अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

पार्टी सभापतिलाई कारबाही गर्न माग

बिआरटीनेपाल २०७४ भदौ २८ गते ५:४७ मा प्रकाशित

बेलकोटगढी नगरपालिकाका नेपाली काङ्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापति सहितलाई कारबाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारबाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ ।

यस्तै पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारबाहीका लागि माग गरेको छ ।

उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।

जिल्ला तहकाले कारबाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट काँग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताउनुभयो ।

पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारबाहीको दायरामा आउँछन् भन्ने अनुभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताउनुभयो । कारबाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू