अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

बिआरटीनेपाल २०७४ भदौ २६ गते ९:४७ मा प्रकाशित

डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रबाट जनताले माग गरेपछि निःशुल्क शिविरको आयोजना गरिएको भागेश्वर गाउँपालिकाका सि. अहेव मदन भाटले बताउनुभयो ।

शिविरमा भाइरलजन्य रोगका साथै दम, दाँत लगायतका बिरामीको समेत उपचार गरिएको छ । दुर्गम गाउँका सर्वसाधारणको स्वास्थ्य सेवा दिनका लागि उनीहरुको सहजताका लागि गाउँपालिकाले गाउँमै शिविरको आयोजना गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले जानकारी दिनुभयो । गाउँमै उपचार गर्न पाउँदा बिरामी खुशी भएका छन् ।

उक्त गाउँबाट उपचारका लागि स्वास्थ्यसंस्थासम्म पुग्न छ घण्टा लाग्ने भएकाले भाइरलका सबै बिरामीले उपचार गर्न पाएका थिएनन् ।

योभन्दा पहिला अनुमानका भरमा औषधि खाने गरेको स्थानीय जडीबुटीका भरमा बाँचिरहेका मानिसले दक्ष चिकित्सकबाट उपचार पाउँदा खुशी लागेको भागेश्वरका दानबहादुर भाटले बताउनुभयो । गाउँस्तरमा स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलोपटक भएकाले जनप्रतिनिधि भएको महसुस गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू