अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

बिआरटीनेपाल २०७४ असोज ४ गते १८:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ । कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरूले नाकाबन्दी लगाएका छन् । उनीहरूले आफ्नो आकाशमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुभएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको बताइएको छ । भेटवार्ताका क्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिको बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समस्याको समाधान चाँडै हुने आश्वासन दिनुभएको बताइएको छ ।

कतारका राजा थानीले आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गर्नुभएको थियो । सो भेटका क्रममा अमेरिकाले जारी राखेको आतङ्कवादविरोधी अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिनुभएको र यस विषयमा दुवै देश मिलेर कामगर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

गत जुन महिनाको ५ तारिखदेखि साउदी अरेबिया नेतृत्वमा कतारका छिमेकी देशहरूले कतारलाई कूटनीतिक रूपमा एक्लाउने काम गरेका छन् । उनीहरूले कतारसँगको कूटनीतिक सम्बन्ध पनि एक पक्षीयरुपमा तोडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू