालसम्म बिरामी भएर अस्पतालको दैलो देख्नु नपरेको उनले बताइन् ।

स्वास्थ्यका लागि संगीत

विश्वमा ‘म्युजिक थेरापी’ लोकप्रिय हुँदै गएको छ । नेपालमा त्यसलाई महसुस गर्न सकिएको छैन । तर भूकम्पपछि भने स्वास्थ्यका लागि संगीतको समेत प्रयोग भइरहेको छ । इन्दिरा  पनि भूकम्प प्रभावित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ र गोरखाको बारपाकसम्म पुगेर ‘म्युजिक थेरापी’मा सहभागी भइन् ।

युनिभर्सल पिस फेडेरेसनकी युवा शान्ति दूत समेत रहेकी उनी सोही संस्थाको आयोजनामा स्वास्थ्यका लागि संगीत सुनाउन त्यहाँ पुगेकी हुन् । गायक आनन्द कार्की समेत रहेको समूहमा शारीरिक उपचारका लागि डा. सुवास झा नेतृत्वको स्वास्थ्यकर्मीको टोली पनि सँगै थियो ।

केही वर्षदेखि कम्तीमा दिन बिराएरै उनले स्टेज कार्यक्रम गरिरहेकी छन् । कति समय त बिहानदेखि बेलुकासम्मै प्रस्तुति पस्किनुपर्ने हुन्छ । स्टेजमा उनी स्वर मात्रै होइन, नृत्य पनि प्रस्तुत गर्छिन् । अनुभव सुनाउँछिन्, ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’ सानैदेखि संगीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् । त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्यवर्धक भएको उनको बुझाइ छ ।

 

 

 

स्रोत: (डिबी खड्का)स्वास्थ्य खबर पत्रिका  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू