कालो कोठीको याद ! – युवराज नयाँघरे

संस्मरण

पच्चीस वर्षभन्दा बढी मलाई देखे फत्तेमानले ।

तर पनि उनले मलाई चिनेन होला । मैले पनि उनलाई राम्रोसँग चिनाइन । अझ धेरै समयदेखि मैले त उनलाई देखेको थिएँ । उनको नजिकै थिएँ ।

उनी भनेका फत्तेमान ।

गायक फत्तेमान राजभण्डारी । कहलिएका गायक । प्रिय र भद्र गायक । सरल र शालीन गायक ।

चाबहिलको सेरोफेरोमा रहेकैले होला फत्तेमानलाई मैले देख्ने मौका पाएँ । ठ्याक्कै यकिन छैन– फत्तेमानलाई भेटेको दिन, घडीपला ।

तर यत्ति याद छ– २०४३ को आसपास हुनुपर्छ । कवि तथा नाटककार वासु शशीको निवासमा फत्तेमानलाई पहिलो पटक भेटेको ।

अझ युगकवि सिद्धिचरण श्रेष्ठको कवितालाई हारमोनियममा अभ्यास गरी उनले गाएपछि मैले फत्तेमानलाई त गाउँमै चिनेको रहेँछु भन्ने लाग्यो ।

रेडियो नेपालमा उनका सर्वाधिक तीन गीत प्रायः बजिरहे । यस्तो पनि हुँदो रहेछ, मर्न बरु गाह्रो हुन्न, सान्नानीको गालैमा कालो कोठी– यी गीतले मैलाई ताने… तानिरहे निरन्तर ।

फत्तेमानसँग अझ नजिक हुने मौका मलाई त्यतिखेर मिल्यो– जब वासु शशी स्मृति परिषद्मा हामी सँगै जोडिन पुग्यौँ ।

त्यतिखेर पनि उनले मलाई कहिल्यै नाम लिएर डाकेनन्, अझ न थरले नै बोलाए । कम बोल्थे, बढी सुन्थे । तर्कभन्दा भावनामा डुबेको बढी पाउँथे म उनलाई ।

शशीको निवास जय वागेश्वरीमा उनी आइरहन्थे । प्रायः बेलुकी आएर घन्टौं बस्थे । म वासु दाइसँग पशुपति जाँदा एक–दुई पटक उनको घरमै पनि पसेको छु । उनकै हातबाट मिठाई खाएको गुलियो सम्झना छ ।

फत्तेमानले गाएका गीतहरु धेरैजसो रुचिकरै लागेका छन् मलाई । शुद्ध उच्चारण र सुस्पष्ट अभिव्यक्तकै कारण पनि उनको गायन कलाले नेपाली जनमा हृदयतः स्थान पाएको ठानेको छु मैले । सतही, कमजोर र सस्ता शब्दको झिल्के गायनबाट माथि उठेर उनको कलाले आपूmलाई प्रस्तुत गरेको लाग्छ ।

स्वर हरेक गायकको मौलिक अनुहार हो । अनुहारलाई कति सिँगारपटार गर्ने त्यो साधकमा निर्भर हुने कुरा हो । फत्तेमानको अनुहारमा उनी आफैँले गाएको गीत ‘… सान्नानीको गालैमा कालो कोठी रैछ नजर नै तिर्मिर गराउने…’ को छनक सुस्पष्ट देख्न सकिन्छ । अर्थात् प्रिय रुप, प्रिय दृश्य ।

केही वर्ष अघि एउटा चर्चाको खबरले बढी ठाउँ पायो सञ्चारमा ।

कुनै गायकको निधनमा अन्तिम दर्शनका लागि फत्तेमान गएका थिए आर्यघाट । सञ्चारकर्मीले सोधे– ‘आजको रिमिक्स गायनलाई के भन्नु हुन्छ ?’

उनले जवाफ दिएका थिए– ‘तिम्री स्वास्नी मलाई मनपर्छ भने जस्तो हो यो रिमिक्स गायन !’
फत्तेमानको यो जवाफले विविध टिप्पणीहरु आएका थिए । तर परम्परा, पूर्वज र अग्रजहरु प्रतिको उनको श्रद्धा हेर्दा एउटा सुसंस्कृत गायकमा हुने सबै कुरा विद्यमान लाग्छ– फत्तेमानमा ।

फत्तेमानको शास्त्रीय गायन आफँैमा परिपक्व लाग्थ्यो । उनले जब हारमोनियमको धुनमा राग छोड्थे– तलाउको गहिराइमा वेग मारेको माछाको चञ्चलता अनुभूत हुन्थ्यो । उनका औंलाले त्यसको कम्पन थेग्न हावातिर उन्मुख भइरहेका छन् जस्तो लाग्थ्यो ।

उनको शालीनता र भद्रताबाटै गीत, सङ्गीत र गायनमा फत्तेमान डुबिरहेका छन्– यसैले मलाई उनले नचिनिरहेका हुन् भन्ने विश्वासका आधारहरु देख्थें म ।

फत्तेमान बिरामी रहेको जानकारी परिषद्को कुनै बैठकमै प्रद्युम्न जोशीबाट मैले सुनेको थिएँ । त्यतिखेर हामी सबैले मानिसभन्दा पर रहेको गीत, शब्द, ध्वनिको महत्तामाथि निकै समय चर्चा गरेका थियौं । भिन्न आवाज र पृथक् गायन कलाको ख्यालमा फत्तेमान जोडिएका थिए त्यो बेला ।

फत्तेमानको एकल गायन पाटनमा हुने भएछ । एक जना सञ्चारकर्मी साथीले मलाई अघिल्लै साँझ फोन गरेर भने– ‘एउटा टिकट हात परेको छ । जाने हो ?’

‘जाने । किन नजाने नि !’
‘त्यसो भए दिउँसोको खाजा खुवाउनु होला, म टिकट दिउँला !’
‘ए, भै हाल्छ नि !’

म ढुक्कले कार्यक्रमको टिकट लिन बबरमहलको एक क्याफेमा पुगेँ । त्यहाँ अरु पनि चिनेकाहरु भेटिए ।

मैले सबैलाई चिसो खुवाएँ । अझ टिकट दिने साथीले त खाजै खाने भने । खुवाइ दिएँ ।

पाँचै सयको टिकट हात पर्ने वाला थियो ।

त्यहाँ हाँसो भइरहेको थियो ।

खाजा, चिसो खाएपछि सबैजना साथीहरु विदा भए । अनि केही समयपछि साथीले भने– ‘टिकट चोरी भयो !’

अनि उनैले भने– ‘त्यो चोरिएको टिकट भित्रभित्रै खाजा खुवाउने शर्तमा आन्तरिक किनबेच भइरहेको छ !’

मैले पाँच सयको टिकटका लागि त्योभन्दा बढीको खाजा खर्चमा लगानी गरेँ । तर हात लाग्यो शून्य ।

मलाई मनमनै लाग्यो– ‘एउटा राम्रो गायकको प्रस्तुति हेर्ने रहरमा यो भएको हुनु पर्छ !’

फत्तेमानलाई पछि भेट्ता यो कुरा भन्न मन थियो । तर किन–किन भन्न सकिनँ ।

एक पटक हामी थियौं– सिनामंगलको थकाली भान्सा घरमा ।

प्रद्युम्न, कृष्ण जोशी, मणि लोहनी, श्याम प्रधान, गणेश रसिक, जयदेव भट्टराई, हिरणकुमारी पाठकहरुसँग थिएँ मै पनि । त्यतिखेर मेहन्दी हसन, गुलाम अलि खानले नेपाली गायनमा पु¥याएको योगदानबारे उनले बोलेका सन्तुलित विचार र भाव सबैले प्रिय, तार्किक र अर्थपूर्ण मान्यौं ।

उनले भनेका थिए– ‘ती पाहुना हुन् । पाहुनाको बेइज्जतीमा हाम्रो समाज उभिनु हुँदैन । तिनको सत्कारमा नेपाली गायन समाजले सचेत, सतर्क र सुसंस्कृत हुनु आवश्यक छ ।’

सार पनि थियो, यस्तै थियो– उनका कुराहरुको ।

विक्रमाब्द १९९३ मंसिर १३ मा आएर जीवन बिसाएको साल हो २०७० भदौ २५ । एउटा मानिसका रुपमा फत्तेमान राजभण्डारीले यही समयको सिँढीमा उभ्याए आपूmलाई ।

तर राष्ट्रले भजन, लोक, आधुनिक र शास्त्रीय गायनमा एउटा सबल साधक गुमायो ।

उनी कालो कोठी हुन् नेपाली गीतका । आमाहरुले टीका लगाएर लगिदिएका बालक जस्तै… ।

फत्तेमान आफैँले नि गाएकै छन्– ‘सान्नानीको गालैमा कालो कोठी रैछ … ।’

यति बेला त्यो कालो कोठीको याद गरिरहेको छु म । भोलिका दिनसम्म गरिरहनेछु … । हो, गरिरहनेछु… ।

०००

Published on August 16, 2017 at 6:29 am

Loading...

यसमा तपाइको मत