अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

भुटानी शरणार्थीको माग अन्तर्राष्ट्रियकरण गर्न आग्रह

बिआरटीनेपाल २०७४ भदौ ३१ गते ४:१७ मा प्रकाशित

भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार ज्ञापनपत्र पठाएका छन् ।

अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढङ्गले उठाइदिन आग्रह गरिएको बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ, “झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र सङ्घमा उठाइदिन जरुरी छ ।”

लामो समयदेखि भुटानी शरणार्थीको स्वदेश फिर्तीको कुरा ओझेलमा परेको स्मरण गराउँदै संस्थाले महासभाको बैठकले सो मागलाई मुख्य कार्यसूचीका रूपमा उठाइदिन प्रधानमन्त्री देउवासँग माग गरेको प्रवक्ता घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उहाँले भन्नुभयो, “भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन् । हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तर्राष्ट्रिय मुद्दा बन्ने छ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू