अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

आयोगद्वारा बाढी प्रभावित क्षेत्रहरुमा मानवीय सहायता पुर्याउन सरकारलाई सिफारिस सहितको पत्राचार

बिआरटीनेपाल २०७४ भदौ २ गते २:२९ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले बाढी प्रभावित क्षेत्रहरुमा मानवीय सहायता पुर्याउन नेपाल सरकारलाई सिफारिस सहितको पत्राचार गरेको छ । हालैको अविरल वर्षाका कारण डुबान तथा बाढी पहिरोबाट विभिन्न जिल्लाहरुमा भएको ठूलो जन–धनको क्षति तथा मानवीय संकटप्रति राआियोगले गहिरो दुःख व्यक्त गर्दै राहत उद्धार तथा स्वास्थ्य सेवाको लागि प्रभावकारी कार्य गर्न गराउन बिहिबार सिफारिसहरु सहितको पत्र नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पठाएको हो ।

आयोगद्वारा विहिबार जारी गरिएको प्रेश बिज्ञप्तिमा भनिएको छ बाढी प्रभावित क्षेत्रहरुमा केन्द्रीय विपद् व्यवस्थापन समिति र जिल्ला व्यवस्थापन समितिबाट राहत, उद्धारको लागि प्रभावकारी कार्य गर्न, गराउन तथा थप जोखिमको अवस्था आउन नदिन आयोग नेपाल सरकारलाई पुनः आग्रह गर्दछ ।
साथै, आयोगले डुबान तथा बाढी प्रभावित जिल्लाहरुमा बाढी पीडितहरुको उद्धार, राहत वितरण, बसोबास तथा औषधोपचारको व्यवस्थामा केन्द्रित रही विशेष अनुगमन गरिरहेको छ । रौतहट, बारा, पर्सा, मोरङ लगायतका जिल्लाका केही स्थानमा खाद्यान्न, त्रिपाल लगायतका राहत सामग्रीहरु नपुग्दा बाढी पीडितहरु समस्यामा परेको अनुगमनको क्रममा बुझिएको छ ।

प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट संरक्षणका लागि चिकित्सकहरुको अस्थायी टोलीहरुको व्यवस्था तत्काल गर्न, गराउन तथा बाढी पीडितहरुको मानव अधिकारको रक्षार्थ उद्धार र राहत कार्यमा तीव्रता दिन आयोग नेपाल सरकार लगायत सबै सरोकारवालाहरुलाई पुनः आग्रह गर्दछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू