अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

गोरु नांगिएको देखेर लाज लाग्दैन- रबिन वज्राचार्य

बिआरटीनेपाल २०७४ असोज १६ गते २३:१८ मा प्रकाशित

करिब डेढ वर्ष अधि तत्कालीन प्रधान मन्त्री ओलीको यो उखान टिक्का सापटि लिएर मैले एउटा लेख लेखेको थिएँ, आज फरक प्रसङ्गमा सोही शीर्षकमा अर्को लेख तपाईहरु माझ टकर्याउँदैछु।

हाम्रो एन आर एन अमेरिका बाटो हिँड्दै गरेको छाडा गोरु सरि गरिकन विश्वका सामु उत्तेजित अङ्ग प्रदर्शन गर्दै नांगै हिंडेको अवस्था छ भने अमेरिकामा छरिएर रहेका बुध्दिजीवी वर्ग भनाउँदा अग्रजहरु महाभारतका पाण्डव जस्तै बाध्य भएर द्रोपतिको चीरहरण आखाँ चिम्लेर हेर्न विवश भएको छ । उता धृतराष्ट्र रुपि अंधा आइसिसीका पदाधिकारीहरू सञ्जय बनेर बसेका आर सी र डी आर सिबाट चीरहरणको विवरण त सुन्दै छ तर कुनै कार्बाही गर्न पुत्र मोह जस्तै गरी आउँदो चुनावमा आफूले पाउने मतको सङ्ख्यामा कमी होला भनेर गान्धीजीका तीन बाँदर भएर मौनतामा अल्मलिएर बस्दैछ ।

आज म डेलिगेटस प्रकरणको विषयमा कुरा गरी राखेको छु । हुन त यस विशाल देशको एनआरएन भित्र विभिन्न काण्डहरु पक्कै नभएका होइन । यस पटकको निर्वाचन प्रक्रिया देखि नै विभिन्न अनैतिक कार्यहरूको सुरुवात नभएको होइन । पैसा तिरेर धेरै सदस्यहरू बनाइएका प्रमाणहरु बजार भरि छर प्रस्ट रूपमा भेटाउन सकिन्छ भने एउटै घर धूरी भित्र बसेर सयौँको सङ्ख्यामा मतहरु खसालेको मैले प्रत्यक्ष रूपमा सुनेको छु । घोडा चोर्ने पनि चोरै हो र मूला चोर्ने पनि चोरै भएकोले ठुलो चोरलाई नंग्याएर सानो चोरलाई राम्रो भन्ने पक्षमा नलाग्ने भन्ने सोच अनुसार यसपालिको चुनाव पश्चात् चुनावी प्रक्रियाको विरोध गरिएन ।

हुन त चुनाव हुन अगाडी नै कसलाई कति डेलिगेट दिने भन्ने कुरामा सम्झौता गरिकन गौरी जोशीले अदालतबाट मुद्दा झिकेको हो भन्ने सुन्नमा आएको छ । जसको पुष्टि गर्न गौरी जोशीलाई डेलिगेसन समिटिको सदस्य बनाइएको छ । चुनाव लगत्तै गरिएको साधारण सभाले न्यायिक समितिको हत्या गरिएको छ भने हाल बोर्डले गरेको कुनै पनि गलत कार्यको विरोध गर्ने ठाउँ नै हटाइएको छ। सायद धेरै अनियमितताहरु गर्ने नियत अनुरुपनै न्यायिक समितिको हत्या गरिएको हो भन्दा कुनै अन्याय नहोला ।

हुन त त यो कार्य समितिले विगतका ट्रुटिहरुलाई सच्याएर नयाँ मार्गमा लानेछ भन्ने आशयका साथ डाक्टरको टिमलाई सहयोग गरेको थिएँ । तर नियतमै खोट भएको यो कार्य समितिले आफ्नो नाङ्गो नाच कायम नै राख्ने छ भन्ने कुराको अनुभूति विगतमा न्यायिक समितिले कुनै पनि समितिमा बस्न नालायक भनेर बर्खास्त गरेका व्यक्तिलाई समेत डेलिगेसन कमिटीमा राखेकोले प्रस्ट गर्दछ।

हुन त आइसिसीले पनि बेलैमा डेलिगेसन बनाउने निर्देशिका समयमै नपठाएको होइन र सो निर्देशिकाको पालना गरे जस्तै गरेर डेलिगेसन कमिटीले समेत आफ्नो गाइडलाइन तयार गरेको थियो। तर हाल आएर ICC को निर्देशिका र आफ्नै गाइडलाइन मिचेर डेलिगेटस लिस्ट तयार गरेको छ । बहालवाला ICC का समितिहरुका सदस्यहरूलाई डेलिगेटस बन्नबाट रोक लगाएको छ। त्यसै गरी ICC का पूर्व महासचिव समेतको नाम शंकास्पद रूपमा डेलिगेसन लिस्टमा परेको छैन । धेरै आजिवन सदस्यहरूको नाम पनि परेको छैन भने हिजो मात्र सदस्य बनेर भोट हालेकाहरु डेलिगेटस बनाएका छन् भन्ने हल्ला सार्वजनिक सञ्जालहरुमा पढ्न पाइन्छ ।

समग्रमा भन्ने हो भने केही दलालहरुले ग्वोबल कन्फरेन्स हुँदै गर्दा अमेरिकाबाट हामीले यति र उति भोट दिन्छु भनेर आर्थिक सौदा एवं चुनावी तालमेल गरेर केन्द्रीय चुनाव जित्न यो फोहरी खेल खेलेको हो भन्दा कुनै गल्ती हुँदैन होला भन्ने मलाई लाग्दछ । तर विश्वभरबाट ICC को कार्य समिति हाँक्न आकांक्षि मित्रहरूलाई एउटै मात्र के अनुरोध गर्न चाहन्छु भने, अमेरिकाका डेलिगेटसहरु काठमाडौँमा तिहारका लागी बेच्न ल्याइएका भेंडा हैन, उनीहरू कसैको प्रवाहमा परेर रबर स्टाम्प बन्ने छैन भन्ने कुराको हेक्का राख्न हुन म अनुरोध गर्न चाहन्छु।

गोरु त सधैँ गोरु नै हुन्छ, गोरुको स्वभाव नै नाँगै हिँड्ने हो, तसर्थ गोरु नाँगिएर हिंडेको देखेर मलाई लाज लाग्दैन।

प्रतिक्रिया