अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

कलाकार टिका पहारी ४१ वर्षपछि नाटकमा फर्कदै

बिआरटीनेपाल २०७४ साउन २६ गते ३:४५ मा प्रकाशित

करिब ४१ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्कने भएका छन् । कलाकार पहारी सुलक्षण भारतीको निर्देशनमा तयार भइरहेको नाटक ‘लाटीको छोरो’मार्फत स्टेज फर्कन लागेका हुन् ।

नेपालमा नाटक नगरेको ४१ वर्ष भएपछि भारतमा उनले ३६ वर्षअघिसम्म नाटक गरेका थिए । ‘समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा फर्किन सकिरहेको थिइन्,’ अभिनेता पहारीले भने, ‘अहिले यो नाटकमा काम गर्न पाउनुलाई म संयोग मान्छु । नाटकमा रिहर्सल गर्न जाँदा अहिले म आफूलाई ३१–३२ वर्षको ठिटो ठानिरहेको हुन्छु । ऐनमा हेर्दामात्र बुढो भएको महसुस हुन्छ ।’

यो नाटकमार्फत नेपाली रंगमञ्चमा पहिलोपल्ट प्रोडक्सन डिजाइनको अभ्यास गरिँदैछ । प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन् । प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकार लगायत नाटक निर्माणका सम्पुर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ । ‘डिजाइनरले निर्माता र निर्देशकविच पुलको काम गरिरहेको हुन्छ, नाटकको प्रोडक्सनलाई पुर्ण रुपमा सफल बनाउन भुमिका खेलिरहेको हुन्छ र हामीले गर्न खोजेको यही हो,’ प्रकाशले भने ।

नेपाली रंगमञ्च अहिलेसम्म व्यवसायिक हुन नसकेको प्रकाशको गुनासो थियो । उनले नाटकलाई व्यवसायिक बनाउन आफूहरुले ‘लाटीको छोरो’मार्फत प्रयास थालेको बताए ।

अभिनेता पहारीले व्यवसायिक हुन खोजिरहेको नाटकको हिस्सा हुन पाउँदा खुशी व्यक्त गरे । ‘नयाँ जोश र योजनाका साथ यो टिम अघि बढेको छ,’ पहारीले भने, ‘१५ दिनको रिहर्सलले पनि प्रमाणित गरिसक्यो कि अब शंका गर्ने ठाउँ छैन् । म भारतको रंगमञ्चमा काम गर्दा गुजराती र मराठी नाटकहरु व्यवसायिक थिए, भारतमा पछिमात्र भयो । यहाँ त भएकै छन्, यो नाटकबाट अभ्यास हुँदैछ ।’

‘टिका पहारीदेखि आज प्रकाश दाहालसम्म आइपुग्दा पनि नाटकमा पैसा छैन् मात्र भनियो, यसलाई व्यवसायिक बनाउन कहिल्यै खोजिएन्,’ प्रकाशले भने, ‘अब आउने नयाँ पुस्ता निराश हुन नपरोस् भनेर हामी कलाको महत्व नमारिकन यो नाटकमार्फत व्यवसायिकरणको प्रयास थाल्दैछौं । यो कठिन होला तर सम्भव पक्कै छ ।’

‘लाटीको छोरो’ श्याम शाहको कथा संग्रह ‘अब्बा’मा सम्मिलत छ । यो कथामा केही परिमार्जनसहित निर्देशक भारतीले नाट्य परिकल्पना गरेका छन् । डोम समुदायको वस्तीमा एउटा लाटीको वरिपरी नाटकको कथा घुम्छ । त्यो वस्तीको सुन्दर बजारमा एकदिन एउटा लाटी गर्भवती भएको कुरा फैलिएपछि ठूलो तरंग पैदा हुन्छ ‘र त्यसपछि के हुन्छ त्यसका लागि नाटक हेर्नुपर्छ,’ निर्देशक भारतीले भने ।

‘यो नाटकमार्फत अब रंगमञ्च व्यवसायिक भएको प्रमाणित भइसक्यो किनकी मलाई पारिश्रमिक दिएर अनुबन्धित गरिसकियो, ’ भारतीले भने , ‘यो नै सफलताको प्रमाण हो । यो नाटकमार्फत प्रोडक्सन डिजाइनको अभयास सुरु भएपछि मैले क्रिएटिभ पाटोमात्र हेर्नुपरेको छ त्यसैले ठूलो राहत मिलेको छ । नत्र पहिले म आफै निर्माता÷निर्देशक हुनुपथ्र्यो, सबै काम आफै गर्नुपथ्र्यो । निर्देशनमा मात्र फोकस हुन पाउँदा काम राम्रोसँग गर्न पाइएको छ ।’

नाटकमा केनिपा सिंहले मानसिक सन्तुलन गुमाएकी बोलन नसक्ने महिला अर्थात् लाटीको भुमिका निर्वाह गर्दैछिन् भने टिकाले गाउँका नेता विषनाथको भुमिका निर्वाह गदैछन् । बोक्सी कहलाइएकी गाउँकी स्थानिय महिला पवित्राको भुमिकामा रंगकर्मी पशुपती राईले देखिदैछिन् । ‘यो नाटकको नाममै केही चिज छ,’ पत्रकारमाझ पशुपतिले भनिन्, ‘लाटी भनेको बोल्न नसक्नेमात्रै होइनन् । यहाँ बोल्न नसक्ने लाटालाटी पनि छन् । को हुन् त ति लाटालाटी ? नाटक ढंगमा फरक ढंगले प्रस्तुत गर्न खोजिएको छ । ’

मण्डला नाटकघरमा भदौ–२० गतेदेखि असोज–८ गतेसम्म नाटक मञ्चन हुने कार्यक्रममा जानकारी दिइयो । नाटकका लागि अहिले हरेक कलाकारलाई ‘मेथड एक्टिङ’ गराइरहेको निर्देशक भारतीले बताए । ‘लाटीको छोरो’ कथालाई नाट्य रुपान्तरण निर्देशक स्वयम्ले गरेका छन् । नाटकमा सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गर्नेछन् । सुलक्षणकै प्रकाश र मञ्च परिकल्पना रहने नाटकमा अर्चना पन्थीले सहायक निर्देशकको भुमिका निर्वाह गरिरहेकी छिन् ।

नाटकको दिनमा तीनटा शो गर्ने तयारी रहेको प्रोडक्सन डिजाइनर दाहालले भने । ‘हामीले दुईटा बुकिङ शो र एउटा रेगुलर शो गर्ने तयारीमा छौं,’ उनले भने, ‘हामीले नाटकमा काम गर्ने सबैको पारिश्रमिक तोकेका छौं । टिकट बेचेरै नाटकबाट आम्दानी पनि गर्नेछौं र नाटकको बजार छ भनेर प्रमाणित पनि ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू