अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

गौरी जोशीले जारी गरेको विज्ञप्ति

बिआरटीनेपाल २०७४ साउन २५ गते १६:४० मा प्रकाशित

आदरणीय अमेरिकावासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी एवं साथीहरू,
यही अगष्ट ११ र १२ मा हुने भनिएको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनले फेरि अर्को एउटा मोड लिएको छ । यहाँहरु सबैलाई विदितै छ कि मैले पनि यो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएको छु । मेरो उम्मेदवारीको बैधानिकतालाई लिएर अनेक प्रश्नहरू उठाइए र अनावश्यक विवाद सृजना गरियो । एनआरएन अमेरिकाको टेनेसी राज्यमा दर्ता भएको विधान र एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको विधान अन्तर्गत रहेरै रीतपूर्वक तोकिएकै समयमा मैले अध्यक्ष पदकालागि उम्मेदवारी दिएको हुँ । बिधानसम्मत र रीतपूर्वक उम्मेदवारी दिंदादिदै पनि निर्वाचन समितिले अध्यक्षका उम्मेदवारहरुको नामावली सूचीमा मेरो नाम राख्न अस्वीकार गरेपछि उम्मेदवार बन्न पाउने बिधानसम्मत हकको सुरक्षा गर्न र एनआरएन अमेरिकाको निर्वाचनलाई सहजतापूर्वक अगाडी बढाउने वातावरण बनाउन मैले पटकपटक सम्बद्ध पक्षसँग आग्रह गरेकै हुँ । तर कतैवाट पनि न्याय नपाएपछि अन्तरआत्मा र मलाई माया गर्ने हजारौँ साथीहरूको आग्रहलाई ध्यानमा राख्दै न्यायको खोजीमा म अदालत पुग्न बाध्य भएँ । अदालतले तत्काल निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभएसम्मकालागि निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।

म एनआरएन अमेरिकामा सन् २००६ देखि नै आबद्ध रहेको आइसीसीको प्रमाण,एनसीसीको विधान अनुसारको प्रमाण र न्यायिक समितिको निर्णयलाई समेत निर्वाचन आयोगले बदनियतपूर्वक बेवास्ता ग-यो । विधि– विधान र नीतिलाई मान्ने काम निर्वाचन आयोगबाट भएन ,बरु उल्टै अमुक व्यक्ति र पात्रहरुबाट प्रभावित हुने काम भयो । सदस्यता छानबिन समितिका नाममा कतिपय सदस्यहरूलाई आ आफ्नो अधिकारबाट बन्चित गरियो । आजीवन सदस्यहरूलाई समेत उम्मेदवारीमा नाम समावेश गरिएन । प्रारम्भिक दुई सूचीमा नाम रहेका एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एवं मेरो नेतृत्वका महासचिवका उम्मेदवार पूर्णचन्द्र बानियाँलाई अन्तिम सूचीमा उम्मेदवारी कायम गरिएन । दुई पटक सूचीमा नरहेका कतिपयको नाम अन्तिम सूचीमा एकाएक सार्वजनिक गरियो । स्वतन्त्र मानिएको भनिएको निर्वाचन आयोग म र मेरा समूहका उम्मेदवार र सदस्यहरुप्रति पूर्वाग्रही देखियो । नैसर्गिक हक र आफ्नो नेतृत्व छान्न र चुनिन पाउने वैधानिक अधिकारबाट मसहित कैयौँ साथीहरूलाई बन्चित गरियो ।अन्तत: म यही अन्यायको विरुद्ध सबै सदस्यहरूको अधिकार स्थापित गर्न न्यायका लागि अदालत जान बाध्य भएँ ।

अदालतले आज न्यायिक समितिको निर्णयलाई समेत सम्बोधन हुने गरी निर्णय दिएको छ र म लगायत उम्मेदवार सूचीमा नाम समावेश नगरिएका सबैलाई समावेश गरी निर्वाचन कार्यक्रम तय गर्न आदेश दिएको छ । अदालतले अर्को निर्णय नभएसम्मका लागि आजकै निर्णयलाई अन्तिम निर्णय भन्दै गरेको यो फैसलाको म उच्च सम्मान गर्दछु । एनआरएन अमेरिकाको निर्वाचनलाई बिथोल्ने मेरो कुनै मनशाय छैन र हुनेपनि छैन । सत्य र न्याय स्थापित गर्न कहिलेकाँही तत्काल अप्रिय जस्ता लाग्ने निर्णयहरू पनि गर्नु पर्दोरहेछ । मेरो कारणले कतैबाट पनि एनआरएन अमेरिकालाई कमजोर हुन नदिने विश्वास यहाँहरु सबैलाई दिलाउन चाहन्छु । अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । म कुनै पनि बहानामा निर्वाचनलाई अन्यौलमा पार्ने प्रयास नगरियोस् भन्ने माग गर्दछु । मेरो आग्रह छ,अदालतको आदेशको सम्मान गर्दै सोही अनुसार यथाशीघ्र निर्वाचन कार्यक्रम घोषणा गरिनुपर्छ । अब निर्वाचन लम्ब्याउने काम नगरौं । यसका लागि मैले गर्नुपर्ने जुनसुकै सहयोग र त्यागका लागि पनि म तयार छु । म एनआरएन अमेरिकाको बृहत्तर हित,एकता र सुदृढीकरणका लागि सबै पक्षसँग संवाद र सहकार्यका लागि सधैँ तयार रहेको प्रस्ट पार्दछु ।

व्यवसायमा आजसम्म प्राप्त गरेको सफलताको अनुभवलाई समाजसेवामा लागु गर्न र एनआरएन अमेरिकालाई एउटा सफल र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी प्रथमत: यहीँ रहेका प्रवासी नेपालीहरूको हक,हित र अधिकार स्थापनाका लागि हो । यहाँको नेपाली समुदाय बलियो बनाउनका लागि हो । निश्चित समय र योजनासहित ठोस काम गर्नका लागि हो । मेरो उम्मेदवारी न्यायका लागि हो । म अमेरिकामा रहनु भएका हर–नेपालीसँग जोडिन, यिनै नेपालीलाई सक्षम बनाउन र सक्षम बनेका नेपालीलाई मातृभूमिप्रतिको कर्तव्य र दायित्व सम्झाउन उम्मेदवार बनेको हुँ । यो अभियानमा म निरन्तर लागिनै रहनेछु । हालका लागि स्थगित भएको निर्वाचन प्रक्रिया फेरि छिट्टै सुरु हुने र त्यति बेला पनि तपाँइहरुको साथ–सहयोग पाइरहने अपेक्षा गर्दछु । मेरो नेतृत्वमा अमेरिकी आप्रवासमा रहेका नेपालीहरूको सशक्त एनआरएन अभियानको सङ्गठित स्वरूप निर्माणका लागि म सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

धन्यवाद

गौरीराज जोशी
एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवार

प्रतिक्रिया