अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

आशापुरेश्वर मन्दिरमा साउन महिनामा ८ लाख भेटी संकलन

बिआरटीनेपाल २०७४ भदौ २ गते ४:४६ मा प्रकाशित

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनामा ८ लाख रुपैयाँ भेटी संकलन भएको छ ।  ५ सोमबार परेको साउन महिनामा आशापुरेश्वर दर्शन तथा पूजा आराधना गर्न आएका भक्तजनहरुबाट कूल ८ लाख भेटी संकलन भएको श्री आशापुरेश्वर महादेव संरक्षण समितिका उपाध्यक्ष अजय तामाङ्गले भक्तपुरन्युज डटकमलाई जानकारी दिए ।

उनले भने साउन महिनमा सबैभन्दा बढी रकम तेस्रो र अन्तिम सोमबार भक्तजनहरुले भेटी स्वरुप चढाएका थिए । यी दुई सोमबारमा झण्डै तीन लाख भन्दा बढी रकम संकलन भएको उनले बताए ।

साउन महिनामा भक्तजनबाट संकलन भएको कूल रकमको दुई तिहाई पूजारीहरुका लागि छुट्याईको र बचेको एक तिहाई रकम समिति मै रहने ब्यवस्था भएको मन्दिर ब्यवस्थापन समितिले जानकारी दिएको छ । अन्य समयको भेटीको सम्पूर्ण रुपमा पुजारीले नै लिने ब्यवस्था भएको समितिले जनाएको छ ।

मन्दिरको नाममा जग्गा नहुनु र सरोकारवालहरुको मन्दिरतर्फ समेत ध्यान जान नसक्दा सोचेअनुसार बिकास गर्न नसकिएको तामाङ्गले बताए । साउन महिनाको बचेको रकमबाट मन्दिर परिसरमा आवश्यकता अनुसार पहिलो प्राथामिकता रहेको भौतिक पूर्वाधारको बिकासमा लगानी गरिने उनले जानकारी दिए ।

प्रचार प्रसारको अभाव भएता पनि बाटोकोे सहजता र केदारनाथको शिर डोलेश्वर मन्दिरमा आएका भक्तजनहरुलाई जानकारी भएसँगै यस क्षेत्रमा भक्तजनहरुको चाप बढ्दै गएको स्थानियहरु बताउँछन् ।

यस वर्षको साउन महिनामा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक लगायतका ठाउँहरुबाट आएका करिब ५ लाख ५० हजार भक्तजनहरुले मन्दिरको प्रत्यक्ष दर्शन गरेको समितिले जानकारी दिएको छ ।

विशेषगरी मनले चिताएको इच्छाआकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्तीमा उल्लेख रहेको छ । आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने प्रचलन रहेकोे छ ।

साविक सिपाडोल–४, हाल सूर्यबिनायक नगरपालिका–८ मा पर्ने आशापुरेश्वर महादेव मन्दिर भक्तपुर र काभे्रको सिमानामा रहेको छ । आशापुरेश्वर मन्दिर जगाती चोकबाट १० किमी र केदारनाथको शिर डोलेश्वर मन्दिरबाट ६ किमी दूरीमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू