भ्रष्टाचारका भिन्न आयाम- अनिल पाण्डे

मुलुकमा आज जुन सघन स्तरको भ्रष्टाचार भइरहेको छ, पहिला यस्तो कहिल्यै थिएन । विकास–निर्माणको बजेटबाट केही काम गर्ने र केही कमिसनका नाममा हजम पार्ने प्रचलनसम्म त नेपालीले पचाएकै थिए, तर अब त हरेक चरणमा अनियमितता र भ्रष्टाचारविना कामै नहुने अवस्थाको सिर्जना भएको छ । पाइलैपिच्छे भ्रष्टाचार ! अतिरिक्त आम्दानी नभएसम्म यताको फाइल उता नतान्ने कर्मचारी ! यिनै कर्मचारीलाई सेवानिवृत्त भएपछि जनताले तिरेको करबाट वर्षाैंसम्म पेन्सन दिएर पाल्नुपर्ने विडम्वनायुक्त संरचना ! नेपाल निराशाको शिखरतिर लम्किरहेको छ ।
भ्रष्टाचारका विभिन्न आयाम मौलाएका छन् ।

घूस र कमिसनका रूपमा लिइने आर्थिक लाभलाई त सबैले भ्रष्टाचार भनेर चिनेकै छन्, तर यसको स्वरूप पैसामा मात्र केन्द्रित छैन । मानसिक भ्रष्टाचार अझ बढी खतरनाक देखिन्छ । राष्ट्रपतिका लागि गाडी खरिद प्रकरण आर्थिकभन्दा बढी चिन्तनगत भ्रष्टाचारको दृष्टान्त हो । विप्रेषणमा बाँचिरहेको निर्धनतम मुलुकका राष्ट्रपति जो आफूलाई निम्न वर्गीय परिवारकी जनताकी छोरीका रूपमा परिचित गराउँछिन्, उनी १६ करोड रुपियाँ खर्च गरेर किन्न लागिएको गाडीका विरोधमा किन केही बोल्दिनन् ? नेपालमा वैदेशिक मुद्रा आर्जन गर्ने कुनै बलियो उद्योग कल–कार्खाना छैन भन्ने के उनलाई जानकारी छैन । राष्ट्रपति कार्यालयले २०७३ साल असार ९ गते सवारी खरिदका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको सवारी–सेट राष्ट्रपति र अन्य देशका राष्ट्राध्यक्ष नेपाल आउँदा सुरक्षाको हिसाबले प्रयोग गर्नेगरी खरिद गर्नलागिएको बताइएको छ । राष्ट्रपतिको औपचारिक भ्रमणमा एउटा मुख्य गाडी र रिजर्भमा अगुवा–पछुवा गरी तीन गाडीका लागि १६ करोड स्वाभाविकै हो भनेर तर्कदिनेहरु पनि भ्रष्टाचारी मनस्थितिकै व्यक्ति हुन् । राष्ट्रपतिको भ्रमणको कारकेडमा आउट राइडरदेखि अगुवा–पछुवा आवश्यक पर्नेभएका कारण यो सेट चाहिएको र गएको १८औं सार्क शिखर सम्मेलनमा यस्तै खाले गाडी चाहिएपछि भारतबाट ल्याइएको भन्ने तर्क बलिया छन् । तर, यस प्रकारको खरिदमा कमिसनका नाममा हुने भ्रष्टाचारको परिमाण भयानक हुन्छ । कुल मूल्यको आधाभन्दा अधिक भ्रष्टार हुने पक्ष त जहाँको त्यहीँ छँदैछ ।

यहाँ मानसिक र भौतिक दुवै प्रकारको भ्रष्टाचारलाई पहिचान गर्नु आवश्यक छ । विदेशमा एकदेखि दुई करोड रुपैयाँमा भनेजस्ता बुलेट प्रुफ गाडी पाइने सम्बन्धित विषयका विज्ञ बताउँछन् । केही समयअघि मात्र गाडी खरिदकै प्रकरणले निर्वाचन आयोगका सचिवले स्थानीय निर्वाचनको दोस्रो चरणको मुखमा सरुवा हुनुपरेको सत्यलाई कसैले बिर्सिएको छैन । एकातिर अत्याधुनिक सवारी साधनमा बसेर बाहिरको तातो गरिबी बिर्सने र ठुलो परिमाणमा कमिसन कुम्ल्याउने प्रवृत्तिलाई भ्रष्टाचारको नाङ्गो उदाहरण मान्नुपर्छ । विकासको स्थिति रोकिने र सर्वत्र यस प्रकारको भ्रष्टाचार मौलाउने अवस्थाले देशलाई नै ‘कोल्याप्स’ बनाउँछ । भ्रष्टाचारका कारण नागरिकमा राजनीतिक नेता र कर्मचारीहरुप्रति पूर्णतः निराशाको विकास भएपछि यस मुलुकमा बाह्य हस्तक्षेप भएमा नागरिक स्तरबाट विरोधको स्वर निस्कनेछैन ।

‘हाम्राले मुलुक चलाउन सकेनन् विदेशी आए, ठिकै हो’ भन्ने चिन्तनको विकासमा भ्रष्टाचारको प्रमुख हात रहेको छ । भ्रष्टाचारलाई यति गम्भीर रूपमा हेर्न नसक्नु दुर्भाग्यपूर्ण छ ।

भनिन्छ, माथिल्लो तहबाट सफा गर्दैजाने हो भने भ्रष्टाचार नियन्त्रण र न्यूनीकरण मात्र होइन, अन्ततः निर्मूलीकरण हुन्छ । नेपालमा प्रधानमन्त्री, मन्त्री, सचिव र अन्य प्रशासकहरुले भ्रष्टाचार नगर्ने होभने उनीहरूका सहायकबाट भ्रष्टाचार गर्ने हिम्मत हुनेछैन । तर, यो धेरै टाढाको विषय भएको छ । भ्रष्टाचारजन्य गतिविधिको बहिष्करण र विरोध गर्ने समाज र संस्कारको विकास गर्ने अभियान नै सुरु भएको छैन । भ्रष्टाचाररुपी सल्लाको रुखमुनि विकास, प्रगति, सम्वृद्धि र सुशासनरुपी कुनै पनि वनस्पतिको सिर्जना हुनसक्तैन । सत्तामा टिकिरहन अयोग्य आफन्तलाई जागिर दिने, ठेक्कापट्टामा कमिसन खाने, आफ्नो वरपरकालाई आर्थिक लाभ बाँड्ने, अपराधीलाई संरक्षण दिने र चुनावमा भोट किन्नेजस्ता व्यवहारले राष्ट्रलाई नोक्सान पुर्याउछ ।

यस प्रकारको नोक्सान पुर्‍याउने खेती सबैभन्दा बढी राजनीतिज्ञकै सप्रिएको देखिन्छ । प्रशासनिक क्षेत्रमा राजनीतिक क्षेत्रको भन्दा तुलनात्मक रूपमा अलि कम भ्रष्टाचार हुनेगरेको छ । वस्तु तथा सेवा–सुविधाको विनिमय गर्दा लिइने घूस, छिटो काम गरिदिएको बहानामा लिइने उपहार, हाजिर गरेर टापठोक्ने कर्मचारीको अभ्यास, सरकारी वस्तुलाई निजी लाभका लागि प्रयोग गर्ने बानीआदि सबै भ्रष्टाचारका आयामहरु हुन्, यसको पहिचान र निदान आजको भ्रष्टाचार को भिन्न आयााम हुुुन् ।

Published on August 9, 2017 at 6:25 am

Loading...

यसमा तपाइको मत