अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडौं – ‘प्रचण्ड’

बिआरटीनेपाल २०७४ भदौ २५ गते ११:१५ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।’

“हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन । हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थप्नुभयो, “अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’’ सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताउनु भयो ।

सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, “माओवादीको दिल निकै ठूलो छ । हामीमा संकिर्ण र अतिवादी सोच छैन । हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छौं, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।’‘माओवादी मात्रै जनताको असली मित्र हो, साथी हो । हामी मधेशमा पहिचान, अधिकार र आर्थिक विकासको नेतृत्व गर्न चाहन्छौं’, प्रचण्डले भन्नुभयो, “तपाईहरुमा जुन जागरण आएको छ, अब माओवादीले त्यसको नेतृत्व गर्नेछ र जनताको अधिकार र विकासको चाहना पुरा गर्नेछ ।’

कार्यक्रममा सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेश र मधेशी जनतालाई विकास र रोजगारी चाहिएको बताउनु भयो । साहले भन्नुभयो, “हामी हिजो राजनीतिक परिवर्तनमा लाग्यौं । देशमा गणतन्त्र आयो, संघीयता आयो । अब मधेशमा विकास र रोजगारी चाहिएको छ । मधेशी जनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्ति चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन् । यो मधेशी र पहाडियाका नाममा दुश्मनी गरेर बस्ने जमाना होइन, विकास र रोजगारीका लागि काम गर्ने जमाना हो ।’

शनिबार दिनभर अध्यक्ष प्रचण्डले बारा जिल्लाका विभिन्न जनसभालाई सम्बोधन गर्नुभयो । शनिबार कलैयाको सिसुवा, कलैयाकै बलरामपुर, बाराको गढीमाई, बाराकै सिम्रौनगढ लगायतका ठूला जनसभालाई सम्बोधन गर्नुभएको थियो भने आधा दर्जन वडा स्तरीय सभाहरुलाई सम्बोधन गर्नुभएको थियो ।विभिन्न स्थानमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिव १२०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्ने नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, मन्त्री प्रभू साह, गोपाल ठाकुर लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू