अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

निर्वाचनको क्रममा मानव अधिकार अवस्थाबारे आयोगको अनुगमन (प्रेश विज्ञप्ती)

बिआरटीनेपाल २०७४ भदौ ३० गते ७:१५ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले तेश्रो चरणमा हुन गैरहेको स्थानीय तहको निर्वाचनको क्रममा मानव अधिकार अवस्थाको स्थलगत अनुगमन गरिरहेको छ । शुक्रबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै  प्रदेश नं २ अन्तर्गतका ८ वटै जिल्लाहरूमा आयोगले आयोगका सदस्य र सचिव सहितको उच्चस्तरीय टोली तथा अधिकृतहरू सम्मिलित ९ वटा टोली अनुगमनका लागि  खटाएको जानकारी दिएको हो ।

आयोगद्वारा जारी बिज्ञप्तीमा भनिएको छ :- टोलीले, राजनीतिकदलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गर्नेछ । यसका साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकार सम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा समेत टोलीले अनुगमन गर्नेछ ।  

 संविधानको धारा २४९ बमोजिम मानव अधिकारको अवस्था सुनिश्चित गर्नु आयोगको कर्तव्य भएको हुँदा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार उल्लंघनका घटनाहरूलाई न्यूनीकरण गर्ने तथा मानव अधिकारको सम्मान र संरक्षणको सन्दर्भमा आयोगले अनुगमन गरिरहेको हो । दलहरुद्वारा राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग गरिएको आयोगको अनुगमनबाट पाइएको हुँदा तत्काल यस्तो कार्य बन्द गर्न आयोग राजनीतिकदलहरूलाई आग्रह गर्दछ । साथै, आयोगको अनुगमन कार्यमा अवरोध सृजना नगर्न तथा निर्वाध रुपमा सहयोग पुर्याउन आयोग निर्वाचन प्रक्रियासँग सम्बन्धित सबै राजनीतिक दल, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं आम नागरिकहरू लगायत सबै पक्षलाई विशेष आग्रह गर्दछ ।           

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू