अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

यु–१८ फुटबल टोलीको बिदाइ

बिआरटीनेपाल २०७४ भदौ ३० गते १६:३८ मा प्रकाशित

काठमाडौँ, ३० भदौ । साफ यु–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यु–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ ।

यु–१८ फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्पलेक्समा नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो । टोली शनिवार दिउँसो भुटानतर्फ प्रस्थान गर्दैछ ।

बिदाइ कार्यक्रममा मन्त्री केसीले जोशजाँगरका साथ खेलेमा नेपालको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले मैदानमा प्रवेश गर्दा खेलाडीलाई देश सम्झेर खेल्न आग्रह गर्नुभयो ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले डिफेन्डिङ च्याम्पियन रहेकाले यसपालि पनि भुटानबाट जितेरै फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले राउण्ड रोविन लिगमा खेल्न पाउनु नेपाली टोलीका लागि ठुलो मौका भएको बताउनुभयो ।

भुटानमा आयोजना हुन लागेको दोस्रो साफ यु–१८ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजक भुटानसँग आगामी असोज ४ गते खेल्नेछ । दोस्रो खेल असोज ६ गते माल्दिभ्स, तेस्रो खेल असोज ९ गते बङ्गलादेश तथा चौथो खेल असोज ११ गते भारतसँग खेल्ने मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसँगै, भारत, मालदिभ्स, भुटान र बङ्गलादेशको सहभागिता रहनेछ । सहभागी सबै टोलीले एकार्कासँग खेल्नेछन् भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न प्रतियोगितामा नेपाल भारतलाई हराएर च्याम्पियन बनेको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, सहायक प्रशिक्षकमा पुष्कर शाही, टोली व्यवस्थापक गणेशबहादुर चन्द तथा टोलीका कप्तान अर्पण कार्की रहनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू